जुनसुकै कारण भए पनि त्यसरी कुटपिट गर्नु अपराध नै हो’

जुनसुकै कारण भए पनि त्यसरी कुटपिट गर्नु अपराध नै हो’

काठमाडौं : एक नेपाली कामदार निर्घात कुटिएको भिडियो केही दिनअघि भाइरल बन्यो। त्यसपछि वैदेशिक रोजगारीलाई लिएर अनेक टीकाटिप्पणी भए। मलेसियास्थित नेपाली राजदूतावासले उक्त घटनाका पीडित र पीडक दुवै नेपाली नै भएको जनाएको छ।

उक्त घटना क्वालालम्पुरस्थित एमथ्री मलमा ७ जुलाईमा भएको राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा जनाइएअनुसार नवलपरासीका इस्लाम हुसेनलाई कपिलवस्तुका गोमाल मुराउले कुटेका हुन्। दुवै जना त्यहाँको अध्यागमन कानुनअनुसार अवैधानिक अवस्थामा काम गर्ने गरेको खुलेको छ।

भिडियोबारे ३० जुलाई मध्यरातमा जानकारी आउनासाथ राजदूतावासले छानबिन थालेको थियो। उसले सुरक्षागार्डसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीको छाता संगठन पीआईकेएममार्फत अनुसन्धान गरेको जनाइएको छ। पीआईकेएमले ३१ जुलाईमा प्रहरीमा उजुरी दर्ता गरेको थियो। राजदूतावासले घटनाको सूचना उपलब्ध गराउन सबैमा आह्वान गरेको थियो।

सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरू रहेको स्वीकार गरिसकेको दूतावासले दाबी गरेको छ। क्वालालम्पुरको वाङ्सामाजुस्थित प्रहरीले घटनाको थप अनुसन्धान गर्ने भएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने राजदूतावासको विज्ञप्तिलाई विश्वास गर्न नसकिने जनाएको छ। संघका महासचिव सुजितकुमार श्रेष्ठले नेपालीलाई कुट्ने व्यक्ति नेपालीजस्तो नदेखिने बताए।

‘जो भए पनि कामदार कुट्नेलाई कारबाही गर्नै पर्छ’, उनले अन्नपूर्णसँग भने, ‘यसबारे हामीले पनि अनुसन्धान थालेका छौं।’ कम्पनीको बदमासी देखिए कालोसूचीमा राखी कामदार नपठाउने संघले जनाएको छ।

आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार नेपालीबाटै ठगिने, कुटिने गरेको बताए। यस्ता घटनाले सोझासाझा नेपाली थप हैरानीमा पर्ने गरेको उनको भनाइ छ। ‘नेपालीहरू समूह–समूह भई झगडा गर्ने, ज्यान लिन पनि पछि नपर्ने प्रवृत्ति बढ्दै गएको छ’, अनुसन्धानकर्ता नेपालले भने, ‘त्यसका पछाडि जतिसुकै कारण भए पनि कुटपिट गर्नु अपराध नै हो।’

उनका अनुसार विदेशमा नेपालीहरू एकले अर्काको खुट्टा तान्छन्। पाइलापिच्छे ठग्न खोज्ने प्रवृत्ति बढ्दै गएको छ। वैदेशिक रोजगारीका नाममा आर्थिक शोषणमा पर्नुका साथै मानव बेचबिखन पनि हुने गरेको उनले बताए। ‘नेपालीहरू व्यक्तिगत भिसाका नाममा चरम आर्थिक शोषणमा परेका छन्’, उनले भने।

वैदेशिक रोजगार ऐनले एजेन्ट खारेज गरेको छ। तर, एजेन्टबाटै स्वदेशदेखि विदेशी भूमिसम्म नेपालीहरू ठगिँदै आएको अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.