पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
![पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए](https://annapurnapost.prixacdn.net/media/albums/gandak_20200720143329_1X7DnIVaQI.jpg)
परासी : नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। नारायणी नदीको सतह खतरामाथि पुगेपछि व्यारेजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मीकि नगरका सम्पर्क अधिकारी तारासिंह थापाले बताए।
गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक हो। पुरानो भएकाले अहिले त्यसको क्षमता ४ लाखको हाराहारीमा रहेको छ। ३ लाख नाघेपछि खतरा मानिन्छ। सोमबार साँझसम्म गण्डकमा २ लाख ७० हजार क्यूसेक पानी रहेको सम्पर्क अधिकारी सिंहले बताए। 'रातीसम्म ३ लाख नाघ्ने सम्भावना छ, त्यसैले संभावित क्षति हुनबाट जोगाउन सबै ढोका खोलेका हौ', सिंहले भने।
यसैबीच नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। कमाण्ड क्षेत्रमा सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका ३० बढी गाउँ पर्दछन्। सो क्षेत्रहरूमा विपद् आइलागेमा तत्काल उद्धारमा खटाउनका लागि सुरक्षाकर्मीलाई आइ अलर्टमा राखिएको प्रजिअ पाठकले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)