पहिरो रोकथामको उदाहरण कृष्णभीर
धादिङ : पृथ्वी राजमार्गस्थित कृष्णभीर पहिरो नियन्त्रणको उदाहरण बनेको छ। बायो इन्जिनियरिङ (पहिरो गएको ठाउँमा घाँस, बोटविरुवा रोप्ने) र स्ट्रक्चरल इन्जिनियरिङ (जाली, सिमेन्टेड पर्खाल, नाला निर्माण)का दुवै काम एकसाथ गरिएकाले सफलता मिलेको इन्जिनियर नरेशमान शाक्यको भनाइ छ।
उक्त काम गर्न विदेशी कम्पनीले ३ अर्ब रुपैयाँसम्मका प्रस्ताव गरेका थिए। आफैं काम गर्दा साढे ३ करोड रुपैयाँ मात्रै खर्च भएको शाक्यले सुनाए।
चरौंदी बजारका नवराज थपलियाले २०५७ साउन २७ गते कृष्णभीरमा पहिरोले बाटो बगाएको सुनेको उल्लेख गरे। उनले बर्खामासमा दिनहुँ पानी परिरहेकाले तत्काल वास्ता गरेनन्। अघिल्लो वर्षदेखि नै बेला–बेला पहिरो पनि झरिरहेकै थियो। तर, उक्त दिनको पहिरोले ११ दिनसम्म सवारी आवागमन ठप्प भयो। तब उनलाई लाग्यो, कृष्णभीरको पहिरो ठूलै रहेछ।
त्यसपछि सुरु भएको थियो, यात्रुको कष्टपूर्ण यात्रा। छिन–छिनमा सडक अवरुद्ध हुन्थ्यो, खुलाउन भने धेरै समय लाग्थ्यो। यात्रु वारिका वारि, पारिका पारि हुन थाले। ‘साउन २७ गतेअघि एक–दुई दिनसम्म बाटो अवरुद्ध भइरहेकै हुन्थ्यो’, थपलियाले सम्झिए, ‘सडक विभागका कर्मचारी र यात्रुबाहेक अरूलाई यो पहिरो र यसको समस्याबारे थाहा थिएन। तर, उक्त दिनको घटनाले राजधानी भित्रिने मुख्य नाका ११ दिन ठप्प भएपछि भने कृष्णभीरको पहिरो राज्यकै टाउको दुखाइ बन्न पुग्यो।’
तब त्रिशूली नदी किनारबाट पर्खाल उठाएर ग्याबिन जाली भर्दै सडकको सतहमा ल्याइयो। सडकभन्दा माथि सोही काम गर्दै बायोइन्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो नियन्त्रणमा आएको छ। तर, मुख्य पहिरोका दायाँ–बायाँ ससाना पहिरो झर्न थालेका छन्। फेरि पहिलेकै अवस्था आउने हो कि भन्ने चिन्ता स्थानीयवासीलाई छ।
‘त्यतिविधि दुःख र पीडा दिएको ठाउँमा अहिले पहिले पहिरो झरेको थियो र भनेजस्तो देखिन्छ’, कृष्णभीर रहेको बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष हीरालाल थपलियाले भने, ‘राजमार्गमा अहिलेजस्तो धेरै होटल र बाक्लो बस्ती पनि थिएन। पैसा नहुनेको त यसै बिजोग हुने भयो। पैसा भएका यात्रु पनि हप्तौंसम्म भोकभोकै बस्नुपर्ने अवस्था थियो।’ त्यस बेला पृथ्वी राजमार्गमा यात्रा गर्नेले तीन वर्ष साह्रै दुःख पाएका थिए।
पहिला पहिरो सडकमा थुप्रिएकाले जति पन्छायो उति नै खसिरहने समस्या थियो। करिब एक वर्षसम्म पहिरो पन्छाउँदै सवारी चलाउँदै गरियो। विभागले पहिरोको दीर्घकालीन समाधान गर्न विदेशी प्रस्ताव माग ग¥यो। तापनि, एकदमै महँगा र सरकारले गर्न नसक्ने प्रस्ताव आए।
पछि विभागकै इन्जिनियर शाक्यले पहिरोको दीर्घकालीन समाधान गर्ने जिम्मेवारी पाएका थिए। शाक्यले भने, ‘जिम्मेवारी पाएपछि लगातार त्यहीँ बसेर भूबनोट अध्ययन गरेँ। माटो र पहिरोको तह पत्ता लगाएपछि गुरुयोजना बनाएर सडक विभागमा बुझाएँ।’
विभागले उनको योजनामा साथ दिँदै बजेट छुट्ट्यायो। तब आफ्नै सीप र प्रविधि प्रयोग गरेर काम सुरु भयो। पहिरो जाने ठाउँमा पर्खाल लगाउँदै बग्ने माटोलाई नियन्त्रणमा लिन चाँडै हुर्कने बोटबिरुवा रोपियो। जस्तै— अम्रिसो, बाँस, बकाइनो, खयरजस्ता बिरुवा रोप्न थालियो। सँगै भौतिक संरचना निर्माणका काम पनि सुरु गरियो।
‘फिल्डमा खटिएका हामीजस्ता कामदार मात्रै नभई माथिल्लो निकायमा रहनेहरूको व्यवस्थापकीय काम पनि सहज र उत्कृष्ट भएकाले पहिरो नियन्त्रण गर्न सहज भएको हो। एक्लो प्रयासले भएको होइन’, शाक्यले भने, ‘यत्ति हो कि विश्वमै कहीँ कतै नगरिएका प्रयोगहरू पनि हामीले कृष्णभीरको पहिरोमा गरेका थियौं। त्यसमा सफलता मिल्यो पनि।’