घट्यो गाईजात्राको क्रेज

घट्यो गाईजात्राको क्रेज

काठमाडौं : आज गाईजात्रा। यस वर्ष कोरोना महामारीले लकडाउन खुकुलो नभएका कारण नेपाल प्रज्ञा–प्रतिष्ठान अनि राष्ट्रिय नाचघरको सभाहलमा गाईजात्राका अवसरमा हुने कुनै कार्यक्रम भएनन्।

पहिले टिकट नपाउँदा उभिएर गाईजात्रा सो हेर्ने अवस्था पछि पातलिँदै गयो। यो वर्ष त लकडाउन बहाना भयो। तर गाईजात्राको क्रेज पछिल्ला केही वर्षयता घट्दै गएको छ। २०३४ सालबाट गाईजात्रे कार्यक्रममा देखा परेका हास्यकलाकार हरिवंश आचार्य गाईजात्राको क्रेज घट्दै गएको स्वीकार्छन्। ‘पहिले टीभीको चलनै थिएन। हाँस्ने कार्यक्रम हेर्न दर्शक यही गाईजात्रा कुरेर बस्थे’, आचार्य भन्छन्, ‘अब त प्रविधिको जमाना आयो। युट्युबमा अपलोड गरिएका पहिलेका गाईजात्रे कार्यक्रम जति बेला नि हेर्न सकियो। हिन्दी च्यानलदेखि यहीँकै टीभीमा कमेडी च्याम्पियन कार्यक्रम हुन थालेपछि गाईजात्राका अवसरमा गरिने कार्यक्रममा दर्शकको क्रेज घट्नु स्वाभाविक हो।’

हास्यकलाकार मदनकृष्ण श्रेष्ठको विचारमा पनि गाईजात्रे कार्यक्रमको क्रेज घट्दै गएको छ। ‘हाम्रो पालामा हास्यव्यंग्यका लागि गाईजात्रा कुनुपथ्र्यो। टीभी थिएन, एफएम थिएन। भएको एउटा रेडियो नेपालमा सामान्य हाकिमको विरोध समेटिएको कार्यक्रम गर्न पनि रेडियोका निर्देशकको खुसामद गर्नुपथ्र्यो’,   श्रेष्ठ भन्छन्, ‘रेडियोमा पनि गाह्रो भएपछि गाईजात्रे अडियो क्यासेट निकाल्न सुरु गर्‍यौं। हामीले हास्यव्यंग्यको प्लेटफर्म बनायौं। अहिले त जति पनि प्लेटफर्म छन्। यही धेरै प्लेटफर्मले पनि गाईजात्रे कार्यक्रमको क्रेज घट्यो।’

गाईजात्रा कार्यक्रमले नपुगेर मह जोडीले कुनै समय सदाबहार रूपमा ‘भाइजात्रा’ कार्यक्रम पनि गरे। तर अब मह जोडीलाई नयाँ गाईजात्रे कोसेली दिने जाँगर छैन।   श्रेष्ठ भन्छन्, ‘पहिलेकै कार्यक्रमको ब्याजले पुगिरा’छ। किनभने प्रायः सबै कुरा पुरानै छ। देशमा भ्रष्टाचार उस्तै छ। राजनीतिक गोलमटोल उस्तै छ। दुई तिहाइको सरकार भएपछि देश विकास होला भनेको, कुर्सी तानातानको प्रवृत्ति उस्तै छ। महँगीको कुरा गरिसाध्य छैन। मेलम्चीको पानी अब त आउला भनेको झन् झन् टाढा भइरा’छ। यसरी इस्यु सबै पुरानै भएपछि नयाँ हास्यव्यंग्य के गर्नु ? ’

सिस्नुपानी नेपालले गाईजात्रामा मात्रै होइन, तिहारमा देउसी खेल्दा पनि व्यंग्य गर्छ। सिस्नुपानी नेपालका सदस्यसमेत रहेका नेपाल संगीत प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता थिएन। गाईजात्रामा कलाकारको मुखबाट नेताहरूको कर्तुत विस्फोट हुन्थ्यो। त्यस बेला दर्शकलाई लाग्थ्यो, ओहो यो पो हो त मन आनन्दित पार्ने प्रस्तुति।’ प्रेमर्षिलाई लाग्छ, सामाजिक सञ्जालले धेरै विषय छताछुल्ल पारिसक्ने हुँदा अबका गाईजात्रामा कलाकारका प्रस्तुति बासी लाग्छ। यस्तोमा गाईजात्रे कार्यक्रमको क्रेज कहाँबाट हुनु ? ’

गाईजात्राका अवसरमा यस वर्ष धेरै कलाकारको प्रस्तुति युट्युबमा आएको छ। यस अवसरमा ‘ब्रान्डवर्थ प्रालि’ले आगामी बिहीबारसम्म आईएमई २०७७ सालको गाईजात्रा कार्यक्रम प्रस्तुत गरिरहेको छ। साँझ ८ बजे एपीवान टेलिभिजनमार्फत प्रस्तुत भइरहेको कार्यक्रममा धेरै कलाकार नयाँ छन्।

गाईजात्रा किन ?     

नेवार अर्थात् नेपाल भाषामा ‘सा पारु’को अर्थ गाईजात्रा हो। नेवार समुदायको पर्व मानिने गाईजात्रा वर्षभरि निधन भएका आफन्तजनको सम्झनामा मनाइने चाड हो। पद्मपुराणअनुसार भाद्रकृष्ण प्रतिपदाका दिन यमलोकको मुख्य द्वार खुला रहन्छ। सो दिन दिवंगत हुनेहरू कुनै बाधा अवरोधबिना यमलोकमा प्रवेश पाउँछन्। यही पौराणिक मान्यताअनुसार नेवार समुदायले यो चाड भदौको कृष्ण पक्ष प्रतिपदाका दिन मनाउँछन्।

यो दिन मृतात्माको स्मरण गरी गाईलाई नगर परिक्रमा गराउँदै दान–दक्षिणा गरे मृत व्यक्तिहरूले सोही गाईको पुच्छर समातेर वैतरणी तर्न सक्छन् भन्ने विश्वास छ। यही विश्वासका आधारमा नेवार समुदायले गाईजात्रा मनाउन थालेको भनाइ छ।

राजा प्रताप मल्लले छोराको मृत्युमा शोकमा रहेकी रानीलाई खुसी पार्न गाईजात्राको चलन चलाएपछि यसले व्यापकता पाएको किंवदन्ती पनि छ। शोकसन्तप्त परिवारमा खुसी ल्याउन गाईजात्राका अवसरमा हास्यव्यंग्य कार्यक्रम गरिन्छ। हास्यव्यंग्य कार्यक्रम जोडिएपछि यो नेवार मात्र होइन, आमनेपालीको पर्वझैं भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.