कांग्रेसको भविष्य र संरचना
चौधौं महाधिवेशनबाट पनि कांग्रेसले नयाँ र सक्षम नेतृत्व पाएन भने नेतृत्व लिन आतुर युवा पुस्ता १० वर्षपछि धकेलिनेछ।
रामराज शर्मा/सौगात गौतम
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउँदो फागुनमा पार्टीको चौधौं महाधिवेशन गर्ने निर्णय गरेको छ। तैपनि कोरोना, फेरि पार्टी कब्जा गर्ने नेतृत्वको सोच र सत्ताधारी दलभित्रको उथलपुथलका कारण समयमै होला भन्नेमा अझै आशंका छ। वेटिङ इन गभरमेन्ट भनिने प्रमुख प्रतिपक्षले आवधिक चुनावलाई लक्ष्यित गरेर आफ्नो नेतृत्व, एजेन्डा र संगठन निर्माणका काम सोहीअनुरूप गर्नुपर्ने हो तर कांग्रेस यी तिनै विषयमा चुकेको छ। कोरोना कहरले विश्वभरि नै लोकतन्त्रमाथि प्रहार गर्ने निश्चित जस्तो छ— असफल नेतृत्वलाई आफ्नो शासन लम्ब्याउने कोरोना बहानाले। यो बहाना प्रतिपक्षी दलका नेतालाई पनि लागू हुने देखिएको छ।
ओली सरकारले ठोस परिणाममा होइन गफमा जनतालाई झुलाइरहेको छ। कोरोना संकट नियन्त्रण गर्न कुनै प्रभावकारी कदम चाल्न सकेको छैन। बरु भ्रष्टाचार गर्ने मौकाका रूपमा प्रयोग गरेको, दसबर्से माओवादी युद्धमा समेत तहसनहस नभएको अर्थतन्त्र केही महिनामै ध्वस्त पारेको, भ्रष्टाचारले आकाश छुने अवस्थामा पुग्दै सुशासनको धज्जी उडाइरहेको, वैदेशिक नीति खल्बलाएको र लोकतन्त्रका मर्ममा प्रहार गरिरहेको अवस्थामा पनि प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले आफ्नो प्रभावशाली उपस्थिति देखाउन सकिरहेको छैन। बरु स्वतन्त्र युवा, केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारलाई झक्झकाउने काम गरिरहेका छन् र सरकार उनीहरूसँग तर्सिएको छ।
चुकेको प्रतिपक्ष
चुनावपछि नेकपाको सरकार निर्माण हुनेबित्तिकै गरिएका राजनीतिक विश्लेषणमा कांग्रेस र यसका नेता–कार्यकर्ताका मनोबल गिर्ने र कांग्रेसको राजनीतिक सक्रियता घटेर जाने अनुमान गरिएको थियो। त्यसका कारणमध्ये लगभग दुईतिहाइको केन्द्र सरकार, प्रदेश दुईबाहेक अन्यमा नेकपाकै प्रदेश सरकार र स्थानीय तहमा उनीहरूकै वर्चस्व। हुन पनि नेपाली राजनीतिको विशेषता नै स्रोतको पहुँचभन्दा टाढा हुनेलाई सक्रिय राजनीति गर्न गाह्रो छ।
यस्तो अवस्थामा नेकपाले व्यापक विकासका कार्यक्रम ल्याउने छ, छिमेकी देशहरूसँगको सम्बन्धमा व्यापक सुधार गर्दै चिनियाँ सहयोगको ठूलो मात्रा भित्रिने छ, भ्रष्टाचार निर्मूल हुनेछ, देशमा राजनीतिक स्थिरताको सुरुवात हुनेछ र समृद्धिको मार्गमा देशलाई नेकपाले डोर्याउने छ भन्ने अनुमान थियो। तर तीन वर्ष पुग्दै गर्दा यी सबै अनुमान गलत साबित भइसकेको छ। नेकपाले देशलाई समृद्धिको मार्गमा होइन, भ्रष्टाचारको दलदलमा फसाउने रहेछ भन्ने जनताले बुझिसके।
यसरी तीनै तहका सरकार निकम्मा भएकाले कांग्रेसको मनोबल त खासै गिरेन, तर सत्तापक्षका गलत क्रियाकलापको पर्दाफास गर्दै आफूले राजनीतिक फाइदा पनि लिन सकेन। कांग्रेस यथास्थितिमै गुटगत राजनीतिमा रमाइरह्यो। नेकपाले ध्यान भड्काउन अनेक सामग्री दिँदै गयो भने कांग्रेस त्यसकै वरपर दौडिरह्यो। त्यसको उदाहरण हो– हालै नेकपाभित्रको किचलोमा कांग्रेसको चासो। संसद् डेढ महिनादेखि बन्द छ भनिन्छ। संसद् प्रतिपक्षको हो तर यसलाई सुचारु गराउन कांग्रेसले ठोस पहल पनि गरेको छैन। गणितीय हिसाबले कमजोर कांग्रेस, संसद्मा कार्यसम्पादन र जनताको मुद्दा बोक्ने विषयमा उदासीन देखिएको छ। कांग्रेसले आफ्नो संसदीय दललाई पनि दलभित्रको गुटसँग जोड्यो र समग्रमा संसद्मा असफल हुन पुग्यो।
नेपाली कांग्रेसको मूल नेतृत्व मूलतः राष्ट्रिय महत्वका विषयहरूमा हतार वा अनावश्यक प्रतिक्रिया दिने अनि व्यापक विरोध आएपछि बोली फेर्ने, सर्वदलीय बैठक र संसद्मा आफ्नो प्रस्ट अडान राख्नै नसक्ने, सरकारका गलत क्रियाकलापलाई न भण्डाफोर गर्न सक्ने न चुनौती दिन सक्ने, लोकतन्त्रको दूत भनेर चिच्याउने तर पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्न नदिने। हालै लगानी बोर्डको सीईओको विवादास्पद नियुक्तिमा कांग्रेस शान्त भएर मौन समर्थन गर्दै बसेको छ। अझै आउने पुस्ताको स्थान कसरी बनाउने ? युवालाई कसरी आकर्षित गर्ने भनेर सायदै कसैले सोचेका होलान्। समग्रमा देशले जति घाटा भ्रष्ट सरकार हुँदा भोगेको छ, त्यति नै घाटा सुस्त प्रतिपक्ष हुँदा भोगेको छ। कांग्रेसले आफ्नो महाधिवेशनअघि पाएको अवसर भनेको प्रतिपक्षी दलको हैसियतमा गरिने कार्य थिए, तर उसको उदासीन प्रदर्शनले कार्यकर्तालाई निराश त बनायो नै; आम जनमानसमा सत्ताको अघोषित साझेदार पनि बनायो।
राजनीतिमा सक्रिय पुस्ता
कांग्रेसको राजनीति र मतदातामा मुख्यगरी तीन पुस्ताको सहभागिता छ। पहिलो पुस्ता जसले बहुदलीय प्रजातन्त्रका लागि पञ्चायतसँग संघर्ष गरे। यो पुस्ताले २०४६ यता नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका छन्। त्यही पुस्ताले पटकपटक सरकार चलायो र प्रतिपक्ष पनि बन्यो। देउवा र पौडेल यो समूहको नेतृत्व गर्छन्।
कांग्रेसले आफ्नो संरचना सुधार्ने, पार्टी कसरी बलियो बनाउने, संसदीय दललाई कसरी सुदृढ बनाउँदै लैजाने, भ्रातृ संगठनहरूलाई कसरी चलायमान बनाउने र केन्द्रीय नेतृत्वका लागि ग्य्राजुएसन मोडेल अपनाउने विषयमा चौधौं महाधिवेशनअघि नै बहस गर्न जरुरी भइसकेको छ।
दोस्रो पुस्ता जो बहुदल आएपछि राजनीतिमा छिर्यो र अघिल्लो पुस्तासँग राजनीति सिक्दै आफ्नो पहुँच बढाउन प्रयासरत छ। यो पुस्ताले मुख्य दलहरूको केन्द्रीय नेतृत्वमा अझै हस्तक्षेप गर्न सकेको छैन। उमेरमा प्रौढ काटिसके पनि दोस्रो पुस्ता भनेर बसेका छन्। यो पुस्ताले माओवादी युद्धको प्रत्यक्ष अनुभव मात्र गरेन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन भोग्दै राजनीतिमा आफ्नो स्थान खोज्न संघर्षरत रहिरह्यो। तेस्रो पुस्ता हो, गणतन्त्र घोषणापछिको युवा पुस्ता। यो पुस्ताले गणतन्त्र आएपछि राजनीति बुझ्ने मौका पायो, जसले पञ्चायती शासनको क्रूरता सुन्न–पढ्न पायो र पछिल्ला वर्षहरूमा बहुदलपछिको लथालिंग राजनीति देख्न भने पायो। चौथो पुस्ताको जो मूलधार राजनीतिमा बामे सर्दैछन्, हुनलाई अहिलेको पुस्ता यही हो तर प्रतिनिधित्व गर्ने ठाउँमा यिनको पहुँच छैन। उमेरले ४० काटेका केन्द्रीय सदस्य नहुनुले पनि नेतृत्वमा यो पुस्ताको दाबी हुन दशक बढी लाग्नेछ।
कांग्रेसले अबको महाधिवेशनमा यी चार वा तीनवटै पुस्ता समेटेर नेतृत्व चयन र उपयुक्त जिम्मेवारी दिन सकेन भने पार्टीको अवस्था झनै नाजुक हुने पक्का छ। कांग्रेसको मतदाता भड्किने सम्भावना प्रबल छ। नयाँ क्रियाशील सदस्यता बाँड्नेबारे ठोस रणनीति नबनाए नयाँ पुस्ता फेरि पनि कांग्रेसको नेतृत्व चुन्ने प्रक्रियाबाट टाढा हुन सक्छ। कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भन्दै आएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा महत्वपूर्ण छ। तर यतिखेर अघिल्लो दुई पुस्ता विश्राम नगर्ने सोचमा र नयाँ पुस्ता हस्तक्षेप गर्न नसक्ने अवस्थमा भएकाले सबै पुस्ताको मिश्रण नै कांग्रेसका लागि उपयुक्त देखिन्छ।
अब आउने दिनमा कांग्रेसको मुख्य नेतृत्व यी सबै पुस्ताको प्रतिनिधित्व हुने गरी छनोट गर्ने र पार्टी सञ्चालनका आधारभूत कडी जस्तै एजेन्डा र संगठन निर्माणमा आमूल परिवर्तन नगर्ने हो भने उग्र वामपन्थ र उग्र दक्षिणपन्थीलाई अफ द ट्र्याक हुनबाट आजसम्म रोक्न सफल भएको कांग्रेसको उक्त क्षमता क्षय हुनेछ र देश र लोकतन्त्रले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउने छ। कांग्रेसको बलियो हुने पथमा लागेन भने देशको राजनीति उग्र राष्ट्रवादले डोर्याउने निश्चित छ।
बहसमा कांग्रेसको संरचना
कांग्रेसले संरचनागत सुधारमा कहिल्यै ध्यान दिएको छैन। त्यसैले आसन्न महाधिवेशनको एक मुद्दा हुन सक्छ, संरचनाको सुधार। सोझो हिसाबमा सभापतिको मनमर्जी चल्ने सदस्यता वितरणले कांग्रेस विचारकेन्द्रितभन्दा पनि व्यक्तिकेन्द्रित राजनीतिमा रमाएको छ। अब कांग्रेसलाई नयाँ जीवन दिने हो भने यसको जडमै सुधार गर्नुको विकल्प छैन। महाधिवेशनको मुखमा समिति भर्दै अवैधानिक सदस्यता वितरणको खेलमा रमाउँदै छ कांग्रेस। पहिले कोइरालाले गरे अहिले देउवा गर्दैछन्, आखिर कहिलेसम्म नेताले आफैं सदस्य किन्दै आफू कुर्सीमा बस्ने ? अबको महाधिवेशनमा यस्तो नेतृत्वको उदय हुनुपर्छ, जसले कांग्रेसको संगठन विकास गलत प्रमाणित गरिदिएर विकल्प पनि दिन सकोस्।
नयाँ राजनीतिक संगठन खोलेर विकल्प खोज्ने बाटोले नेपालको राजनीतिलाई उथलपुथल गर्ने सम्भावना निकै न्यून छ। त्यसैले कांग्रेस सुध्रिनुको विकल्प छैन। कांग्रेसमै पनि तेस्रो पुस्तालाई प्रतिनिधित्व गर्नेहरू अघिल्लो पुस्ता प्रतिनिधित्व गर्नेको नेतृत्वको वकालत गर्दैछन्। विचारको गुट कम व्यक्तिको गुटमा सामेल छन्। अहिलेसम्म कुनै पनि तहका नेताले संरचनागत सुधारको वकालत गरेका छैनन्, त्यसैले कांग्रेस संगठन विकास गर्ने कुरामा सधैं अभागी रह्यो। त्यसैले पनि कांग्रेसको अबको संरचनामा सबै पुस्ता समेटिने गरी निर्माण गर्नुपर्ने छ। साथै अबको महाधिवेशनबाट फेरि यही नेतृत्व दोहोरियो भने अर्को चुनावमा कस्तो एजेन्डा लिएर जाने भन्ने कुराको पनि व्यापक बहस हुन जरुरी छ। गुटमा बाँडिएको कांग्रेसले शेरबहादुर देउवालाई झनै बलियो बनाउँदै छन्। नेतृत्व अवकाश लिने पक्षमा नभएकाले विकल्प खोज्ने हो भने सामूहिक हस्तक्षेप गर्न आवश्यक छ। गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा जो आशा गरिएका समूह हुन्। उनीहरू सबै एकै ठाउँ उभिएर नयाँ नेतृत्व दिने सम्भावना देखिएको छैन। यो पुस्ताका नेता अघिल्लो पुस्ताको नेतृत्वहरूको सारथि बन्ने पक्का छ। त्यसैले कांग्रेसमा संस्थापनइतरका नेताहरूले देउवा असफल भन्नुभन्दा पनि नयाँ सक्षम नेतृत्व ल्याउन बहस र मन्थन गर्न जरुरी छ।
त्यसैले सम्पूर्ण कांग्रेस कार्यकर्ताले अबको महाधिवेशनबाट पार्टीलाई जीवन प्रदान गर्न सक्ने, जनताप्रति उत्तरदायी एजेन्डा ल्याउन सक्ने र संगठन व्यापक रूपमा विस्तार गर्न सक्ने नेतृत्व छान्नैपर्छ। अहिलेको नेतृत्व धेरै कोणबाट असफल भइसकेको छ। यो निचोडलाई आत्मसात गर्न सके मात्र आसन्न महाधिवेशनमा नयाँ र सक्षम नेतृत्वले ठाउँ पाउने छ नत्र भने अहिलेको पुस्ता नेतृत्व लिने अर्को १० वर्ष पछाडि धकलिने छ।
विचारमा चुक्दै गएको पार्टीलाई विचारमा एकताबद्ध गर्न सक्ने, मास बेस पार्टी भनेर संगठनलाई उपेक्षित नगर्ने, परम्परागत कांग्रेसी पारा (घमण्ड) त्याग्ने, नेतृत्व हस्तान्तरणमा उदार हुने र कार्यकर्तामैत्री र उदार विधान बनाउन खोज्ने, समावेशी सहभागितामा विश्वास गर्नेजस्ता विषयले कांग्रेसको संरचनालाई प्रभाव पार्नुपर्ने छ। कांग्रेसको मूलमन्त्र उदारवाद हो। त्यसैले यसको संरचनामा पहुँच र विकासका लागि उदारवादी सिद्धान्त आत्मसात गर्न जरुरी छ।
समय आइसकेको छ। कांग्रेसले आफ्नो संरचना सुधार्ने, पार्टी कसरी बलियो बनाउने, संसदीय दललाई कसरी सुदृढ बनाउँदै लैजाने, भ्रातृ संगठनहरूलाई कसरी चलायमान बनाउने र ग्य्राजुएसन मोडेलमा केन्द्रीय नेतृत्वमा ल्याउने विषयमा बहस गर्न जरुरी भइसकेको छ। आसन्न महाधिवेशनले यी मुद्दा सम्बोधन गर्नुपर्छ। (क्रमशः बाँकी अर्को साता)