पहिरोले घेर्यो बस्ती, करीब ३ सय बढी घर जोखिममा
कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ७ क्यूरीको गाउँको चारैतिर पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ । पहिरोका कारण करीब ३ सय बढी घरधुरी जोखिममा परेका छन् । स्थानीय मनराज सिंम्खाडाका अनुसार गाउँमा अबिरल वर्षका कारण करीब १० घरहरु सामान्य रुपमा चर्किएका छन् । गाउँको चारैतिर पहिरोको गइरहेको छ । स्थानीय नागरिक पहिरोको त्रासमा बसिरहेका छन् ।
रास्कोट नगरपालिका १ बडलतोलाको पहिरोले क्यूरीको बस्ती पनि प्रभावित भएको छ।सान्नीत्रिवेणी गाउँपालिका ७ का वडा अध्यक्ष मनीप्रसाद सिम्खाडाले पहिरोका कारण गाउँ नै जोखिममा परेकाले वर्षा नरोकिए बस्ती नै सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था आएको बताए ।
उनले भने, 'सान्नीत्रिवेणी गाउँपालिका ७ क्यूरीको बस्ती पहिरोको बीचमा परेको छ । ठूला ठूला पहिरोको बीचमा परेको गाउँ कुनै पनि बेला पहिरोको शिकार हुन सक्छ । यसका लागि आफूहरुले गाउँवासीलाई चनाखो भएर बस्न आग्रह गरेका छौँ ।अविरल वर्षा नरोकिए बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था छ ।'
उनका अनुसार गाउँको चारैतिर पहिरो जान थालेपछि मानिसको आवतजावत पनि बन्द भएको छ । क्यूरीको गाउँबाट मुम्रा तथा रास्कोट नगरपालिका १ न्यौपानेबाडा जाने सडकका साथै डोरेटो बाटो पनि बन्द छ । पहिरो लगातार खसिरहेको छ । गाउँबाट बाहिर जाने तथा बाहिरबाट गाउँमा आउन सकिने अवस्था छैन् । मानिसको एक अर्कासँगको सम्पर्क पनि टुटेको छ ।