घर भत्किँदा नातिको मृत्यु, हजुरबा घाइते
जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका—२ नाउरिकोट गाउँमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । अविरल वर्षाले सोमबार बिहानपख करिव ४ः३० बजे नाउरिकोटका स्थानीय रत्नप्रसाद गौचनको २ तले कच्ची घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
अकस्मात घर भत्किँदा ७० वर्षीय रत्नप्रसाद गौचन गम्भीर घाइते भएका छन् भने उनका नाती १८ वर्षीय निशान तुलाचनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किएको खबर थाहा पाउनेवित्तिकै कोवाङ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालको टोली समेत घटनास्थलमा पुगेको छ । यस्तै, थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन, वडाध्यक्ष नरप्रसाद हिराचन र प्रमुख प्रशासकीय अधिकृत सन्तोष केशी लगायतको टोली समेत घटनास्थलमा पुगेर खटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।