तेस्रो पटक रथारोहण स्थगित भएपछि पुजारी आक्रोशित- ‘जात्रा चलाउन के को अनुमति ? ’
ललितपुर : पटक–पटक रथारोहणको साइत निकाले पनि सरकारले अनुमती नदिँदा मच्छिन्द्रनाथका पानेजु (पुजारी) आक्रोशित भएका छन्।
बुधबार गुठी संस्थान ललितपुरले साउन १० गते रथारोहण गर्ने सूचना तेस्रो पटक निकालेको थियो। तीनैपटक सूचना निकाल्दै स्थगित गरिएको छ। पुजारी तथा जात्रामा संलग्नको छलफलपछि १० गते रथारोहण गर्ने निर्णय भएको गुठी संस्थान ललितपुरले जनाएको छ।
सम्बन्धित निकायसँगको छलफलपछि असार २४ गते गरिने भनिएको मच्छिन्द्रनाथको रथारोणह स्थगित गरिएको थियो। जात्रामा सहभागी गुठीयार, महानगरपालिका लगायतका सम्बन्धित निकायको छलफलपछि रथारोहणको साइत २४ गते निकालिएको थियो। तर कोरोनाको प्रकोप बढीरहेको र रथारोहण कार्यक्रममा मानिसको बाक्लो उपस्थिती हुने भएकाले रथारोहण अर्को साइतमा मात्र गरिने गुठी संस्थानले विज्ञप्तीमार्फत् जानकारी गराएको छ।
जात्रा चैत्र २७ गतेबाट सुरु भएको हो। कम्तिमा जेठको १५ सम्ममा जात्रा समापन भइसक्नुपर्ने भएपनि सरकारले कुनै निर्णय लिन नसकेको भन्दै रथ बनाउन थालिएको थियो। तर जिल्ला प्रशासन कार्यालय ललितपुरले रथ निर्माणका लागि अनुमती नदिएको गुठियारले बताएका थिए।
गुठी संस्थान र गुठीयारले सम्पूर्ण जात्रा संचालनको पाटो हेरे पनि सुरक्षाको पाटो प्रशासनले हेर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको भनाइ छ।
कोरोनाको संक्रमण बढीरहेकाले प्रशासनले त्यति बेला अर्को साइतमा मात्र रथारोहण गर्ने सल्लाह दिएको थियो। त्यतिबेला सम्पूर्ण मठमन्दिर पनि बन्द भएकाले रथारोहण गर्दा राम्रो सन्देश नजाने देखिएको उनको भनाइ थियो।
सरकारले समयमा निर्णय गर्न नसक्दा आफूहरु अन्योलमा रहेको पुजारीको भनाइ छ। गुठी संस्थानको प्रांगणमा बसेका एकपुजारीको स्वास्थ्य बिग्रिएपछि करिब दुई साता अर्का पुजारी साटिएका थिए।
उनीहरु वैशाखको १२ गते देखि खुला पाटीमा बस्दै आएका हुन्। भगवानको सेवामा लाग्दा कुनै गुनासो नभए पनि अन्योलको अवस्थाले आफूहरु खु्शी नभएको पुजारीको भनाइ छ। जात्रा चलाउन कसैको अनुमती नचाहिने उनीहरुको बुझाइ छ।
एक जना पुजारी हेम बज्राचार्य भन्छन,‘सरकारले जनतालाई भ्रममा राखेका छ। सरकारले जात्रा रोक पनि भन्न सकेन, निरन्तर गर पनि भन्दैन, दोधारे कुरा भयो’, उनले गुनासो गर्दै भने ‘सरकारले जात्रा नगर भनोस्।’
पुजारी जत्राभरी कडा नियममा बाँधिनुपर्ने हुन्छ। नित्यकर्म, खानपिन, हेरचाहका लागि उनीहरुका परिवारले सघाउनुपर्ने भएकाले पुरै परिवार गुठी संस्थानको साँघुरो ठाउँमा कोचिएर बसिरहेका छन्।
पुजारी बसेको ठाउँमा कतिन्जेल बस्नुपर्ने भन्ने अन्योल रहेको अर्का पुजारी सुरोजन बज्राचार्यले जनाए। पाटीमा दिन कटाउन पटयार लाग्दो भएको र जात्रालाई टुंगोमा पुरयाउनुपर्ने माग उनीहरुको छ।
नेपालका सबै भन्दा लामो र ठुलो जात्राको रुपमा चिनिएको मच्छिन्द्रनाथको जात्रालाई हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीले महत्वका साथ हेर्ने गरेका छन्।