नर्समा कोरोना पुष्टि, धौलागिरी अस्पतालको ओपिडी सेवा बन्द
बागलुङ : धौलागिरी अस्पताल बागलुङमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचारमा खटिएका २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालले बहिरंग बुधबारदेखि (ओपिडी) सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि थप स्वास्थ्यकर्मी र सर्वसाधारणमा कोरोना फैलिन नदिन र कन्ट्रयाक्ट ट्रेसिङमार्फत स्वाब संकलन गर्नका लागि अर्को सूचना जारी नभए सम्मका लागि ओपिडी सेवा बन्द गरिएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि.क. पोखरेलले जानकारी दिए।
प्रिआइसोलेसनमा दुई नर्स खटाइएकोमा एक जनामा सामान्य ज्वरो र रुघा देखिएकाले स्वाब संकलन गरिएको र उनमा कोरोना देखिएको डा.पोखरेलले बताए। ‘स्वास्थ्यकर्मीमै कोरोना देखिएपछि हामीले तत्काल नर्सलाई अस्पतालको आइसोलेसनमा राखेका छौ’ उनले भने, ‘अब नियमित आइसोलेसनमा जाने चिकित्सक लगायतको पनि तत्काल स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउँछौ।’
धौलागिरी अस्पतालले नेपालको पाँचौ र छैठो संक्रमितदेखि हालसम्म २ सय बढीको उपचार गरेपनि उपचारमै खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थिएन। यसअघि बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहेका एक ५२ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी क्वारेन्टाइनमा स्वाब संकलन गर्ने, आइसोलेसनमा उपचारमा खटिने गरेका थिएनन्।