बर्सेनि बस्तीमा पहिरो
जाजरकोट/कालीकोट : गत असार २५ गते राति जाजरकोटको बारेकोट गाउँपालिकास्थित जिरीगाउँको सार्कीटोलमा पहिरो गयो। १२ जनाको मृत्यु भयो। सो गाउँपालिकाका विभिन्न वडामा पहिरोले ५६ घर बगायो।
बाढी पहिरोले गाउँ नै भासिने त्रासका कारण एक हजार ५५ परिवार विस्थापित भएका छन्। दुई वर्षअघि जाजरकोटकै भेरी नगरपालिका-३ ठाँटी नजिक गएको पहिरोले दुुई वटा घर बगायो। आठ बालबालिकासहित नौ जनाको ज्यान गयो। जाजरकोटमा पहिरोले क्षति नगरेको वर्ष नै छैन। केही वर्षअघि भेरी नगरपालिका-४ बोहरा गाउँमा पहिरोले घर बगाउँदा सात जनाको ज्यान लियो। यसवर्ष जाजरकोटमा पहिरोले १३ जनाको ज्यान लिइसकेको छ। पहिरोले भौतिक सम्पत्ति पनि नोक्सान गरेको छ।
नलगाड नगरपालिकाको डाँडागाउँ, करुवा, लहँलगायतका गाउँमा ठाउँठाउँमा पहिरो खसेको छ। सोही पहिरोको कारण झुम्रे खोलामा आएको बाढीले गत वर्ष आठ सय ३२ रोपनी र यसपटक दुुई सय रोपनी धानखेत बगाएको छ। कालीकोटको पीडा पनि उस्तै छ। धेरै स्थानीय तहमा वर्षा सुरु भएपछि ज्यान जोगाउन सुरक्षित स्थान खोज्नुपर्ने बाध्यता छ। नरहरिनाथ गाउँपालिकामा यही साउन १४ गते पहिरो जाँदा नौ जनाको ज्यान गयो। भिरालो जमिनमा रहेका घर पहिरोले बगाएको छ।
साउन १३ मा रास्कोट नगरपालिका-१ बडुलतोलामा पहिरो जाँदा एक जनाको मृत्युु हुनुका साथै पाँच जना बेपत्ता भए। साउन १४ गते महावै गाउँपालिका-७ कोटबाडामा पहिरोमा घर पुरिँदा दुई बालबालिकाको मृत्यु भयो। यसपटक वर्षा सुरु भएपछि कालीकोटमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ। सात जना अझै बेपत्ता छन्। नरहरिनाथ गाउँपालिकामा ५१ घर भत्किएका छन्। पहिरोको कारण अहिले पनि ४ सय ४७ घर उच्च जोखिममा छन्।
गत वर्षको भदौमा तिलागुफा नगरपालिका-७ छाप्रेमा पहिरो खस्दा १८ घर पुरिए। करिब ९३ लाखबराबरको क्षति भयो। अहिले पनि उक्त बस्ती जोखिममा छ। गत वर्ष खाँडाचक्र नगरपालिका-६ मोल्फामा ठूलो पहिरो खस्दा १ सय ७ घर जोखिममा परे। पहिरो रोकथामका लागि केही प्रयास नभएकाले त्यहाँको जोखिम अझै टरेको छैन। चार वर्षअघि नरहरिनाथ गाउँपालिकाको लालिघाट बजारमा पहिरो जाँदा आठ जनाको मृत्युु भएको थियो।
बस्ती स्थानान्तरण अलपत्र
कर्णालीमा अहिले पनि धेरै बस्ती पहिरोको जोखिममा छन्। भिरालो जमिनमा बस्ती बसेकाले हरेक वर्ष जनधनको क्षति हुने गर्छ। स्थानीय र प्रदेश सरकारले जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि कार्यान्वयन भएको छैन। जाजरकोटका नागरिक अगुवा राजेन्द्रविक्रम शाह भन्छन्, ‘बर्सेनि पहिरो जान्छ, धनजनको ठूलो क्षति हुन्छ। पहिरो गएलगत्तै जोखिममा रहेका बस्ती नै सुरक्षित स्थानमा सार्ने निर्णय गरिन्छन् तर वर्षायाम सकिनेबित्तिकै सबै योजना र निर्णय कागजमा सीमित हुन्छन्।
यसवर्ष पनि बारेकोटका अधिकांश बस्ती पहिरोले छियाछिया पारेकाले धेरै परिवार विस्थापित भएका छन्। बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञ टोली झिकाएर अनुसन्धान गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।
जथाभावी डोजर
गरिबी कारण धेरैले भिरालो र जोखिमयुक्त जमिनमै घर बनाउने गरेका छन्। अर्कोतर्फ सडक विस्तारका नाममा डोजरे विकासले पनि पहिरोको जोखिम बढाइरहेको छ। डिजाइन स्टमेट बिना अन्धाधुन्ध रूपमा भिरालो जमिनमा सडक खन्दा जोखिम बढिरहेको छ।
सडक विस्तारपछिका सभ्मावित जोखिम रोकथामका लागि कुनै योजना छैनन्। तीव्र वन विनाश, सडक निर्माणमा जथाभावी डोजरको प्रयोग, जोखिमयुक्त भिरोलो जमिनमा भएका बस्तीजस्ता कारणले बर्सेनि पहिरोको जोखिम बढेको जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनबहादुर रावल बताउँछन्। डोजरको प्रयोगले जनधनको क्षति बढाइरहेको जिल्ला समन्वय समिति कालीकोट प्रमुख अनिपाल शाहीले बताए। ‘पहिरोको मुख्य कारण नै डोजर हो, जनप्रतिनिधिलाई तत्काल गाउँगाउँमा गाडी गुडाउने रहर छ। मापदण्डबिना पखेरामा डोजर चलाउँदा बस्तीमा पहिरो खसिरहेको छ।’ मानवीय क्रियाकलापले बाढी पहिरोजस्ता प्राकृतिक विपद्का घटना बढाइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको ठहर छ।