विद्यालयमा प्रधानाध्यापकको बदमासी
कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका-६ स्थित पंचमुल आधारभुत विद्यालयका प्रधानाध्यापकल शेरबहादुर शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको किर्ते हस्ताक्षर गरी लाखौं रुपैया दुरुपयोग गरेका छन्। विद्यालयको खातामा आएको दिवा खाजा, पाठ्यपुस्तक, विद्यालय घेराबार र विद्यालय सुधार योजनाको बजेट किर्ते हस्ताक्षर गरी दुरुपयोग गरेका हुन्।
विद्यालयमा अस्थायी दरबन्दीमा कार्यरत प्रअ शाहीले २०७६ साल माघ महिनादेखी २०७७ साल साउन महिनासम्म करिब १५ पटक बिव्यस अध्यक्ष जगतबहादुर बमको किर्ते हस्ताक्षर गरी रकम निकालेका छन्। राष्ट्रिय वाणिज्य बैंक शाखा मान्ममा रहेको पंचमुल आधारभुत विद्यालयको खाता नं. ४१२०००१७७७०१ मा जम्मा भएको बिभिन्न शीर्षकबाट ८ लाख ५१ हजार किर्ते हस्ताक्षरी गरी रकम निकालेर दुरुपयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमले बताए। उनका अनुसार आर्थिक अनियमितता गर्ने विद्यालयका प्रअलाई मुद्धा हाल्न व्यवस्थापन समितिको बैठक बोलाइएको छ।
पंचमुल आधारभुत विद्यालयका अध्यक्ष बमले भने ‘यो वर्षको सांसद विकास कोषको विद्यालय घेरबारका नाममा १० लाख बजेट आएको थियो। कालिकोटबाट प्रतिनिधिसभामा निर्वाचित सांसद दुर्गबहादुर रावतले विद्यालय घेराबारका लागि १० लाख बजेट हाले। गाउँका ४० जना मजदुरहरु लगाएर विद्यालयको घेराबार गरियो। 'काम सम्पन्न भइसकेपछि मजदुरलाई ज्याला दिनुपर्छ भनेर सदरमुकाम मान्म आए। प्रअलाई बोलाउँदा सम्पर्कमा आएनन्। बैंक खातामा पैसा कति छ भनेर सोध्दा २ हजार बढी थिएन्। बैंक स्टेट्मेन्ट निकालेर हेर्दा मेरो हस्ताक्षर गरेर प्रअ शाहीले सबै पैसा निकालेर हिनामिना गरिसकेका रहेछन्। करिब १५ पटक मेरा हस्ताक्षर किर्ते गरेर रकम निकालेका छन्। सांसद दुर्गबहादुर रावतले सांसद विकास कोषबाट प्राप्त १० लाख बजेटमा पनि सांसदले आफुलाई दुई लाख दिनुपर्छ भनेर मागेका छन् भनेर प्रअ शाहीले २ लाखको चेक पनि लिए। विद्यालयको खाताबाट १० लाख ५१ हजार रुपैया व्यक्तिगत रुपमा हिनामीना गरे’ अध्यक्ष बमले भने ‘करार शिक्षकलाई तलब पनि दिएको छैन्। विद्यालय घेराबार गर्ने ४० जना मजदुरलाई ज्याला पनि दिएको छैन्। करिब ६ लाख ज्याला नै तिर्नु छ। उनीहरु मेरो घर घेर्न आउन थाले। म कहाँबाट उनीहरुको ज्याला तिरौं ?’ उनले प्रअ शाही नियमित विद्यालय नजाने, राजनीतिक गतिबिधिमा सक्रिय हुने काम गर्ने गरेको बताए।
यता प्रअ शेरबहादुर शाहीले आफुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर बमको किर्ते हस्ताक्षर गरेर रकम दुरुपयोग गरेको कुरा अस्वीकार गरे। उनले भने, ‘मैले किर्ते हस्ताक्षर गरेकै छैन्। व्यक्तिगत रिसिबीका कारण मलाई झुटो आरोप लगाइएको हो। सांसद दुर्गबहादुर रावलले विद्यालयमा हालेको १० लाखमा मजदुरहरुलाई ६ लाखमा ठेक्का दियौँ। बाँकी रहेको ४ लाख रुपैयँ अध्यक्षले आधा माग्नु भएको थियो। मैले दिईन्। त्यसको रिसले मलाई आर्थिक अनियमितता गरेको ओरोप लगाइएको हो।’
प्रअ शाहीले भने 'सांसद दुर्गबहादुर रावतलाई दिन्छु भनेर रकम पनि लिएको छैन्। नगरपालिकाले ६ प्रतिशत कन्टलजेन्सी काट्यो बाँकी रकम विद्यालयको खातामा आएको हो। विद्यार्थी दिवा खाजाको रकम करार शिक्षकलाई तलव दिइयो। अध्यक्षले हस्ताक्षर गरेर मलाई चेक दिनुभएको हो। करिब ६ लाख ७३ हजार रकम मैले राखेको छु। विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग सहमति भएपछि सबै रकम तिर्छु।'
यता सांसद रावतले पंचमुल आधारभुत विद्यालयका प्रअ शाहीसँग आफ्नो कुनै लेनदेन नभएको बताए। ‘योजनाका उपभोक्ता विद्यालयहरुसँग मेरो कुनै सम्पर्क छैन्। योजनाको काम भए नभएको समन्वय समितिले हेर्छ। काम स्थानिय पालिकाले बजेट कार्यन्वयन गर्छ' सांसद रावतले भने 'स्थानीय पुर्वाधार साझेदारी कार्यक्रममार्फत बजेट बिनियोजन गरिएको हो। स्थानीय तहले मागेका योजनाहरुमा सांसदको नेतृत्वमा बिनियोजन गरिन्छ। यदि प्रअले साँच्चै आफ्नो नाममा रकम अनियमितता गरेको तथ्य खुल्यो भने कारबाही हुन्छ।’