बाढीले संरचना बगाएपछि पानीको हाहाकार
जोमसोम : सोमबार रातीको अविरल वर्षाले मुस्ताङको थासाङ गाउँपालिका -४ घाँसा गाउँलगायतका स्थानमा ठूलो धनजनको क्षति भएको जनाइएको छ। म्याग्दी र मुस्ताङको सीमावर्ती गाउँ थसाङ -४ माथिल्लो घाँसा माथिको गाड खोलाको बहाव उच्च हुँदा त्यहाँ ठूलो धनजनको क्षति भएको घाँसा प्रहरी चौकीले बताएको छ ।
सोमबार राती आएको गाडखोला बाढीले घाँसा गाउँमा ल्याइएको खानेपानीको पुरै संरचना बगाएको घाँसा प्रहरी चौकीका इञ्चार्ज निमप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बाढीले गाड खोलाबाट ल्याइएको खानेपानीको मुहान ,पानी ट्याङकी र पाइप लाइन समेतमा क्षति पुर्याएको हो । खानेपानीको संरचनामा बाढीले क्षति पुर्याएपछि अहिले घाँसा गाउँमा खानेपानीको चरम समस्या भएको इञ्चार्ज तिमिल्सिनाले बताए ।
बाढीले घाँसा गाउँमा सार्वजनिक तथा स्थानीयको खेतीयोग्य जमिनमा समेत क्षति पर्याएको छ। गाड खोलाको बाढीले खेतीयोग्य जमिनमा लेदो ,गेग्रान ,बलौटे माटो समेत बगाएर थुपारिदिएपछि स्थानीयले खेतमा लगाएको मकै र आलुबारी सखाप भएको वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए ।
उनका अनुसार अविरल वर्षा र बाढीले घाँसा बजारको बेनी—जोमसोम मुख्य राजमार्गको सडक बाटो र नाली ड्रेनलगायतमा क्षति पुर्याएको छ । यस्तै घाँसा बजारको पुरानो ट्रेकिङ रुढ र तल्लो घाँसा हुँदै पैरोथाप्ला जाने ट्रेकिङ रुढ पनि प्रभावित भएको छ।बाढीले घाँसामा स्थानीयको गाईगोठ समेत क्षति पुगेको छ भने त्यहाँ स्थानीयको ३ वटा चौपाया मरेको भनिए पनि यो संख्या बढ्ने देखिएको वडाध्यक्ष विशाल शेरचनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय मुस्ताङले थासाङमा बाढीले पुर्याएको विस्तृत क्षति विवरणबारे सार्वजनिक गर्ने जनाएको छ । बाढीग्रस्त क्षेत्रमा जिल्लाबाट सरोकारवाला प्रतिनिधि तथा सुरक्षाकर्मी जाँदै गरेको जनाइएको छ ।
यस्तै अविरल वर्षाले म्याग्दी खण्ड र मुस्ताङको थासाङ खण्डमा बाढी÷पैहिरोले सडक मार्ग,सडक मार्गमा विद्युत पोल र रुखहरु ढलेपछि सोमबारदेखि विद्युत तथा संञ्चार सम्पर्क असहज बनेको नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।
थासाङा २ वटा पक्की पुल बगायो
सोमबार राती आएको बाढीले मुस्ताङको थासाङ गाउँपालिका ४ घासामा २ वटा पक्की मोटरेबल पुल बगाएको वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । बेनी÷जोमसोम जोड्ने ७६ किमी सडकको मुस्ताङको थासाङ खण्डमा आएको बाढीले करिडोर सडकको एक निर्माणधिन पुल र अर्को संञ्चालनमा रहेको पुल बगाएको उनले बताए ।
बाढी ÷पहिरोले सोमबार अन्नपूर्ण गाउँपालिका ३ म्याग्दीको रुप्से खोलाको पक्की पुल समेत बगाएको थियो । बेनी-जोमसोम सडकमा लगातार ३ वटा पक्की पुल बाढीले बगाएपछि बेनी-जोमसोम सडक झनै कष्ठकर बनेको छ ।