उपत्यकामा बढ्यो कोरोनाको ग्राफ, एकैदिन थपिए १३८ जना संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो छ। पछिल्लो २४ घण्टामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार मात्र १३४ जनामा संक्रमण पुष्टि भएको थियो। काठमाडौंका १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार थप ४८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६४ कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १६ हजार ७ सय २८ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा १० हजार ४८१ पीसीआर परीक्षण भएका छन्। क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ८ सय ४६ पुगेको छ भने आइसोलेसनमा ७ हजार ६ सय १३ जनाको उपचार भइराखेको छ ।