मुस्ताङको सौरुमा २२ घर पहिरोको उच्च जोखिममा
जोमसोम: मुस्ताङको थासाङ गाउँपालिका-२ सौरु गाउँका २२ घरधुरी अहिले बाढी/पहिरोको उच्च जोखिममा छन् । पूर्वतर्फको निलगिरी हिमालको फेदबाट बग्ने ठाडो तम खोलामा पानीको बहाव उच्च हुँदा सौरु गाउँ उच्च जोखिममा परेको हो ।
बेनी-जोमसोम मुख्य सडकको कालिगण्डकी पूर्व पारीपट्टी केही भिरालो र केही समथर जमिनमा अवस्थित सौरु गाउँमा बर्खायाममा नदी कटान र बाढी÷पहिरोले जोखिम सृजना गर्छ ।
सौरुको माथिल्लो घरधुरीलाई ठाडो खोलाको बाढी र पहिरो अनि तल्लो घरधुरीलाई कालिगण्डकी नदीको कटानले बर्सेनि सास्ती दिने गरेको थासाङ-२ का वडाध्यक्ष नरप्रसाद हिराचनले बताए ।
वडाध्यक्ष हिराचनका अनुसार गत साउन ५ गतेको बाढीले सौरु गाउँ झनै जोखिममा परेको उल्लेख गरे । गाउँमाथिको भिरालो सतहमा तम खोलाको बहावले तटबन्धन र सिंचाइ कुलो समेत बगाएको र बस्ती, खेतीयोग्य जमिन र ठाडो खोलाको सतह समान हुन थालेकाले बस्ती थप जोखिममा परेको वडाध्यक्ष हिराचनले जानकारी दिए ।
तम खोलाको बाढीले सौरु गाउँका हिमालध्वज तुलाचनको परिवार विस्थापित भएको छ । तुलाचनको घरमा बाढीले पुरै घर जलमग्न भएको वडाध्यक्ष हिराचनले बताए ।
विस्थापित परिवारलाई गाउँकै गुम्बामा स्थान्तरण गरिएको छ । यस्तै, बाढीले सौरु गाउँमा रहेको करिब २५ रोपनी जग्गामा लगाइएको अन्नबालीमा क्षति पुर्याएको छ । बाढीले खेतमा लगाइएका मकै ,सिमी ,फापरलगायतका बालीमा क्षति पुगेको छ भने खेतमा लगाइएको करिब १ सयभन्दा बढी स्याउका बिरुवा बालुवा र गेग्रानले पुरिएको स्थानीय दिपक तुलाचनले जानकारी दिए ।
अर्को स्थानीय सोजन हिराचनले तम खोलाको बाढीले सिंचाइ कुलो ,खानेपानी र खेतमा क्षति पुगेको बताए । उनले गाउँ बाढीको उच्च जोखिमा रहेकाले वर्षा हुँदा उच्च सर्तकता अपनाउन आवश्यक भएको बताए ।
थासाङ गाउँपालिकाले सौरु बस्ती तथा खेतीयोग्य जमिन संरक्षण गर्न डोजर परिचालन गरेर खोला पन्छ्याउने काम गरेको प्रमुख प्रशासकीय अधिकृत केशीले जानकारी दिए । गाउँ र खेत जोगाउन खोलाको सतह घटाउन गाउँपालिकाले पहल गर्ने केशीले बताए ।
सौरु गाउँजस्तै थासाङ-४ को घासा गाउँ पनि बाढी- पहिरोको जोखिममा छ । गाउँमाथिको गाडखोला बहाव उच्च भएपछि घासा गाउँ जोखिमा परेको हो । गत असारको बाढीले घासामा खेतीयोग्य जमिनमा बाढी पसी अन्नबाली खसाप भएको थियो भने,सडक ,ढल ,पुल,बिजुली र संञ्चार संरचनामा क्षति पुर्याएको वडाध्यक्ष विशाल शेरचनले बताए । यस्तै, थासाङ -२ नाउरिकोट ,कोवाङ र लार्जुङलगायतका गाउँमा समेत बाढी-पहिरोले क्षति गरेको थियो ।