कालिकोटको रास्कोटमा ठाँउ-ठाँउमा पहिरो : ६ जना बेपत्ता, दुई जना घाइते
कालिकोट : कालिकोटको रास्कोट नगरपालिका वडा नं. १ बहुलतोलामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन्। रास्कोट नगरपालिका वडा नं. १ स्थित जयबहादुर शाहीको घर पहिरोले पुरिएपछि उनको पाँच जनाको परिवार बेपत्ता भएका हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीका अनुसार जयबहादुर शाहीसहित उनका छोरा नविन शाही, छोरी संगिता शाही, गौरा शाही, भदई नाता पर्ने अस्मिता शाही राती घरमा सुतिरहेको अवस्थामा पहिरोले पुरिएर बेपत्ता भएका हुन्।
गए रातीदेखि आएको अविरल वर्षासँगैको पहिरोले बेपत्ता भएकाको खोजी गर्न प्रहरीको टोली घटना स्थल पुगे पनि पहिरो नरोकिएका कारण खोजी कार्य गर्न सकिएको छैन। प्रहरीका अनुसार रास्कोट नगरपालिका वडा नं. १ कै तुसार खोलामा आएको पहिरोले टेकबहादुर टमट्टाको घर पुरिंदा बेलकोषा शाही पुरिएकी छन्। स्थानीय यशोधा टमट्टा र मयसरा टमट्टा घाइते भएका छन्। यस्तै रास्कोट नगरपालिका वडा नं. ९ फुगाडमा आएको बाढीले कर्णाली करिडोर फुगाडमा नेपाली सेनाले बनाएको बृलिबृज र पुल नजिकैको विष्णु बुढ थापा र पदमबहादुर थापाको घर बगेको छ। रास्कोटमा मात्र चार वटा घर पहिरोमा पुरिएका छन्। फुगाडमा गाडी पास हुने बेलिबृज बगेपछि कर्णाली करिडोर पनि अवरुद्ध भएको छ। कालिकोट र बाजुराको यातायात सम्बन्ध विच्छेद भएको छ।
यस्तै जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ९ लालुको खुलालु लालु सडक खण्ड अन्तरगत गर्खेको भीरमा खसेको पहिरोमा पुरिएका पारस भण्डारीको दुई दिनसम्म पनि उद्धार भएको छैन। पहिरो नरोकिएकाले उनको उद्धार गर्न नसकिएको जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलियाले बताए। उनका अनुसार पहिरोमा पुरिएका भण्डारीको उद्धारका लागि नेपाली सेना, नेपालल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थलमै छ।
जिल्लाका अन्य पहिरोबाट प्रभावित स्थानमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अझै वर्षा नरोकिएकाले सबै नागरिकलाई सचेत हुन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रप्रससाद गैरेले सार्वजानिक रुपमा सूचना जारी गरी विपद्का समयमा सबैले पूर्व तयारी र सचेत रहनका लागि अपिल गरेको बताए।
नेपाली कांग्रेस कालिकोटले पहिरो प्रभावित क्षेत्रतिर उद्धार तथा राहतका लागि पार्टीका नेता, कार्यकर्ता तथा भातृ संस्था नेविसंघ र तरुण दललाई परिचालन गरेको छ। नेपाली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेशसभा ख का पाटी सभापति दमनबहादुर शाहीले जिल्लाको रास्कोट तथा अन्य पहिरोबाट प्रभावित क्षेत्रमा नागरिकको सहयोगका लागि नेविसंघ, तरुण दलका साथै पार्टीका नेता तथा कार्यकर्ताहरु परिचालन गरेको जानकारी दिए।