बेवारिसे गाईवस्तुका लागि बन्यो संरक्षण स्थल
स्याङ्जा : वालिङ् नगरपालिकाले बेवारिसे अवस्थामा छाडिएका चौपायका लागि व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । वालिङ् ८ र १० स्थित स्वार्गाश्रममा गौशाला निर्माण गरी यस्ता गाई, वाच्छा, गोरु लगायतलाई दाना, पानी, पराल सहितको व्यवस्था मिलाइएको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए ।
सार्वजनिक तथा व्यक्तिका केही जग्गा उपयोग गर्दै गौशाला निर्माण गरिएको छ । गौशालामा ३० वटा गाईवस्तु छन् । आवश्यक परेमा ३ सय क्षमताको गौशाला निर्माण गर्न सकिने नगरपालिकाले जनाएको छ । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन इकाई पोखरा र वालिङ नगरपालिकाको संयुक्त लगानीमा चौपाय व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याईएको हो । पोखराले १५ लाख र वालिङले १५ लाखको लागतमा गौशाला निर्माण गरिएको हो ।
‘उमेर छउन्जेल गाई दुहेर खाने, गोरु जोतेर अन्न भित्रयाउने तर नसक्ने र बुढो भएपछि सडक, खोलानाला, खेतमा छाडिदिने गर्नाले यिनीहरुको अवस्था दुखद बनेको प्रमुख खाँणले भने । गाई यत्रतत्र छाड्दा उनीहरुले दुख पाउनुका साथै दुर्घटना पनि हुने भएकाले नियन्त्रण र उचित संरक्षण गर्ने प्रयास नगरपालिकाले गरेको प्रमुख खाँणले बताए।
करिब २ सय रोपनी क्षेत्रफल रहेको स्वार्गाश्रम वरपर गाईवस्तुका लागि आवश्य पर्ने घाँस लगाइएको र चरन क्षेत्र, हेरालु बस्ने भवन, खानेपानी संकलन गर्ने पोखरी लगायतका पूर्वाधार निर्माण भएको १० का अध्यक्ष अनन्तराज गैह्रैले जानकारी दिए । उनले भने ‘गौशाला निर्माणसँगै छाडा छाडिएका पशु चौपायले बाली खाइदिने समस्या हटेको छ ।’
केन्द्रमा बाच्छाबाच्छीदेखि दुधालु गाईसमेत रहेको वालिङ् ८ का वडा अध्यक्ष कमलप्रसाद सुवेदीले बताए । घाँस र गाईवस्तुको औषधोपचारका लागि नगर पशु सेवा शाखाले सहयोग गर्ने प्रमुख देवकुमारी श्रेष्ठले जानकारी दिइन् । वालिङको स्वार्गाश्रममा निर्मित गाई सहितको गौशाला । तस्विर ः भवानी अधिकारी