बढीमालिकाबाट फर्किए तीर्थालु
कालिकोट : मध्य तथा सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक तथा पर्यकीयस्थल मानिने बढीमालिकाको दर्शन गर्न एक साताअघि गएका तीर्थालु पुजापाठ गरेर फर्किएका छन् । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन मनाइने धार्मिक मेला आइतबार पवित्र धाम त्रिवेणीमा स्नान गरी बढीमालिका माईको दर्शन तथा पुजापाठ गरी तीर्थालुहरु सोमबार घर फर्किएका हुन् ।
बढीमालिकामा कालिकोट, जुल्ला, मुगु, हुम्ला, बाजुरा, अछाम डोटी डडेलदुरा, बझाङ, कैलाली, दार्चुला, कञ्चरपुर, सुर्खेत लगायत विभिन्न ठाउबाट तीर्थालुहरु दर्शन गर्न आउने गरेका छन् । त्यहा आउने भक्तजले दर्शन गर्नु पूर्व त्रिवेणी धामको पवित्र जलमा स्नान गरी, पाप पखाल्ने र एक बास त्रिवेणीमै बसेर शुद्ध मन लिएर बढीमालिका पूजा गर्न जाने परापुर्वकालदेखिको चलन रहेको छ।’
बढीमालिका माईको दर्शन गर्नाले मनले मागेको कुरा पूरा हुने धार्मिक विश्वास रहेको पाइन्छ । बढीमालिका मन्दिरको धार्मिक महत्व मात्र नभई १४० भन्दा बढी जातका फूल, सयौँ जातका जडिबुटी, ७० भन्दा बढी प्रकारका चरा पाइन्छ । ६ महिना घोडा भेडाहरु चराउनका लागि उपयुक्त चरिचरन क्षेत्र, २२ वटा घाँसे मैदान, तीन वटा नदीको संगम रहेको पवित्र धाम त्रिवेणी त्यही पर्छ । थुप्रै ठाउँ नियाल्न सकिने अग्ला–अग्ला हिमश्रृंखलाहरुले तीर्थालुको मन लोभ्याउने गर्छ ।
पर्यटकीय महत्वको गहना बढीमालिका र त्रिवेणी पाटनको विकासका लागि सरकारी पहल भएको छैन । बढीकालीका लगायत अन्य मन्दिरमा दर्शनार्थीले सुना चाँदी र अन्य बहुमूल्य गरगहना चढाउने गर्दछन् तर ती सामान सरकारी ढुकुटीमा गएको देखिँदैन । मध्य तथा सुदूरपश्चिमका अधिकांश जिल्लाबाट तीर्थालुहरु जाने बढीमालिकामा कालिकोट, बाजुुरा लगायतका जिल्लाका व्यक्तिले भेडा, बाख्रा, घोडा लगायतका चौपाया लराउन लानुका साथै गर्नुका साथै जडिबुटि पनि संकलन गर्ने गरिन्छ ।