बालबालिका र जेष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह
काठमाडौं : सरकारले १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। पछिल्लो समय कोरोना संक्रण दर बढ्दै गएको भन्दै सरकारले त्यसबाट बच्न बालबालिका र जेष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।
उक्त समूहका नागरिकलाई कोरोना जोखिम बढी हुने भन्दै काठमाडौं र काठमाडौंजस्तै घनाबस्ती भएका ठाउँमा घरबाट बाहिर ननिस्कन अनुरोध गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।
स्वास्थ्यमा विशेष ध्यान दिन सके कोरोनाबाट बच्न सकिने भन्दै डा.देवकोटाले स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गरे। नाक र मुख छोपिने गरी मास्क लगाउने, घर वा कार्यालय छिर्नु अगाडि साबुन पानीले हात धुने,पसल कार्यालय सार्वजनिक स्थलमा चिनेका वा नचिनेका व्यक्तिबाट २ मिटर टाढा बस्न र सकेसम्म घरबाहिर नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
यस्तै सरकारले कोरोना महामारी फैलिएको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो।
यस्तै कोभिड - १९ निदानका लागि लागि गरिँदै आएको र्यापिड डाइअग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण नगर्ने मन्त्रालयले जनाएको छ। यसबारे प्रदेश, स्थानीय सरकार तथा अस्पताललाई जानकारी गराइ सकिएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार आइतबार थप २४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने २११ जना डिस्चार्ज भएका छन्।यस्तै हालसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ।आइतबार थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।