स्थानीयको दैनिकी : दाउराका लागि वर्षे भेलमा ज्यानको बाजी

स्थानीयको दैनिकी : दाउराका लागि वर्षे भेलमा ज्यानको बाजी

परासी : नारायणी नदीमा आएका दाउरा छोप्न कोही डुंगा लिएर नदीको बीचमा जाँदै थिए त कोही भेलको प्रवाह नगरी छेउमा पुगेर काठ समात्न एक अर्कालाई ठेल्दै थिए। हप्ता दिनको अवधिमा दुई जना दाउरा छोप्न जाँदा बगाएर बेपत्ता भएको घटना ताजै रहेपनि स्थानीयले भने त्यसलाई बिर्से जस्तै गरी दाउरा छोप्न तल्लिन थिए। 

पश्चिम नवलपरासीको गण्डक बाँधका विभिन्न स्थानमा निर्माण गरिएका ठोकरहरुमा पुगेर स्थानीयहरु ज्यानकै बाजी लगाएर बिहानदेखि राती अबेरसम्म नदीमा बगेर आएका काठ र दाउरा छोप्न व्यस्त रहन्छन्। ठूलो रसीमा फलामका अंकुश बनाएर बगेका काठ दाउरा संकलन गर्नु स्थानीयको अहिले दैनिकी जस्तै बनेको छ। त्यसरी दाउरा छोप्ने क्रममा हरेक वर्षजस्तो कोही न कोही नदीमा डुबेर बेपत्ता हुने गरेका छन्। बेपत्ता भएकाहरु फेला परेको बिरलै छ। पछिल्लो पटक शुक्रबार बिहान नदीको भेलमा पुगेर दाउरा छोप्ने क्रममा सुस्ता गाउँपालिका–५ का ५० वर्षीय राधेश्याम चौधरी बेपत्ता भए। त्यसैगरी पाँच दिन अघि वडा नं. ४ का ३२ वर्षीय सन्तु चौधरी पनि दाउरा छोप्ने क्रममा बेपत्ता भए। उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ। 

नदीमा बगेर आउने दाउरा छोप्न स्थानीयहरु दुई उद्देश्यले जाने गरेको पाइएको छ। केही स्थानीय घरमा बाल्नका लागि दाउरा छोप्न पुग्ने गरेका छन्। भने केही व्यापरिक उद्देश्यले नदीमा बगेर आएका काठ दाउरा छोप्न पुग्ने गरेका छन्। जंगल नजिक नभएकाले दक्षिणभेगमा खाना पकाउन र अन्य प्रयोगका लागि दाउरा अभाव छ। धेरै स्थानीय दाउराकै लागि ज्यान जोखिममा राखेर नदीको भेलको प्रवाह नगरी जाने गरेका छन्। नदी छेउमा संकलन गरेर राखिएका गोलिया 

'नजिक जंगल छैन, वर्षायाममा नदीमा बगेर आउने दाउरा छोप्नुको विकल्प छैन।' सुस्ता गाउँपालिका बेलहानीका कृष्णमणि पालले भने। दाउराभन्दा ज्यान ठूलो नभए पनि सबै जना नदीमा जाँदा आफू पनि जाने गरेको उनले बताए। उनले भने, 'नदीमा बगेर आएको दाउरा नसमाते घरमा चुलो बल्दैन। वर्ष भरीको जोहो गर्न दाउरा समात्न आउने गरेका छौं।'
हरेक वर्ष आउने नारायणीको भेलमा पसेर दाउरा संकलन गर्ने कार्य परम्पराजस्तै बनेको सुस्ता गाउँपालिका–४ का स्थानीय सुरज गुरुङले बताए। उनले भने, 'हरेक वर्षजसो दाउरा समात्ने क्रममा कोही न कोही व्यक्ति बेपत्ता हुने गरेका छन्। बेपत्ता भएपछि उनीहरुको शब फेला पर्न मुश्किल हुन्छ। ज्यानभन्दा दाउरा ठूलो झै गरेर स्थानीय भेलमा जान छाड्दैनन्।' 

नदीमा बगेर आउने काठ, दाउरा आफ्नो दाबी गर्ने स्थानीयको अर्कै तरिका छ।  गुरुङले भने, 'बगेर आउने काठ वा दाउरा जसले पहिला छोयो उसैको हुन्छ। उसको हातबाट फुत्किने बित्तकै फेरी जसले समात्छ उसैको हुन्छ।' काठ दाउरा आउने बित्तिकै स्थानीय हामफालेर छोप्न जाने गरेको उनले सुनाए।

तत्कालीन जिल्ला विकास समितिले नदीमा बगेर आउने काठ दाउरा संकलन गर्न ‘दहत्तर बहत्तर’ नाम दिएर लाखौंको ठेक्का लगाउने गरेको थियो। स्थानीय तह गठन भइसकेपछि त्यसको ठेक्का भने लगाइएको छैन। नदीमा बगेर आउने ठूला काठ संकलन गर्न व्यापारीहरु पुग्ने गर्दछन्। नदीको बीच भागमा बग्दै आएका काठ छोपेर ल्याउनेसंग उनीहरुले खरिद गरेर स्थानीय मिलहरुमा बिक्री गर्ने गरेका छन्। नदीमा सबैभन्दा बढी सिमलका रुख बगेर आउने गरेका छन्। त्यसरी संकलन गरेका काठलाई चिरेर गोलिया बनाउने गरिएको छ। 

प्रति क्विफिट २ सयदेखि २ सय ५० सम्म खरिद गर्ने गरेको नर्सहीका स्थानीय सन्तोष कुमार कानुले बताए। एक पटकमा एउटा डुंगाले कम्तीमा १५ देखि १ लाखसम्मको काठ नदीबाट झिकेर ल्याउने गरेका छन्। व्यापार गर्ने एक व्यक्तिले एक सिजनमा कम्तीमा ५ देखि ६ लाखसम्म काठ बिक्री गर्ने गरेको स्थानीयले बताए। विभिन्न स्थानमा गरी करिब ५० देखि ६० लाखसम्मको काठ संकलन गरी व्यापारीहरुले खरिद गरेर लैजाने गरेका छन्। लाखौं रुपैया कमाई हुने भएपछि काठ संकलनका विषयमा स्थानीयबीच झडपसमेत हुने गरेको छ। 

काठ दाउरा सकंलन गर्दा स्थानीयहरु डुबेर बेपत्ता हुन थालेपछि प्रहरीले त्यसमा रोक लगाउने प्रयास गरेपनि स्थानीयले भने अटेर गर्दै आउँदा घटना हुने गरेको रामनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक जनक थापाले बताए। काठ दाउरा समात्न जाने स्थानका सबै ठोकरमा पुगेर स्थानीयलाई लखेटेपनि अटेर गरेर पुनः जाने गरेको उनले बताए।
प्रहरी सहायक निरीक्षक थापाले भने, 'नदीमा बगेर आएको काठलाई आ–आफूले दाबी गरेपछि केही दिन अघि दुई समूहबीच झडप समेत भएको थियो। हामी गएर सहमति गराएर विवाद साम्य पार्‍यौ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.