एकल पुरुषलाई भत्ता
तेह्रथुम : आर्थिक रुपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ। महिलाको हकमा भने श्रीमानको मृत्युपछि राज्यले सामाजिक सुरक्षाभत्ता दिने गरेको छ। हरेक नागरिकलाई गाँसबास कपासका हिसाबले सुरक्षित रहने अधिकार छ। सोही अनुसार जेष्ठ नागरिक,जेष्ठ दलित,अपांग तथा एकल महिलाले सेवा लिंदै आएका छन्।
विपन्न तथा एकल पुरुषका लागि राज्यले कुनै कार्यक्रम ल्याउन सकेको छैन। तर तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेको छ।
छथर गाउँपालिका भित्र रहेका तथा विभिन्न कारणले एकल बनेका पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी रहेको पालिका अध्यक्ष सन्तबिर लिम्बु बताए। उनले भने, ‘आर्थिक रुपमा एकदमै विपन्न तथा विभिन्न दीर्घ रोगका कारण पीडित बन्दै आएका एकल पुरुषलाई यो कार्यक्रमले राहत मिल्ने छ।’ एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नेपालमै पहिलो पालिका हुने अध्यक्ष लिम्बुको दावी छ।
गाउँपालिकाले एकल पुरुषहरुको तथ्याङ्क सकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार दिइने प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए। ‘एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आ.व. ०७७/७८ को गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश भएको छ’, उनले भने। आर्थीक विपन्नताकै कारण कतिले सामान्य उपचारसम्म पाउन नसकेको र बिहान बेलुका छाक टार्न मुस्किल बन्दै गरेको अवस्थामा सामाजिक सुरक्षा भक्ताले एकल पुरुषलाई ठुलै राहत मिल्ने गाउँपालिकाका उपाध्यक्ष तारा खरेल ढकालले बताइन्। उनले भनिन्, ‘एकल महिला झै एकल पुरुषको पीडा पनि कम छैन। सन्तानविहीन पुरुषका लागि यो कार्यक्रम अझ प्रभावकारी बन्ने छ।’
गाउँपालिकाले अघिल्ला वर्षमा जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार दिनुको साथै गाउँपालिका उपहारको रुपमा लौरो प्रदान गरेको थियो। विभिन्न दिर्घरोगीलाई ५ हजारदेखि २५ हजारसम्म उपचारका लागि आर्थिक सहयोग दिइंदै आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए। ‘विपन्न परिवारका लागि निशुल्क मिटरबक्स तथा जस्तापाता लगायत विभिन्न कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै आएको छ’, उनले भने। जटिल बिरामीहरुको घरमै पुगेर गाउँपालिका अध्यक्ष आफैंले उद्धार गरी उपचारमा सहयोग गर्दै आएको उनको भनाइ छ। स्थानीय सरकार भएको प्रत्याभुति गराउने उद्देश्यका साथ वर्षेनी नयाँ तथा प्रवाभकारी कार्यक्रमहरु ल्याएको अध्यक्ष लिम्बुको दावी छ।