व्यवस्थित आइसोलेसन नहुँदा संक्रमित समस्यामा
कपिलवस्तु : जिल्ला सदरमुकाम तौलिहवामा आइसोलेसन वार्डको व्यवस्थापन नगरिँदा संक्रमित समस्यामा पर्न थालेका छन् । दैनिकजसो कोरोना संक्रमितसँग सम्पर्कमा आएकाको पीसीआर टेष्ट गर्दा नयाँ संक्रमितको संख्या बढ्दो छ ।
पछिल्लो पटक तौलिहवास्थित बालमन्दिर परिसरमा समुदायस्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न गरिएको कोरोना परीक्षणको रिर्पोट अनुसार करीब २ दर्जन उद्योगी व्यवसायी कोरोना संक्रमित भएका छन् । तर उनीहरुको व्यवस्थापनका लागि कही कतैबाट कुनै पहल नगरिएको उनीहरुले गुनासो गरेका छन् ।
आफू कोरोना संक्रमित भएपनि आफ्नो अवस्थाबारे कसैले बुझ्न नआएको कपिलवस्तु नगरपालिका १ का एक व्यवसायी विनोद गुप्ताले बताए । म संक्रमित भन्ने थाहा पाएपछि तनाब सुरु भयो, व्यवसायी गुप्ताले भने, 'संयुक्त परिवारमा बस्छु । छुट्टै शौचालन तथा स्नान घर छैन । बजारको घर साँघुरो छ ।'
'सरकारीस्तरबाट कतै आइसोलेसन वार्डको व्यवस्था भए, त्यहीं गएर बस्थे । तर के गर्नु त्यस्तो व्यवस्था रहेनछ,' ? व्यवसायी गुप्ताले गुनासो गरे। संक्रमित व्यवसायी गुप्तासँगै घर किनारकै अर्का संक्रमित व्यवसायीसहित २ जना आफन्तले बनाउँदै गरेको नयाँ घरमा बसेका छन् ।
घरमा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने मापदण्ड नपुगेका व्यक्तिका लागि तत्काल आइसोलेसन वार्डको व्यवस्थापन गरिनु पर्ने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले सरकारसँग माग गरेका छन् ।
संक्रमितको व्यवस्थापन उति व्यवस्थापन नगरिँदा तौलिहवा बजार क्षेत्रका उद्योगी व्यवसायी तथा आम सर्वसाधारणमा त्रासको अवस्था सृजना भएको तौलिहवा उद्योग वाणिज्य संघले जनाएको छ ।
जिल्ला सदरमुकाम तौलिहवामा आइसोलेसन वार्ड बनाउन भनेर साविकको महिला तथा बालबालिका कार्यालय भवनलाई खाली गराइएको थियो ।सो भवनमा वेड लगायतको व्यवस्थापन गरिएको भए पनि आइसोलेसन वार्ड भनिएको सो भवनहरु अहिले खाली अवस्थामा छ । ती भवनमा तत्काल आइसोलेसन वार्डको व्यवस्थापन गरिनुपर्ने अधिकारकर्मी रवि ठाकुरले माग गरेका छन् ।
जिल्लामा हालसम्म ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने बाँकी ३ जनाको अवस्था बिग्रिएको स्वास्थ्य कार्यालयले जनाएको छ।