२० लाख लिएर गएका ठेकदारका भाइ सम्पर्कबिहीन
मुगु : मुगुम कार्मारोङ गाउँपालिका -२ मुगुम गाउँमा पर्ने कोइकी पर्दमार्ग निमार्णको जिम्मा लिएका ठेकेदार उर्गिन तामाङका भाइ २० लाख रुपैयाँ लिएर बेपत्ता भएका छन्।
२८ वर्षीय टासी तामाङले ४ दिन अगाडि राष्ट्रिय बाणिज्य बैंक पुलु शाखाबाट २० लाख रकम भुक्तानी लिएका थिए। उक्त रकम बोकेर कोइकी पर्दमार्गमा संलग्न मजदुरलाई रकम बझाउन पुलुबाट एक दिन टाढा रहेको आफ्नो घर मुगुम गाउँतर्फ गएका थिए। तर उनी सम्र्पकबिहीन भएको आफन्तले बताएका छन्।
कोईकी पर्दमार्ग निमार्णको जिम्मा टासीका दाजु उर्गिन तामाङले लिएका छन् । निमार्णमा संलग्न मजदुरलाई वितरण गर्ने रकम टासीले राष्ट्रिय बाणिज्य बैंक पुलु शाखाबाट भुक्तानी लिइ गाउँतिर एक्लै गएका थिए ।
मुगुम कार्मारोङ गाउँपालिका-२ को चाल्ने खोलासम्म टासी एक्लै हिँडदै गरेको देखेको चाल्ने खोला आसपासमा काम गर्ने स्थानीयले बताएका छन्। चाल्ने खोलाबाट तामाङको घर तीन घण्टा टाढा पर्छ ।ठूलो रकमसहित वेपत्ता भएका उनीबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रशाद शाहले बताए।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार ठूलो रकमसहित चार दिनदेखि तामाङ वेपत्ता भएको भन्ने जानकारी आएपछि सीमा प्रहरी चौकी मुगुबाट प्रहरी नायब निरीक्षक र पुलु प्रहरी चौकिबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोलीले खोजी गरिरहेको छ।
साउन १३ गते पुलुबाट हिँडेका तामाङ चिताई कुनामा बास बसेको जानकारीमा आएको छ। तामाङ बास बसेको स्थानमा अन्य व्यक्तिहरुबीच झगडा हुँदा तामाङले दुबै पक्षलाई छुट्टाएको जानकारीमा आएको प्रहरी बताएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका-२ का अध्यक्ष कार्मा तामाङले दिएको जानकारी अनुसार टासीले पदमार्गमा संलग्न कामदारलाई बझाउने रकम बैंकबाट भुक्तानी लिएर गाउँतर्फ गएको र हालसम्म घर नपुगेको भन्ने जानकारी आएको छ।