कार्यस्थलमा संक्रमणको जोखिम

कार्यस्थलमा संक्रमणको जोखिम

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका कामदारमध्ये कार्यस्थलमा खटिएका ८५ प्रतिशत कामदार कोभिड १९ को जोखिममा छन्। भारत, मलेसियासहित ८ वटा मुलुकमा गरिएको अध्ययनअनुसार कार्यस्थलमा रहेका कामदार कोभिड १९ को संक्रमणको उच्च जोखिममा रहेको देखिएको हो।

माइग्रेन ल्याबको सहकार्यमा डायस्पोरा नेपालीको अन्तर्राष्ट्रिय थिंकट्यांक नेपाल नीति प्रतिष्ठान (एनपीआई) ले गरेको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो। ती मुलुकमा कार्यरत कामदारमध्ये ६ सय २५ कामदारलाई सहभागी गराई गरिएको सर्वेक्षणअनुसार कार्यस्थलमा ८५ प्रतिशत कोभिड १९ को जोखिममा परेको पाइएको छ। एनपीआईले गरेको यो अध्ययनको प्रतिवेदन राष्ट्रिय योजना आयोगमा बुझाइएको छ।

कार्यस्थलबाहेक व्यक्तिगत सरसफाईमा कमी र असुरक्षाका कारण थप १५ प्रतिशत कामदार असुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ। एनपीआईका अध्यक्ष खगेन्द्र ढकालका अनुसार एउटै कोठामा कोचिएर धेरै जना बस्नुपर्दा, शिविर, कार्यस्थल, सुपरमार्केट, सार्वजनिक यातायात तथा कार्यस्थलको चमेना गृहका कारण कोभिडकोे जोखिम उच्च मात्रामा छ। रोजगारी गुमाएका कामदार सहज स्वदेश फर्किन पाएका छैनन्। रोजगारको क्रममा रहेका श्रमिकको उद्घार, स्वदेश फिर्ता र पुनस्र्थापनाजस्ता समस्या अझै जटिल रहेको एनपीआईको अध्ययनले देखाएको छ। स्वदेश फर्किदाको जटिल प्रक्रिया, महँगो हवाईभाडा खर्च, दुई हप्ता गुणस्तरहीन क्वारेन्टाइनको बसाई, बन्दाबन्दीका कारण अतिरिक्त खर्चलगायत समस्याले कामदार स्वदेश फिर्ता हुन नरुचाएको उक्त अध्ययनले देखाएको छ।

अध्ययनअनुसार खाडी, मलेसिया र भारतमा नेपाली कामदार असुरक्षित प्रकृतिको कामका साथै न्यून स्तरको जीवनयापन जीउन वाध्य छन्। कोभिडको समस्यामा रहेका र त्यसपछिको सिर्जित वातावरणसँग जुध्न सरकारले आवश्यक सहजीकरण भूमिका नखेलेको प्रतिवेदनले औल्याएको छ। स्वदेश फर्केपछि रोजगारीको प्रत्याभूति र नेपालमा संक्रमणको बढ्दो अवस्थाका कारण धेरै श्रमिक स्वदेश फर्कने वा नफर्कने भन्ने दोधारमा फसेको प्रतिवेदनमा उल्लेख छ। विप्रेषणमा आएको गिरावटको प्रत्यक्ष असर वैदेशिक रोजगारमा रहेका कामदारको दैनिक आधारभूत गतिविधिमा परेको छ। विप्रेषणको अभावमा उनीहरूको खाना, घर भाडा, बालबालिकाको शिक्षा र ऋण चुक्ता, घरेलु मतभेद र हिंसाजस्ता समस्या थपिएको छ।

कृषि तथा सेवा क्षेत्रमा रोजगारीमा जोड्न समस्या देखिएको अध्ययनले देखाएको छ। ८० प्रतिशत कामदार विदेशमा श्रम गर्दा कमाएको धेरै पैसा घर परिवारका महिनैपिच्छेको आवश्यकता पूर्ति गर्नमै खर्चिएकाले स्वरोजगारमा संलग्न हुन थप जटिल समस्या सिर्जना भएको बताइएको छ। वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई लक्षित योजना र कार्यक्रमको कार्यान्वयन पक्षलाई जोड दिन आवश्यक भएको अध्ययनले देखाएको छ। यसका साथै सरकारी सूचनामा उनीहरूको सहज पहुँच पुर्‍याउन आवश्यक रहेको प्रतिवेदनको निश्कर्ष छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्वदेश फर्किएका व्यक्तिलाई लक्ष्य गरेर योजना र कार्यक्रमको कार्यान्वयन गर्ने, विदेशबाट फर्किएका व्यक्तिको तथ्यांक तयार पार्ने र उनीहरूको सामाजिक तथा आर्थिक पुनः एकीकरण गर्ने लगायत कामको जिम्मेबारी स्थानीय तहलाई तोकेको छ।

एक सातामा १६ जनाको निधन
कोभिड १९ को संक्रमणबाट विदेशमा एक सातामा १६ जना नेपालीको निधन भएको छ। बेलायत, अमेरिकामा कोरोनाको जोखिम कम हुँदै गए पनि मध्यपूर्वी देशमा कार्यरत नेपाली कोभिड १९ को उच्च जोखिममा परेका छन्।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, यूएईमा ५ जना र कुवेतमा ३ जनाको निधन भएको छ। मध्यपूर्वका केही देशमा रहेका नेपालीमा कोभिड १९ संक्रमण नरोकिँदा थप त्रास फैलिएको छ। कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरण शर्माका अनुसार यो साता भारत, साउदी, यूएई र कुवेतमा ९ सय ५० जना थप नेपालीमा कोभिड १९ को संक्रमणको पुष्टि भएको छ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशी भूमिमा १ सय ६० जना नेपालीको कोभिड १९ को संक्रमणका कारण निधन भएको छ। कतारमा निधन भएका ८ जनामध्ये २ जनाको निधन हुनुअघि कोभिड १९ को पुष्टि भए पनि ६ जनाको निधनपछि कोभिड १९ पोजेटिभ देखिएको थियो।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता मध्यपूर्वका देशमा संक्रमण बढ्दै गएको बताए।
संघका अनुसार २० देशमा रहेका नेपाली पूर्णरूपमा कोभिड १९ बाट मुक्त भएका छन्। कोभिड १९ बाट संक्रमितमध्ये ९३ प्रतिशत नेपाली यो रोगबाट मुक्त भएको संघको दाबी छ। अफ्रिकी मुलुकमा नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भइसकेका छन्।
विदेशमा कोरोना सक्रमित भएका ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

३० हजार फर्किए
कोभिड १९ का कारण अलपत्र परेका करिब ३० हजार नेपाली स्वदेश फर्किएका छन्। गैरआवासीय नेपाली संघ र कूटनीतिक निकायको पहलमा सरकारले २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीलाई स्वदेश फर्काएको हो।

१७२ शव ल्याइयो
कोभिड १९ बाट निधन भएका एक सय ७२ जनाको शव चार्टर्ड उडानबाट ल्याइएको छ। पछिल्लो समय निधन भएका ३ सय ३४ मध्ये १ सय ७२ शव ल्याइए पनि अझै १ सय ७ शव नेपाल ल्याउन बाँकी छ। मलेसिया, साउदी, कतार, यूएई, कुवेत, बहराइन, ओमन, दक्षिण कोरियालगायत देशबाट शव ल्याएर परिवारलाई बुझाइएको वैदेशिक रोजगार प्रवद्र्घन बोर्डले जनाएको छ। बोर्डका अनुसार परिवारको सहमतिमा १ सय ५६ जनाको गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.