बाढी-पहिरोले ग्रामीण बस्ती सडक सञ्जालबाट विच्छेद
सिन्धुपाल्चोक : असार अन्तिम साता पहिरोले अवरुद्ध बनाएको अरनिको राजमार्गको बाह्रबिसे कोदारी खण्डको सडक अझै सूचारु हुन सकेको छैन । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले अवरुद्ध सडक स्थानीय तहको लामो प्रयासका बावजुद पनि यातायात सञ्चालन हुने गरी खुलाउन सकिएको छैन।
सडक अवरुद्ध भएसँगै बाह्रबिसे नगरपालिकाका केही बस्ती र भोटेकोशी गाउँपालिकाका सबै बस्ती सडक सञ्जालबाट नाकाबन्दी अवस्थामा पुगेका छन् ।सडक सूचारु हुन नसक्दा सिंगो गाउँपालिका यातायातको साधनको नाकाबन्दीमा परेजस्तो भएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए ।
सडक सूचारु नहुँदा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन र अत्यावश्यक खाद्यान्न ढुवानीमा समस्या परेको पौडेल बताउँछन् ।' सडक अवरुद्ध हुँदा बिरामीलाई स्टेचरमा बोकेर बाह्रबिसेसम्म ल्याउनु परेको छ, अध्यक्ष पौडेलले भने, ,' अत्यावश्यक खाद्य सामाग्री समेत घण्टौं लगाएर बोक्नुपर्ने बाध्यता छ।'
अरनिको राजमार्गको बाह्रबिसे र भोटेकोशी मात्र हैन जिल्लाका अधिकांश ग्रामीण बस्तीका सडक बाढी र पहिरोका कारण अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । जुगल गाउँपालिकाको कात्तिके तेम्बाथान खण्डको सडक ठाउँठाउँमा अवरुद्ध हुँदा पैदल आवतजावतमा समस्या भएको जुगल-१ का वडाअध्यक्ष सानुकान्छा तामाङले बताए ।
जुगलका अधिकांश बस्ती नाकाबन्दीमा परेको तामाङले जानकारी दिए ।मेलम्ची नगरपालिकाले वडा कार्यालयसम्मको सडक बाह्रै महिना चल्ने बनाउन खोजेको भएपनि वर्षाका कारण आउने पहिरोले सम्भव हुन नसकेको प्रमुख डम्बर अर्याल बताउँछन् ।
पहाडि बस्ती भएकाले सडक माथिबाट पहिरो जाने र तलबाट सडक कटान हुने भएकाले निरन्तर यातायातका साधन सञ्चालनमा समस्या आएको अर्यालको भनाइ छ ।' एकदिन अवरुद्ध भयो भनेर स्काभेटर पठाएर सडक सूचारु गरायो फेरी पहिरो गएर रोकिहाल्छ, अर्यालले भने,' ग्रामीण सडकलाई स्थायित्व दिने काम धेरै कठिन रहेछ ।'
भोटेकोशी, बाह्रबिसे, जुगल र मेलम्ची मात्र हैन यस वर्ष अत्यधिक वर्षा भएकाले विगत वर्षमा सञ्चालन हुने गरेका सडक पनि अवरुद्ध भएका जनप्रतिनिधि बताउँछन् । अझ आर्थिक वर्षको अन्तिममा आएर मर्मत सम्भार गरिएका सडक बढी अवरुद्ध भएको प्राविधिकले बताएका छन्। जिल्लाका १२ वटै स्थानीय तहका एकाध बाहेक अन्यसडक अवरुद्ध छन् ।