प्रिय डाक्टर केसी, यो कर्मवीरको समाज होइन !
डोल्पा जिल्लाको जगदुल्ला, रिमी, ६ स्वास्थ्य चौकीमा डा. गोविन्द केसीलाई उपचार सेवा दिन वञ्चित गरिएछ। देखावटी कुरामा गाउँपालिकासँग समन्वय नगरेको आरोप भए पनि अन्ततः त्यो भूमि त्यो जग्गा त्यहाँको जनप्रतिनिधिको बिर्ता हो। त्यसैले त्यहाँका मुखियाको चित्त नबुझाई जानु केसीको कमजोरी भयो। आज हामीले अभ्यास गर्दै गरेको राजनीतिक प्रणालीको सजीव चित्र पनि हो यो। किनकि हाम्रो देशमा एकपटक चुनाव जितेपछि दलका नेताहरू स्थानीय निकायदेखि केन्द्रसम्म आफूलाई राजा–महाराजा सम्झन्छन् र आफ्नो चुनाव क्षेत्र देश आफ्नो बिर्ता, लालकिल्ला र चार किल्ला ठान्छन्। न्यायको बलात्कार गर्ने न्यायाधीश, शक्ति र पदको दुरुपयोग गर्ने दल र नेताहरू अनि अख्तियार स्वयं अख्तियार दुरुपयोग गरेर धन आर्जन गर्ने अखडा भएको देशमा तपाईंजस्ता निष्ठा, समर्पण, त्याग र परोपकार गर्ने मान्छे आँखी हुन्छन् नै। बिझाउँछ नै । पवित्र सेवा र कर्मवीर बिझाउँदा खेद छ।
सर्त र स्वार्थमा काम गर्ने देशमा निःस्वार्थ नै सर्त राखेर काम हुन सक्दैन। डडेलधुरा, बैतडी, डोटी, अछाम, दार्चुला, जुम्ला र हुम्लाका रैतीको किन सेवा गर्नु हुन्छ ? हिसाब–किताब र मोलमोलाइ गर्ने दुनियाँमा बेहिसाब जनताको माया गर्ने तरिका शासकका लागि अपाच्य हुन्छ। प्लिज डाक्टर साब आजै फर्कनुस् काठमाडौं।
क्लिनिक खोल्नुस्, महँंगोमा दबाइ बेच्नुस्। क्लिनिक खोल्ने पैसा छैन होला। आफ्नो नैतिकता, निष्ठा, स्वाभिमान र आजसम्म आर्जित इमान बेच्न र बन्धक राख्न तयार हुनुस् पैसाको कमी हुने छैन। पैसा कमाउनुस्। रैतीको दैलो धाउन छोड्नुस्। तिनका दुःख, बिमार र पीडाले तपाईंलाई के हुन्छ ? मरे तिनै मर्छन्, तिनकै छोराछोरी र बाउआमाले दुःख पाउँछन्। हातखुट्टा भाँंचिए तिनको नियति नै त्यस्तै हो। दुःख पाउनेलाई दुःख लेखेको हुन्छ भनेर मन बुझाउनुस्। पाइला, पाइला, पलपलमा पैसाको लेखाजोखाले समाजमा इज्जत, मान र प्रतिष्ठा आर्जन हुने, इज्जतको मानक नै धन हुने राज्यमा निर्धन भएर कतिञ्जेल बाँच्नु हुन्छ ? छाड्नुस् आदर्श, त्याग्नुस् निष्ठा। सुक्रीबिक्री गर्नुस् चरित्र र मानवता ? तपाईं छिटो पद र प्रतिष्ठा आर्जन गर्न सक्नु हुनेछ।
दुःखी र रोगीले धन्यवाद भन्न जान्दैनन्। तसर्थ छाड्दिनुस्। गाउँ डुल्न, जोगी जिन्दगी होइन भोगी जिन्दगीमा फर्कनुस्। मखमली बिछ्यौनामा सुत्न छाडेर सुकुल र मान्द्रो ओछ्याएर गरिबका झुपडीमा सुत्न किन जानुहुन्छ ? किन मञ्जुर गर्नुहुन्छ गरिबका गुहु, मुत, पसिना, पीप र घाउ निचोर्न छाम्न ? देश सती र निर्धन सीमान्तकृत वर्ग, समुदाय, दलित र उत्पीडितका आँसुले सरापेको र पिरेको हो। आज देश कोरोना र लकडाउनले आक्रान्त छ। मान्छेहरू कोरोनाभन्दा बढी अरू रोग र भोक अनि असन्तोष र पीडाले मरिरहेछन् ? तपाईं लकडाउन र कोरोनाको कारण सहरका अस्पताल देख्न नपाउनेका लागि ईश्वर बनेर जानुभएको हो तर देख्नेहरूले राक्षस देखे ? अपमान र पीडा खपेर किन लाउनुहुन्छ रोगीको घाउमा मलम ? किन बाँड्नुहुन्छ सिटामोल र जीवनजल ? विविध जनपक्षीय माग राखेर सत्रपटक भोको बसेर सत्याग्रह गर्दा पागल र सन्काह उपनाम र संज्ञा पाएको तपाईं आज गाउँपालिका प्रमुखले पनि लखेट्ने बन्नुभयो। छाड्दिनुस् डाक्टर साब मानवीय धर्म ? आउनुस् काठमाडौं अनि जाँच्नुस् महँगोमा बिरामी। रोगीको खल्ती छाम्नुस्, खल्तीभित्र पोको पारेको लालपुर्जा हेर्नुस् र उपचार गर्नुस्। मेडिकल व्यापार अपार भएको देशमा विशेषज्ञ डाक्टर भोकै, नांगै रहन मिल्दैन। जुकाले रगत चुसे झैं चुस्नुस् बिरामीको खुन र पसिनामिश्रित रकम। पैसाभन्दा ठूलो सेवा र आत्मसन्तुष्टि भन्दै देशविदेशको सेवा गरेर, विपदमा देशको सीमा नाघेर सेवा गर्दा अमेरिका, भारत, हाइटी, बंगलादेश, म्यानमार, फिलिपिन्सले के दियो तपाईंलाई ? खै तपाईंको टाउको लुकाउने बास ? खै ब्यांक ब्यालेन्स र सेयर ? खै ठाउँठाउँमा घरघडेरी ? अग्रजदेखि समकालीन अनि चेलाचेली सम्पन्नताको चरमचुलीमा रहँदा सधैं उस्तै र उही सस्ता जुत्ता, भेस्ट, जाकेट र पाइन्ट अनि थोत्रो मोबाइल बोकेर, मैलो झोला भिरेर हिँड्दा किन हीनताबोध भएन ? कुन उद्देश्य र कुन लोकको यात्राको सहजताका लागि कस्ट गर्दै हुनुहुन्छ डाक्टर साब ?
क्राइस्ट, बुद्ध ,देवकोटालाई झैं किन खेद्छन् संस्थापनहरू जहिल्यै ? देश दुख्ने हिमाल, मधेस, पहाड र बस्ती दुख्ने मुटु गोविन्दको मात्रै किन ?
तपाईंले स्वयं सेवा गरेको डडेलधुरा अस्पतालको हालत र अवस्थाले सधैं चुनाव जित्ने र चारपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको मन पोलेन, तपाईंको पोलेर के हुन्छ ? डडेलधुरा डोटीमा मेडिकल कलेजको माग राखेर अनशन बस्दा कतिले साथ दिए ? इलाम, ताप्लेजुङ र पाँचथरमा मेडिकल कलेजको माग राख्दा झलनाथ खनाल, सुवास नेम्बाङ र योगेश भट्टराईजस्ता नेताले नक्कली अनशनकारी खडा गरेर तपाईंको हुर्मत लिएको बिर्सनुभयो ? अब पनि समाज सेवा ? अब पनि परोपकार ? अनशनका क्रममा २२० दिन भोकै सुत्दा देशले पटकपटक सम्झौतारूपी चेक थमायो तर कति चेक, साटिए कति बाउन्स भयो ? राज्यले चेक बाउन्स गराउन सुहाउँथ्यो र ? चेक बाउन्स गर्नेलाई सजाय हुने कानुन छ तर नेता अनि राज्य सञ्चालकलाई यो कानुनले छुँदैन।
हेर्नुस् साम्यवादी र लोकतान्त्रिक पार्टीहरू खुइलिएर रंगहीन बनेको ? सत्ता राजनीतिक पार्टी र तिनका नेताहरू निर्लज्ज हुन्छन्। निर्लज्ज हुनुको विशेषता नै विश्वसनीयता नहुनु हो। लाज गुम्नु हो। नैतिकता रित्तिनु हो। इमानमा डढेलो लाग्नु हो। मान्छेहरूको अवसरवादी चरित्र र विशेषता देख्नुभएको छ। आफ्नो अभिन्न मित्र दाबी गर्नेहरू पनि आफ्नो स्वार्थमा ठेस लागेपछि तर्कन्छन् र सुविधा लिन कुद्छन्। आफ्नै साथीहरू शशी शर्मा, केपी सिंहले र दिव्यासिंह साहले आफ्नो पूर्व मान्यता स्वार्थमा साटफेर गरेर टिचिङ अस्पताल महाराजगन्जको डीन बन्ने लालचमा लिप्त बनेर आदर्श च्यातेर हिँडे ? अख्तियार प्रमुख लोकमानसिंह कार्कीको र प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनशनमा बस्दा कति साथी भागाभाग गरेर अनशन बस्ने समय र तरिका ठीक छैन भन्दै छलिए। को कति पारदर्शी र निष्ठामा छन् बुझ्नुभयो होला नि ? कहीं न कहीं, कतै न कतै नचुकेका मान्छे पाउन मुस्किल छ।
बिरामीले डाक्टर खोज्दै हिँड्नुपर्नेमा तपाईं नै खल्ती रित्याएर बिरामी खोज्दै हिँड्नु उल्टो र समयको लयभन्दा भिन्न भएन र ? नेपाली जनता सिटामोल, जीवनजल नभेटेर, मर्किएका हात कुहाएर मरे–बाँचे के फरक भयो र। नेताहरू, तिनका आफन्त विश्वका जुनसुकै महँगो अस्पतालमा उपचार गर्ने हैसियत राख्छन् तर तपाईं आफ्ना नेताको चिन्ता गर्नुस् किन गरिबको पक्षधरता। क्षमता र प्रतिभा हुने गरिबका छोराछोरीले मेडिकल शिक्षा सित्तैमा पढ्न नपाएर तपाईंको के बिग्रन्छ र ? गाउँ–गाउँ, जिल्ला–जिल्लामा स्वास्थ्य सेवा र अस्पताल नभएर तपाईं चुनाव नजित्ने पनि होइन। स्वास्थ्य सेवा राज्यको दायित्वभित्र नपरेर तपाईंलाई कुनै अनिष्ट हुँदैन। सत्ता र पार्टीको दृष्टिविहीनाता र लुटतन्त्र, विश्वविद्यालय राजनीतिक भागबन्डा, जनतालाई टाउको दुख्दैन। बौद्धिक, प्राज्ञिकहरूको अपमान हुँदैन भने तपाईं किन चुप बस्नुहुन्न ? विषालु गोमन सर्परूपी राज्यसंयन्त्र भएका बेला तपाईंको एन्टी स्नेक भेनम नैतिकता इमान, त्याग, निःस्वार्थता र निर्भयले कतिञ्जेल उपचार गरिरहन्छ देशको ?
लोभमा परे विश्वविद्यालयको उपकुलपति, सांसद, मन्त्री बन्ने आश्वासन र अवसर मात्रै होइन, ज्यान हर्ने धम्की पनि पाउनुभएको होला तर निर्भय भएर किन फकिर बन्दै डुल्नुहुन्छ ? जिन्दगीको माया नगरेरै देशको माया गर्ने तपाईंको शैली अनशन बस्दा नै देखिएको हो। निर्जल, निराहार उपवास बसेर मृत्युनजिक पटकपटक पुर्याउन अनशन बसाउने तपाईंका प्रायोजक को हुन् ? दीन, दुःखी नेपाली नै हुन् कि अरू छन् ? सधैं जीवनमरणको दोसाँधमा बस्न राजी गराउने तत्व के हो ? कुन प्रयोजन बोकेर तपाईं देशका सबै जिल्लामा स्वास्थ्य शिविर चलाउनुभयो ? क्राइस्ट, बुद्ध ,देवकोटालाई झैं किन खेद्छन् संस्थापनहरू जहिल्यै ? देश दुख्ने हिमाल, मधेस, पहाड र बस्ती दुख्ने मुटु गोविन्दको मात्रै किन ? ‘पूर्णतामा बाँच्नुहोस्, मानौं भोलि आउने छैन।