पार्टी प्रवेशीको मनोविज्ञान

पार्टी प्रवेशीको मनोविज्ञान

राजनीतिक पार्टीहरूमा दलबदललाई कुनै नौलो घटना मानिन्न। राजनीतिक कार्यकर्ताले अघोषित रूपमा या नेताहरूले घोषित रूपमा आफ्नो पार्टी परिवर्तन गर्नु प्रजातान्त्रिक वा लोकतान्त्रिक व्यवस्थाको नैतिक चरित्र नै हो। यद्यपि कतिपय ससाना पार्टीमा देखिने यस खालका चरित्रलाई सामान्य मानिए पनि ठूला र मुख्य पार्टीका हकमा भने यसलाई महत्वका साथ हेर्ने गरिन्छ। यस क्रममा प्रायः आफूखुसीले आफ्नो पार्टी छाडेर अर्को पार्टीमा प्रवेश गर्नेहरू देखिन्छन् भने पार्टीबाट निस्कासनमा परेर दोस्रो पार्टी अपनाउनेहरू पनि धेरै हुन्छन्। पर जानै पर्दैन, छिमेकी मुलुक भारतको राजनीतिक घटनाक्रममा यस्ता परिदृश्य निकै देखिएका छन्। तर अहिले यहाँ प्रसंग जोड्न खोजिएको छ हाम्रै देशको।

भर्खरै मात्र जननिर्वाचित पूर्वसांसद एवं मन्त्रीसमेत भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता सुनिलबहादुर थापाले आफ्ना दर्जनौं सहयोगीका दलबलसहित नेपाली कांग्रेसमा प्रवेश गरे। थापाको हठात् यो नयाँ पार्टी प्रवेशले स्वयं राप्रपा मात्रै होइन, नेपाली कांग्रेसमै पनि ठूलो तरंग ल्याइदिएको छ। वास्तवमा राप्रपाका निम्ति त यो सामान्य घटना हुँदै होइन। किनकि थापाको व्यक्तित्वले राप्रपाभित्र एउटा महत्वपूर्ण हैसियत राख्थ्यो। एक त, सूर्यबहादुर थापाको नामसँग उनको नाम जोडिएको छ। अर्को, उनै बाबुले स्थापना गरेको पार्टी, जुन पार्टीको टिकटबाट उनले चुनाव जितेका थिए– त्यही पार्टी परित्याग गरेका छन्। तर उनले किन छाडे राप्रपा ? प्रश्न उठ्नु स्वाभाविक छ। सरसर्ति हेर्दा यसमा विभिन्न कारण देखिन्छन्। पहिलो– देशको बदलिँदो परिस्थितिसँग राप्रपा घुलमिल हुन नसकेको अर्थात् लोकतान्त्रिक तरिकाले पार्टी चल्न नसकेको थापाको आरोप छ। त्यसभन्दा पनि मुख्य कुरो, पार्टीसँगको उनको अर्को एउटा नमीठो चित्त दुखाइ छ, ‘राप्रपाले यसका संस्थापक सूर्यबहादुर थापालाई बिर्सेको छ। उहाँको ‘ट्र्याक’ छाडेको छ। कतिसम्म भने पार्टीको कुनै पनि औपचारिक कार्यक्रमका ब्यानरमा उहाँको तस्बिर राखिन्न। उहाँको फोटोमा माल्यार्पण गरिन्न। उहाँमाथिको यस्तो व्यवहारले उहाँको हदैसम्मको तिरस्कार र अपमान भएको मैले महसुस गरेंं।’

अब यहाँ प्रश्न उठ्छ– के सुनिलबहादुरले राप्रपा परित्याग गर्नुको कारण यही नै हो ? एकछिनलाई मानौं, यही सत्य हो। तर, कुनै पनि नेताले खास गरेर सुनिलबहादुरले राप्रपा छाड्दैमा नेपाली राजनीतिमा किन यस्तो हलचल ? के सूर्यबहादुरकै छोरा हुनुको कारणले मात्रै हो त यस्तो भएको ? हैन भने प्रजातान्त्रिक व्यवस्थामा पार्टी त्याग र पार्टी प्रवेशका घटना त भई नै रहन्छन्। किन उनको सन्दर्भमा मात्रै यस्तो प्रश्न उठिरहेछ ? तर वास्तवमा यो ठूलो प्रश्न हुँदै होइन। प्रश्न त यो हो– राप्रपा छाडेर अर्को पार्टी प्रवेश गर्दा उनले किन कांग्रेस नै रोजे ? जब कि कांग्रेस पार्टीभित्र यो प्रश्न छताछुल्ल भएको छ, जुन सूर्यबहादुर थापाले जनमतसंग्रहमा साम, दाम, दण्ड, भेद प्रयोग गरेर बहुदल हराउने खेल खेले। भनिन्छ– झेलपूर्ण खेल खेले।

अझ त्यसभन्दा अघि बढेर निर्वासनबाट जोखिमयुक्त ‘राष्ट्रिय मेलमिलापको नीति’ लिई आउने बीपी कोइरालालाई ‘फाँसी दिनुपर्छ’ को मुख्य पक्षधर थिए उनी। उनैका खुद छोरा हुन् सुनिलबहादुरलाई पार्टीमा रातो कार्पेट ? कुरो यतिमै मात्र सीमित छैन। पार्टी प्रवेशको भित्री अन्तर्यमा उनलाई कांग्रेसको महत्वपूर्ण पद दिइने बुँदा रहेको छ भन्ने करिब–करिब सबैले बुझिसकेका छन्। यो स्थितिमा कांग्रेसभित्रका कतिपय नेता र कार्यकर्तामा असन्तोषले जरा गाडेको र त्यसैका कारण आन्तरिक किचलो बढ्ने प्रचुर सम्भावना छँदै छ। त्यसै त, आगामी महाधिवेशनमा जुटेको कांग्रेसभित्र सभापतीय ‘घर झगडा’ कायम छ। यस्तोमा नयाँ नेता, त्यो पनि परम शत्रु मानिएका नेताको वंश प्रवेशले कांग्रेसमा थपिन सक्ने अप्ठेरो ‘खाँटी कांग्रेस’ का लागि कसरी मान्य हुन सक्ला ?

देख्दा गौणजस्तो देखिए पनि यहाँनिर ‘पोइन्टेड’ हुन आवश्यक देखिन्छ। जस्तो कि यहाँ जिज्ञासाहरू हुन सक्छन्– सुनिलबहादुरले आफूखुसी रोजेर कुनै पनि राजनीतिक पार्टीमा समावेश हुने उनीसँग मौलिक अधिकार छैन ? अथवा, सूर्यबहादूरको राजनीतिक कर्मको वंश परम्परा कायम राख्ने उनले क्षमता राख्दैनन् ? सूर्यबहादरको राजनीतिक विचारलाई नै उनले अपनाइराख्नुपर्छ भन्ने केही छ ? के बाबुको भन्दा फरक छोराको मत हुन सक्दैन ? अर्को शब्दमा, पञ्चायतका पक्षधरले के आफ्नो कित्ता परिवर्तन गर्नै पाउँदैनन् ? जब कि २०४६ को जनआन्दोलनलाई समर्थन गर्न आएका चन्द्रशेखरलगायतका भारतीय राजनीतिज्ञहरू, जो बानेश्वरस्थित एभरेस्ट होटेलमा बसेका थिए, उनीहरूविरुद्ध कालो झन्डा उठाएर विरोध गर्न पुगेका कतिपय ‘चैते कांग्रेसहरू’ अहिले पनि नेपाली कांग्रेसका नाममा छाती खोलेर खुला राजनीति गरिरहेको नदेखिएको हो र ? यहाँ यति मात्रै भन्न के खोजिएको भने घरमा कोही कसैका छोरा होलान्, समाजमा उनकै आमा–बाबुको परिचयले चिनिएका होलान्। तर जब देशको प्रसंग आउँछ र देशमा राजनीतिको कुरो आउँछ, त्यहाँ ‘निजत्व’ ले केही अर्थ राख्दैन।

आफ्नो पार्टी परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने जोसुकैको मनोविज्ञान हेर्दा के बुझिन्छ भने उसले केही न केही नयाँ योजना बुनेको हुन्छ। फरक यत्ति हो कि त्यस्तो योजना केवल व्यक्तिगत फाइदाका लागि हो कि पार्टीका लागि ?

यतिबेला सुनिलबहादुर केवल सूर्यबहादुर–पुत्र होइनन्, अलग्गै व्यक्तित्व हुन्। करो यत्ति मात्रै हो, कसैको छोरा भएरै बाबुका नाममा राजनीति गर्ने हो भने त्यो पक्कै पनि ‘अराजनीति’ हो। र, यस्तो अराजनीति गर्ने हो भने राणाशासन थिँदै थियो, राजतन्त्रमै पनि त्यो दोष छँदै थियो। फेरि प्रजातन्त्र किन चाहिएको ? लोकतन्त्र–कथित गणतन्त्रको आवश्यकता नै किन परेको ? साँचो लोकतन्त्र हो भनेर भन्ने हो भने कसैको इतिहास हेरेर वर्तमानमा त्यसको मूल्यांकन गरिनुलाई पर सार्न पटक्कै मिल्दैन। तर त्योभन्दा पनि यतिखेरको समयमा उसले के गरिरहेको छ ? त्यो महत्वको कुरो हो। होला, कांग्रेसमा नयाँ मान्छेको प्रवेशले आगामी महाधिवेशनलाई प्रभाव पार्ला। झन् गुटगत राजनीति भइरहेको सन्दर्भमा सभापतिका प्रत्याशीका आँखा नवप्रवेशीमा पर्न जानुलाई अन्यथा मान्न सकिन्न। त्यसमाथि सुनिलबहादुर थापालाई त ‘शक्तिशाली तुरूप’ मानिएकै छ। उनीजस्ता व्यक्तित्वलाई सीधै केन्द्रीय सदस्यमा मनोनीत गरेर आफ्नो पार्टीमा प्रवेश भएको पाउनुलाई अधिकांशतः कांग्रेसीजनले उपलब्धि मानेकै हुनुपर्छ।

हुन त राप्रपाका वरिष्ठ नेताहरूले सुनिलबहादुरको पार्टी परित्यागलाई उनले आफ्नो राजनीतिक विरासतमाथि घात गरेको ठहर्‍याएका छन्। कतिपयले त उनलाई मौकापरस्त राजनीति गरेको आरोप पनि लगाएका छन्। यो अलग्गै कुरो हो कि, यस्तो आरोपलाई भूmट साबित गर्न उनले कांग्रेसभित्र भोलि कस्तो राजनीति भूमिका निर्वाह गर्लान्, त्यसमै भर पर्छ। जोखिम भने छँदै छ कि उनी कांग्रेसभित्र कसको ‘प्यारा’ भएर रहने हुन् ? भन्न त उनले भनेका छन्– म कांग्रेसभित्र गुटको राजनीति गर्न प्रवेश गरेको होइन, मैले आफूलाई कुनै विशेष नेतानिकटका नमानेर सिंगो कांग्रेस मानेको छु।

कांग्रेसको लोकप्रियता अधोगतिमा झरिरहेको बेला देशले राजनीतिक संकट भोगिरहेको र अन्तर्राष्ट्रिय सम्बन्धसमेतमा विचलन आएको सन्दर्भमा उनको कांग्रेसप्रवेशले निकै ठूलो अर्थ राखेको छ। त्यो यस मानेमा कि मूलतः परराष्ट्र विषयमा उनी निकै जानकार मानिन्छन्। त्यसो त, आफ्नो पार्टी परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने जोसुकैको मनोविज्ञान हेर्दा के बुझिन्छ भने उसले केही न केही नयाँ योजना बुनेको हुन्छ। फरक यत्ति हो कि त्यस्तो योजना केवल व्यक्तिगत फाइदाका लागि हो कि पार्टीका लागि हो ? यस सन्दर्भमा अलिक भिन्न धारणा यो– नयाँ पार्टीप्रवेशीले आफू र आफ्नो पार्टीबाट माथि उठेर सिंगो देशको निमित्त राजनीति गर्न सक्ने विचार आफ्नो दिल–दिमागमा राख्न सक्ला ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.