नौ बैंक कर्मचारीसहित २१ जनामा कोरोना पुष्टि
कपिलवस्तु : सदरमुकाम तौलिहवामा ९ जना बैंक कर्मचारीसहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकमा गरिएको स्वाब परीक्षणको रिर्पोट अनुसार ९ जना बैंक कर्मचारी, ३ जना गैससकर्मी, २ जना शिक्षक, २ जना स्वास्थ्यकर्मी, २ जना मेडिकल संचालक र १ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको हो।
ग्लोबल आइएमई बैंक, मेगा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सका कर्मचारीमा संक्रमण देखिएपछि सो वित्तीय संस्था आजबाट अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि बन्द गरिएका छन्।
बैंक कर्मचारीमा गरिएको यो नमूना परीक्षणमात्र रहेको स्वास्थ्य कार्यालयले बताएको छ। संक्रमित भेटिएका बैंक कर्मचारी कार्यरत वित्तिय संस्था र उनको घर परिवारलाई समेत अब कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।