मूर्छित कांग्रेस

मूर्छित कांग्रेस

यतिखेर नेपाली कांग्रेसमा कुनै सक्रियता छैन। करिब-करिब निस्क्रिय अवस्थामा रहेको देखिन्छ पार्टी। एक प्रकारले निदाएरै बसेको भन्न मिल्छ। या मूर्छितको अवस्था नै भने पनि हुन्छ। यस्तो किन ? सत्तापक्ष बलियो रहेको कारणले हो ? तर त्यसो भनिहाल्न मिल्दैन। किनकि अहिलेको नेकपाको सत्ता, जुन पार्टी झन्डै दुईतिहाइको छ, त्यो पार्टी आन्तरिक रूपमा अनेक तिहाइमा खण्डित भएको बुझिन्छ। त्यस्तो पार्टीको सरकारलाई बलियो मानेर कांगे्रसले आपूmलाई निस्क्रिय राखेको भन्न मुस्किल छ। सम्भवतः सत्य पनि यही हो। त्यसो भए कांग्रेस सक्रिय नदेखिनुको कारण के अरू नै छ ? के हुन सक्ला त त्यो कारण ?

त्यसो त, आफ्नै गृह (पार्टी) कलहभित्र कांगे्रस छट्पटाइरहेको तथ्य कसैबाट छिपेको छैन। जसको कारकतत्व भनेको पार्टीभित्र गुट र ती गुटभित्र पनि उपगुट रहनु हो। कांग्रेसमा तटस्थ भाव राख्नेहरूले प्रस्टै भन्ने गरेका छन्- प्रजातान्त्रिक पार्टीमा फरक मत राख्न पाउनु यो प्रणालीको सुन्दर पक्ष हो, तर त्यसकै नाममा पार्टीभित्र बसेर गुटबन्दी गर्नचाहिँ पाइँदैन।

कांग्रेसका पुराना अनुयायीले त केसम्म भन्ने गरेका छन् भने, कांग्रेस अहिले कहाँ कांग्रेस रहेको छ र ? बीपी-गणेशमानको भौतिक अवसानसँगै कांग्रेस समाप्त भइसकेको छ। हुन पनि आजको कांग्रेसभित्रको कलह, आपसी खिचातानी हेर्दा यो भनाइ सही हो कि भैmं लाग्छ। इतिहासतर्पm फर्केर हेर्दा देखिने दुईपटकको आफ्नै बहुमतको सरकारलाई अपदस्थ गरेको दृश्यले पनि यसलाई पुष्टि गर्न बल मिल्छ। त्यसो त, नेपालको इतिहासमा पहिलोपटक जननिर्वाचित दुईतिहाइको कांग्रेसकै सरकार अपदस्थ भएको थियो संवत् ०१७ सालमा। तर त्यो इतिहास कांग्रेसको पछिल्ला बहुमतीय सरकारको पाराले विघटन भएको थिएन। त्यसको छुट्टै कथा छ।

आज कांग्रेस सरकारमा छैन। स्वाभाविक रूपमा गत निर्वाचनमा अत्यधिक चुनावी सिटमा पराजय भोगिसकेपछि प्रतिपक्षमा बस्न बाध्य भएको हो ऊ। विडम्बना के छ भने सत्तामा रहँदा त आलोचना खेपिरहेकै थियो। त्यो खेप्नु पनि पर्छ, तर प्रतिपक्षमै रहेको अवस्थामा पनि कांग्रेस आलोचित भइरहेको छ। आलोचनाको मुख्य बुँदा हो- ऊ हुतिहारा भएको छ। यति कमजोर कांग्रेस त अहिलेसम्म देखिएको थिएन।

किन यो अवस्थामा छ कांग्रेस ? खोजीको विषय छ। जब कि सत्तासीन पार्टीभित्रैबाट सरकारको अलोकप्रिय कदमविरुद्ध खुलेर विरोध भइरहेको छ। तर कांग्रेस कहाँ छ ? त्यत्तिकै आवाजमा पनि कांग्रेस किन बोल्न सक्दैन ? के यस्तो बेला कांग्रेस झन् ठूलो स्वरमा बोल्नुपर्ने होइन ? जब कि सडकमा सामान्य नागरिक र सत्ताधारी पार्टीकै कतिपय शक्तिशाली नेताहरूद्वारा एमसीसीजस्ता विषयविरुद्ध झन्डा उठाइरहेको समयमा सरकारका पक्षमा कांग्रेसले भने उल्टो सहमतीय मत जाहेर गरिरहेछ ? यस्तो किन भइरहेछ ? कांग्रेसका मतदाता यस्तो अवस्थालाई बुझ्न नसकेर प्रश्न गरिरहेछन्, ‘के हामीले प्रतिनिधि छानेको यत्तिका लागि हो ? एकदम मौन बसेर सत्तापक्षका जस्तोसुकै कदमलाई पनि समर्थन जनाउने भनेर तिनलाई हामीले भोट हालेका हौं ? हैन भने किन चुप छन् यिनीहरू ? ’

ठूला-ठूला परिवर्तनका गुड्डी हाँक्ने कांग्रेससमर्थित विद्यार्थी या अन्य कुनै संगठनले संगठित रूपमा राज्यबाहेकै अलग्गै रहेर कमसेकम कोरोनाजस्तो महामारीको दुःखमा पीडितहरूको सहयोगका खातिर उत्रिएको कतै सुनिएन, देखिएन।
 

वास्तवमा कांग्रेसको यो मौन स्थिति हेर्दा आशंका जन्मने ठाउँ प्रशस्त उत्पन्न भएको छ, कांग्रेसको कतै सत्तापक्षसँग भित्री साँठगाँठ त छैन ? चर्चा चलेजस्तै कतै आर्थिक प्रलोभनसँग त जोडिएको छैन यो विषय ? साँच्चै भन्ने हो, पार्टी र सदनमै पनि स्वर बिक्ने प्रदीप गिरि, गगन थापाले यदाकदा उठाउने आवाजसमेत यो अवस्थामा शंकाको घेरामा पर्नुलाई अनुचित मान्न सकिन्न। होइन भने खोइ त उहाँहरूजस्ता व्यक्तिलाई पार्टीले कांग्रेस होइन भनेको ? ‘उनीहरूको धारणा नितान्त व्यक्तिगत हो, पार्टीको आधिकारिक धारणा होइन’ भनेर उहाँहरूलाई पार्टीले कारबाही गर्नुपर्दैन र ? ठीक छ, कांग्रेसले यो यथास्थिति सही छ भनेर मानेको हो भने भन्नु केही छैन। तर मुलुकमा केही त गलत भइराखेको छ भन्ने हो भने यतिखेर त कांग्रेसले सबै नेपालीलाई सम्बोधन गर्दै ‘ए, जाग नेपाली !’ भनेर आह्वान गर्नुपर्ने होइन ? तर ठीक विपरीत कांग्रेस मौन छ। बहाना अनेक होलान्। ‘सत्ता नै गिराएर आफ्नो सरकार बनाएर हामी राज्य सञ्चालन गर्न सक्दैनौं, त्यसो गर्न हाम्रो म्यान्डेट छैन’ भनिएला, अथवा ‘यतिबेला कोरोनाको सन्त्रास छ, सरकारलाई सहयोग गर्नुपर्ने हाम्रो दायित्व हो’ भन्न सकिएला। तर यसो भन्दैमा देशभित्र देखिएका अनेक विकृति र दुःख-पीडाहरूलाई आँखा चिम्लेर उम्कन मिल्छ ?

सत्ताको विरोधै गर्नुपर्छ अथवा शेरबहादुर देउवाले भनेजस्तै कम्युनिस्टहरू अधिनायकवादी हुन्छन्। उनीहरूले सत्ता सञ्चालन गरे भने बोल्ने-हाँस्ने त के रुन पनि पाइँदैन भन्ने मान्यता यहाँ स्थापित गर्न खोजिएको पटक्कै होइन। त्यो अर्थमा यहाँ बुझाउन खोजिएको पनि होइन। एउटा कर्तव्यनिष्ठ पार्टी जो प्रत्येक नेपालीलाई उच्च विचारका साथ स्वाभिमानी-स्वावलम्बी जीवनशैलीयापन गर्ने समाजवादको जाज्वल्यमान नारा घन्काएर यहाँसम्म आइपुगेको छ। उसको गौरवमय इतिहास मर्न दिनु हुन्न भन्नेमा जोड दिन मात्रै खोजिएको हो। कुनै वाम विचारप्रतिको नकारात्मक दृष्टिकोण होइन यो।

तत्कालीन पञ्चायतबारेमा २०३६÷०? ३ र गणेशमान सिंह भन्ने गर्नुहुन्थ्यो, ‘यो सत्ताले हामीलाई घचेट्दा-घचेट्दा भित्तामा पुर्‍याइसकेको छ। अब त्यो भित्ताभन्दा पछाडि जाने ठाउँ छैन। यस्तो अवस्थामा अब के गर्ने ? सोच्ने मात्रै होइन, सबैले तत्काल निर्णय गर्ने बेला आएको छ।’

तथापि, त्यही निरंकुश बेलाको जस्तो अवस्था होइन यो। त्यो र यो अवस्थामा आकाश-जमिनको भिन्नता छ। गणेमानजीले भन्नुभएको त्यो राज्य प्रणालीकै विकल्पमा उठ्नुपर्छ भन्ने संकेत थियो। तर आजको आवश्यकता त्यो होइन। कम्तीमा आवाज उठाएर बाटो भुलेकालाई सही बाटोमा ल्याउनुपर्छ, ल्याउन सकिन्छ भन्ने हो।

के, आजको कांग्रेस त्यसका लागि तयार छैन ? कि सक्षम नै छैन ? किन यति लाचार कांग्रेस ? कहाँ छन् खोई कांग्रेसका भनिएका लाखौं कार्यकर्ता ? कहाँ छन् कांग्रेसका नाममा सरकारी, अर्धसरकारी वा निजी कार्यालयहरूमा राजनीति गरेर घरबार चलाउने कर्मचारी संगठनका जागिरेहरू जो निर्वाचनका बेला नेताहरूका अघिपछि चारतारे झन्डा उठाएर नाँच्दै हिँड्थे ? कतिसम्म भने ठूला-ठूला परिवर्तनका गुड्डी हाँक्ने कांग्रेससमर्थित विद्यार्थी या अन्य कुनै संगठनले संगठित रूपमा राज्यबाहेकै अलग्गै रहेर कमसेकम कोरोनाजस्तो महामारीको दुःखमा पीडितहरूको सहयोगका खातिर उत्रिएको कतै सुनिएन, देखिएन। कत्रो विडम्बना !

समग्रमा, एउटै प्रश्न फेरि पनि उठ्छ- के नामकै लागि मात्र जीवित हो आजको कांगे्रस ? अब कांग्रेसको दायित्व-कर्तव्य समाप्त भएको हो ? पुराना पुस्ताले कांग्रेस नामको ‘पेन्सन’ मात्रै पकाइरहने र नयाँ पुस्ताले पार्टी-पदको अवसर खोजिराख्ने हो भने भोलिको पुस्ताले कांग्रेसबाट कुन त्यस्तो सपनाको अपेक्षा गर्ने, जुन वास्तविक कांग्रेस पार्टीले उसबेलै सच्चा नेपालीको परिचय दिलाउने विधान निर्माण गरेको थियो ? भन्न यति मात्रै आवश्यक छ- आजको कांग्रेसमा साँच्चै कांग्रेसीपनाको पलायन-तस्बिर छर्लंगिदै आएको भन्नेमा विश्वास बढ्दै गएको पक्कै हो। बस्, ‘त्यो’ कांग्रेसलाई कायम राख्ने हो भने आजको यो मूर्छित अवस्थाबाट जाग्न जरुरी छ। जसका लागि एउटै सूत्र पर्याप्त छ, ‘बीपीको दूरदर्शिता, किसुनजीको त्याय र गणेशमान सिंहको दृढता।’

कांग्रेसजन हो, ब्युँझने कोसिस गर्नोस्, यो ख्याल गर्दै कि मूर्छितहरूको जागृति खतरनाक हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.