कागखोला बाढीले श्राद्धस्थलमा क्षति
जोमसोम: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -२ झोङमा शनिबार साँझ ५ बजे गएको सुख्खा पहिरोले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र त्यस आसपासबाट आउने शाखा नदी कागखोला अचानक थुनिएपछि आएको बाढीले कागबेनीको संरचनामा क्षति पुगेको जनाइएको ।
कागखोलाको बाढीले श्राद्धस्थलका केही भाग र तिर्थालुले स्नान गर्ने ठाउँ नदीले बगाएको वारागुङ मुक्तिक्षेत्र गापाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए । सूचना अधिकारी तिमिल्सिनाले करिब साँझ ५ बजे झोङमा सुख्खा पहिरो गएको र २ घण्टा कागखोला नदी थुनिएपछि ठूलो बाढी आएको बताए ।
सुख्खा पहिरोले थुनिएको कागखोला नदी करिब साँझ ८ बजे फुटेपछि आएको बाढीको त्रासले स्थानीयबासी तथा त्यहाँ परम्परागत यार्तुङ मेला भर्न गएका सर्वसाधारणको भागदौड चलेको थियो ।
सूचना अधिकारी तिमिल्सिनाले ३ घण्टापछि बाढी रोकिएको जनाए । उनका अनुसार कागखोलाको बाढीले कागखोलाबाट ल्याइएको खानेपानी संरचना र कागखोला नदी नियन्त्रण आरसिसी पक्की तटबन्धमा क्षति पुगेको हो ।
यसअघि पनि कालिगण्डकी नदीको वाहव उच्च हुँदा कागबेनी-पाक्लिङ जाने काठेपुल बगाएको थियो भने श्राद्धस्थल समेतमा क्षति पुगेको थियो ।कालिगण्डकी नदी र कागखोलाको दोभानमा रहेको कागबेनी बजारमा करिव १ सय बढी घरधुरी छन् । जसमा ठुला ठुला पर्यटक लक्षित होटल पनि छन् । बर्सेनि बर्खायामको मौसममा उक्त स्थान बाढी÷पहिरोको जोखिममा रहेको छ ।