कालिकोट पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु (अपडेट)
कालिकोट : कालिकोटको नरहरीनाथ गाउँपालिकाको ७ बागामा पहिरो जाँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । मंगलबार राती ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ भने एकजना उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीय विमला बुढाको कुमालको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो। बेपत्ताहरुको घरभित्र पुरिएकाको अवस्थामा शव फेला परेको छ । यस्तै नरहरीनाथ गाउँपालिका ४ गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ । बले बुढा र उनकी श्रीमती मना बुढाको ज्यान गएको छ ।
मंगलबार बिहान रास्कोट नगरपालिका-१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँचजनाको शव अझै भेटिएको छैन । उनीहरुको खोजी कार्य जारी छ । रास्कोटमा एकजनाको मृत्यु भइसकेको छ । यस्तै सान्नीत्रिवेणी गाउँपालिका २ मा पहिरो खस्दा एक घर पुरिएको छ ।
बाँकी ८ घर जोखिममा परेका छन् । मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । यस्तै सान्नीत्रिवेणी गाउँपालिका ७ क्यूरीको बस्ती पनि पहिरोको जोखिममा परेको छ । स्थानीय मनराज सिम्खाडाका अनुसार गाउँको दुवैतिर पहिरो गएको छ ।पहिरोका कारण कर्णाली राजमार्ग र कर्णाली कारिडोर अवरुद्ध भएको छ।