दबाब बढाउँदै निधि

दबाब बढाउँदै निधि

काठमाडौं : साउन पहिलो साता कांग्रेस उपसभापति विमलेन्द्र निधि महामन्त्री डा. शशांक कोइरालालाई भेट्न महाराजगन्जस्थित निवास पुगे। निधिले महाधिवेशनमा सभापति पदका लागि तयारी गरिरहेको र सहयोग माग्न आएको बताउँदा कोइराला झसंग भए। ‘आउनेबित्तिकै उहाँले सभापतिमा सहयोग गर्नुपर्‍यो भन्नुभयो। शेरबहादुरजीले पनि सभापतिमा दोहोरिने तयारी गरिरहँदा उहाँकै टिमका निधिजीले पनि सभापतिमा उठ्ने बताउँदै सहयोग माग्दा म छक्क परें।’

उपसभापति निधि सभापति देउवाका विश्वासिला पात्र हुन्। गुटमा मात्र नभई कांग्रेसमा देउवाको उत्तराधिकारीका रूपमा निधि चिनिन्छन्। कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति निधि पनि सभापति पदका आकांक्षी हुन्। उनले सार्वजनिक रूपमै सभापतिमा उम्मेदवारी दिने घोषणा नगरे पनि आन्तरिक तयारी भने तीव्र बनाएका छन्।

‘अहिलेको सरकार संघीयता, समावेशिता र लोकतन्त्रलाई कमजोर बनाउन सक्रिय छ। सरकारले नेपाललाई एकदलीय व्यवस्थातर्फ लैजान खोजिरहेको छ ,’ निधिले भने, ‘यसलाई रोक्न पनि बलियो कांग्रेस आवश्यक हुन्छ। मैले यिनै सोचका साथ नेताहरूसँग छलफल र परामर्श गरिरहेको छु।’

विद्यार्थी राजनीतिदेखि निधिले देउवालाई बलियो साथ दिँदै आएका छन्। १३ औं महाधिवेशनमै देउवाले अर्काे पटक निधिलाई सभापतिमा सहयोग गर्ने वचन दिएको कतिपय कांग्रेस नेता बताउँछन्। तर देउवाले सभापतिमै दोहोरिने चाहना राखेपछि पार्टीको नेतृत्व गर्ने निधिको चाहनामा चुनौती थपिएको छ। निधि महाधिवेशनसम्मै आफ्नो तयारीलाई अगाडि बढाउने र संस्थापनभित्रै आफ्नो पक्षमा माहोल बढाउँदै लैजाने पक्षमा छन्।

सभापतिमा उम्मेदवारी दिनेबारे अन्नपूर्णसँगको कुराकानीमा उपसभापति निधिले ठोस जवाफ नदिए पनि महाधिवेशनले कांग्रेसलाई आगामी आमनिर्वाचनमा जिताउने हैसियतमा पुर्‍याउनुपर्ने र आफ्नो प्राथमिकता पनि यही भएको बताए।

‘महाधिवेशन केवल नेतृत्व परिवर्तन मात्र होइन, यसले पार्टीको स्पष्ट राजनीतिक एजेन्डा तय गर्न सक्नुपर्छ,’ उनले भने, ‘कांग्रेसलाई आमनिर्वाचनमा जिताउने वातावरण र हैसियत बनाउनुपर्छ।’ साथै उनले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

कांग्रेसको पहिलो पुस्ताका एवं प्रभावशाली नेता महेन्द्रनारायण निधिका पुत्र हुन्, विमलेन्द्र। विमलेन्द्रको राजनीतिक उडानमा विरासतको भन्दा आफ्नै संघर्षलाई प्रमुख कारण मान्ने धेरै छन्। २०२७ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका निधि २०३६ सालमा २३ वर्षको उमेरमै संघको केन्द्रीय अध्यक्ष बने। सुरुमा बीपी नजिक भए पनि उनको निधनपछि निधिले कृष्णप्रसाद भट्टराई (किसुनजी) को लाइन समाते।

निधि कांग्रेसभित्र मधेसमा राम्रो प्रभाव भएका नेता हुन्। २०६२/६३ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसका प्रभावशाली मधेसी नेता महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायतले पार्टी छोड्दासमेत निधि विचलित भएनन्। पार्टी फुटाउनेदेखि देउवालाई सभापति बनाउनेसम्म निधिको सहयोग महत्वपूर्ण रह्यो। देउवा सभापति बनेपछि पनि निधिले विवाद मिलाउनेदेखि नेतृत्व तहमा संवादको वातावरण निर्माण गर्ने काम गर्दै आएका छन्। 

‘हाम्रो टीममा सभापतिपछि त्यो हाइट भएको अर्काे नेता छैन र उहाँ विद्यार्थी राजनीतिदेखि आजका दिनसम्म सभापतिज्यूसँगै हुनुहुन्छ,’ नेविसंघको पूर्वअध्यक्षसमेत रहिसकेका कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘उहाँको सभापतिमा दावेदारी स्वभाविक हो । यसले मधेशमा गुमेको जनमत फर्काउन ठूलो सहयोग पुग्छ ।’ तर उनी सभापति देउवासँग भेटेरै आफ्ना कुरा राख्न सुझाव दिन्छन् ।  सभापतिमा दोहोरिने देउवाको इच्छा बुझेका निधी दबाब बढाउँदै लैजाने रणनीतिमा छन्। उनले उम्मेदवारी दिने कुरामा पार्टी सभापतिसँगको छलफलपछि मात्रै निर्णयमा पुग्ने बताए। ‘अहिले म आफ्नो एजेण्डालाई लिएर साथीहरुसँग छलफलमा छु । जहाँसम्म सभापतिमा उम्मेदवारी दिने कुरा छ, पार्टी सभापतिसँगको छलफलपछि मात्रै निर्णयमा पुग्छु,’ उनले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.