सानेपामा पौडेललाई देउवाको जवाफ : म काम चलाउ सभापति होइन

सानेपामा पौडेललाई देउवाको जवाफ : म काम चलाउ सभापति होइन

काठमाडौं : नेपाली कांग्रेसको आगामी महाधिवेशनको चहलपहलसँगै पार्टीभित्रको आन्तरिक विवाद पनि चर्किएको छ। संस्थापन पक्षको एकलौटी कदम सच्चाउन माग गर्दै विरोधपत्र बुझाउन सानेपा पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूलाई  सभापति शेरबहादुर देउवाले आफू कामचलाउ सभापति नभएको जबाफ दिएका छन्। 

पौडेलसहितका नेताहरुले महाधिवेशनको मिति घोषणापछि विभाग गठन र विस्तारका साथै मनपरी ढंगले नवप्रवेशीलाई सदस्यता बाँडेको आरोप लगाउँदै  बिहीबार सभापति देउवालाई ज्ञापनपत्र बुझाएका छन्।उनीहरुले कामचलाउ सभापतिलाई यसरी मनोमानी ढ‌ंगले  निर्णय गर्ने अधिकार नभएको भन्दै महाधिवेशनको नतिजा प्रभावित पार्ने खालका गतिविधि नगर्न ध्यानाकर्षण गराएका थिए। 

२०७२ फागुनमा भएको कांग्रेसको तेह्रौं महाधिवेशनबाट निर्वाचित नेतृत्वको चारवर्से अवधि गत फागुनमा सकिएको थियो। सभापतिसहित कार्यसमितिको पदावधि एक वर्ष थपिएको हो।कांग्रेसले आउने फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

 पौडेलसहितका नेताहरूलाई सभापति देउवाले महाधिवेशनसम्म आफू कार्यकारी नै भएको स्पष्ट पारेका छन्। सभापति देउवाले बाँकी विभाग गठन र विस्तारलाई निरन्तरता दिने संकेत गरे ।

‘विधानमा कामचलाउ सभापति भन्ने नै छैन, त्यसैले महाधिवेशनसम्म म फुलफेजकै सभापति हुँ,’देउवाले भने, ‘महाधिवेशनलाई स्वतन्त्र र निष्पक्ष बनाउन म प्रतिवद्ध छु । त्यसमा शंका नगर्नुस् ।’ 

बरिष्ठ नेता पौडेल समूहले महाधिवेशनको मिति घोषणा भइसकेपछि विभाग गठन र विस्तार गरिएको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएको हो । विधान अनुसार ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभाग र समितिहरु महाधिवेशनको मुखमा गठन गरिएकोमा आपत्ति जनाउँदै आएका छन् । 

बुधबार पार्टी कार्यालय सानेपामा पौडेल समूहको केन्द्रीय सदस्यहरुको भेलाले सभापति देउवालाई लिखित ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। सभापतिलाई लिखित पत्र बुझाएपछि सानेपामै बिहीबार आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले विधानविपरीत भएका निर्णयविरुद्ध महाधिवेशनसम्मै प्रतिरोध गर्ने बताएका थिए ।

‘सभापतिले जति गल्ती गर्दै जान्छन् हामी त्यत्ति नै सशक्त बन्दै जान्छौं,’ उनले भने, ‘अहिले विधानविपरीत भइरहेका निर्णयलाई मुद्धाका रुपमा महाधिवेशनसम्म लैजान्छौं ।’उनले आफूहरुको लडाइँ पार्टी भित्र पदका लागि नभई विधि स्थापित गर्न भएको बताए । पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका प्रभावशाली नेताहरु सहभागि थिए । 

‘विधानतः तेह्रौं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने केन्द्रीय विभागहरू, अहिले चौधौं महाधिवेशनको कार्यक्रम अघि बढिसकेपछि, गठन गरिरहनु भएको छ,’ सभापति देउवालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘यसबाट विधानको पूरै उल्लङ्घन भएको छ ।’ विभागमा संख्या बढाउने, गठन गर्ने र विस्तार गर्ने कार्य विधानविपरीत हुनुका साथै महाधिवेशनलाई प्रभावित गर्ने मनसाय भएको पौडेल समूहको ठहर छ । उसले विभाग विस्तारको निर्णय खारेज गर्न पनि माग गरेको छ । साथै पौडेल समूहले कांग्रेसमा समायोजन भएका अन्य पार्टी र नेताहरुलाई विधानको व्यवस्था मिचेर आफूखुसी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै आपत्ति जनाएको छ ।

सभापति देउवाले भने आफूले सहमतिका लागि नाम माग्दा नदिएपछि अन्तिममा विभाग गठन गर्नुपरेको बताए । मैले विभाग गठनमा तपाईहरुलाई पर्खिएकै हो । नाम दिनूस् भन्दा दिनुभएन,’ देउवाले पौडेल समूहका नेताहरुलाई भने, ‘अझै आउनुस् । सबै मिलेर विभाग गठन गरौं । सहमतिमै जाँदा कसरी महाधिवेशन प्रभावित हुन्छ ? ’ उनले अन्य पार्टीबाट आउने नेताहरुलाई प्रवेश गराउनेबारे सबैसँग सहमति भएकाले आशंका नगर्न आग्रह गरे । ‘अरु पार्टीबाट आउनेको हकमा तपाइँहरुसँग पनि सल्लाह गरेकै हो । तपाईहरुले पनि फुलमाला लगाउनुभएकै हो,’ देउवाले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.