६ लाखको सुर्ती बरामद
परासी : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ६ लाख बराबरको पाते सूर्ती बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याएको १५ सय केजी सूर्ती लुकाएर राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले बताए। ६० वटा बोरामा राखिएको सूर्ती पाल्हीनन्दन गाउँपालिकाको चमनटोलाको खेतबाट बरामद गरिएको केसीले जानकारी दिए।
कारोबारमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। बरामद सूर्ती आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ।
कोरोना संक्रमणका कारण सीमा क्षेत्रको आवतजावतमा पूर्णरुपमा रोक लगाइए पनि दुवै देशतर्फ हुने अवैध कारोबारमा भने कमि आउन सकेको छैन्। पछिल्लो पटक भारतबाट लत्ताकपडा, मोटर पार्टस र सूर्तीजन्य वस्तुको नेपाल तर्फ चोरी निकासी हुने गरेको छ। नेपालबाट भने भारततर्फ मटर(केराउ)को अवैध कारोबार हुने गरेको छ। प्रहरीले हरेक दिनजसो ३ देखि ४ लाखसम्मको मटर भारत लैजाने क्रममा बरामद गर्ने गरेको छ।