कपिलवस्तु अस्पतालका चिकित्सक आन्दोलित
कपिलवस्तु : कपिलवस्तु अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारी अतिआवश्यक सेवा बाहेक अन्य सेवा प्रवाह नगर्ने गरी आन्दोलनमा उत्रिएका छन् । गत शनिबार साँझ कपिलवस्तु अस्पतालमा तातो चियाबाट जलेर घाइते अवस्थामा ल्याइएकी १ वर्षीय बालिकाको उपचारमा संलग्न मेडिकल अधिकृतमाथि भएको हातपात र अस्पताल तोडफोडको विषयमा स्थानीय प्रशासनले कुनै कारबाही प्रक्रिया अघि नबढाएको भन्दै डाक्टर तथा अस्पताल कर्मचारी आन्दोलित भएका हुन् ।
बिहीबार दिउँसो अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, मेडिकल अधिकृतदेखि सबै कर्मचारीले सामूहिकरुपमा प्रेस विज्ञप्ति जारी गर्दै दिउँसोबाट अस्तालबाट प्रवाह गरिने सेवाहरु अनिश्चितकालिन रुपमा बन्द गरेको घोषणा गरेका छन् ।
अस्पतालमा बिरामी उपचार गरिरहेका मेडिकल अधिकृतमाथि कुटपीट हुँदा र अस्पताल तोडफोड हुँदासम्म पनि स्थानीय प्रशासनबाट आफूहरुले कुनै संरक्षण नपाएको डाक्टर तथा अस्पताल कर्मचारीको गुनासो छ ।
शनिबार साँझ कपिलवस्तु नगरपालिका ८ की १ वर्षीय बालिका सोफिया खानको मृत्यु भएको थियो । मृतक बालिकालाई तातो चियाले पोलेर घाइते अवस्थामा उपचारका लागि कपिलवस्तु अस्पताल ल्याइएको थियो । उपचारका क्रममा अस्पतालका स्वास्थ्यकर्मीको लापरबाही भएको भन्दै आक्रोशित मृतक बालिकाका आफन्तले डाक्टरमाथि हातपात गर्नुका साथै अस्पतालको इमरजेन्सी वार्डमा तोडफोड गरेका थिए ।
अस्पतालमा उपचाररत बालिका मृत्युको यो घटनामा अस्पतालका स्वास्थ्यकर्मीको लापरबाही भए नभएको छानविनका लागि गत शनिबार राती नै जिल्ला प्रशासन कार्यालयमा मृतक बालिकाका आफन्त र नागरिक समाजका प्रतिनिधिबीच छलफल भइ सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा छानविन समित गठन गरिएको छ ।
छानबिन समितिले आफ्नो काम सुरु गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यता कपिलवस्तु अस्पतालका आन्दोलित डाक्टर तथा कर्मचारीले भने आफूहरुलाई गठित छानबिन समितिबारे केही थाहा नभएको बताए ।
डाक्टर कुटिदा र अस्पताल तोडफोड हुँदा समेत स्थानीय प्रशासनले आफूहरुको समस्याबारे चासो नराखेका कारण बाध्य भइ आफूहरु आन्दोलनमा उत्रिनु परेको डा. गणेश क्षेत्रीले बताए ।कोरोनाको यो महामारीमा घर परिवार छोडेर स्वास्थ्य सेवामा २४ औं घण्टा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने काम भएको छ, डा. क्षेत्रीले भने, 'यस्तै अवस्था रहिरहने हो भने हरेक घटनामा स्वास्थ्यकर्मी दिनहुँ कुटिने र अस्पताल तोडफोड भइरहने अवस्था आउँछ।'