मुक्त हलिया परिवारलाई राहत
बैतडी : बैतडीमा ५५१ जना मुक्त हलियालाई राहत वितरण गरिएको छ । कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण भएको लकडाउनका बेला मजदुरी गर्न नपाएर छाक टार्न मुस्किल भएका परिवारलाई राहत वितरण गरिएको छ ।
गैरसरकारी संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले राहत वितरण गरेको हो । प्रति व्यक्ति २५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २ केजी चिनी र ४ साबुन वितरण गरिएको कार्यक्रम संयोजक सुरेन्द्र जैरुले जानकारी दिए ।
उनले भने, 'कोरोना भाइरसको महामारीका कारण ज्याला मजदुरी गुमाएका मुक्त हलियालाई सहयोग पुगोस भनेर राहत वितरण गरेको हो। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सञ्चालन गरेको मुक्त हलिया पुर्नस्थापना सहयोग कार्यक्रमअन्तर्गत राहत वितरण गरिएको हो ।
जिल्लाको दशरथचन्द नगरपालिकाका ६२, पुर्चौंडी नगरपालिकाका ७६ जना, मेलौली नगरपालिकाका ९९ जना र पाटन नगरपालिका १०४ जनालाई राहत वितरण गरिएको हो । यस्तै सिगास गाउँपालिकाका ६० जना, सुर्नया गाउँपालिकाका २५ जना र दोगडाकेदार गाउँपालिकाका १२५ जनालाई राहत वितरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बैतडीका अध्यक्ष देवराम लुहारले जानकारी दिए ।
उनले भने, 'हामीले जिल्लाका सातवटा पालिकाका मुक्त हलिया परिवारका सदस्यहरुलाई राहत वितरण गरेका छौं । एकदमै समस्यामा परेका नागरिकलाई राहत वितरण गरेका हौं ।'
यस्तै मुक्त हलिया परिवारका ४० जना गर्भवतीलाई पनि १ क्रेट अण्डा र २ केजी चना वितरण गरिएको लुहारले बताए । उनले भने, 'गर्भवतीलाई थप पोषिलो खानेकुराको आवश्यकता पर्दछ । मुक्त हलिया परिवारलाई अहिले छाक टार्न मुस्किल भएका बेला हामीले सानो सहयोग गरेका हौं ।' दशरथचन्द नगरपालिका १ का नरेन्द्र नेपालले राहतले केही सहयोग मिल्ने बताए।