किर्ते गर्ने उपभोक्ता समितिका अध्यक्ष पक्राउ
कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले बिल भरपाई किर्ते गरी रकम भुक्तानी लिने उपभोक्ता समितिका अध्यक्षलाई पक्राउ गरेको छ। जिल्लाको सान्नित्रिवेणी गाउँपालिका-५ मा रहेको कालिका प्रारम्भिक उत्पादन कृषक समुहका अध्यक्ष ललिजन बमलाई प्रहरीले पक्राउ गरेको हो।
कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त २२ लाख ८ हजार रकमको बिना काम किर्ते कागजात बनाएर भुक्तानी लिएको आरोपमा समुहका अध्यक्ष बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए। सान्नित्रिवेणी गाउँपालिकालाई अर्गानिक नमुना गाउँ कार्यक्रम अन्तरगत कृषि विकास कार्यालयको कुल २२ लाख ४२ हजारको योजनामा समुहका अध्यक्ष बमले किर्ते काम गरी कृषि विकास कार्यालयबाट २ लाख ८ हजार ३ सय ७० रुपैयाँ भुक्तानी लिएका छन्। कार्यालयले उनको रकम भुक्तानी लिएको खाता र व्यक्तिगत खाता समेत रोक्का गरेको जनाएको छ।
सान्नित्रिवेणी गाउँपालिका-५ का वडा अध्यक्षको किर्ते हस्ताक्षेर गरेर अनुगमनसमेत गरेको प्रतिवेदन बनाएर रकम भुक्तानी लिएको वडा अध्यक्षले प्रहरीमा उजुरी दिएपछि समुहका अध्यक्षलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ गरिएका बमलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ। सरकारी रकठ ठगी किर्ते गर्ने समुहका अध्यक्षलाई मुलुकी अपराध संहिता बमोजिम ७ वर्ष कैद र ७० हजारसम्म जरिवाना कानुनी व्यवस्था रहेको छ।