भीरबाट खसेको ढुंगाले लागेर घरभित्रै काम गरिरहेकी महिलाको मृत्यु
दोलखा : उत्तरी दोलखाको विगु गाउँपालिका- ४ लादुकको सिंगटीमा करिब पाँचसय मिटर माथिको भीरबाट खसेको ढुंगाले लागेर घरभित्रै काम गरिरहेकी एक महिलाको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब साढे ८ बजेतिर भीरबाट खसेको ढुंगाले लागेर घाइते भएकी विकास थामीकी करिब ३५ वर्षीया श्रीमती रेणु थामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
ढुंगाले लाग्दा घरको जस्तापाता र ढुंगाको गाह्रो ढलेर सोही गाह्रोले च्यापिएर घाइते भएकी थामीको प्राथमिक अस्पताल चरिकोट ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए ।
मृतक थामीको टाउको पछाडि र दाहिने घुँडामुनि चोट लागेको निरीक्षक बोहराले जानकारी दिए । मृतक थामीको शव प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको प्रहरीले जनाएको छ ।