सिन्धुपाल्चोक पहिरो अपडेट : ३० भन्दा धेरै घर पुरिए, ३६ जना वेपत्ता
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोले ३० भन्दा धेरै घर पुरिएका छन् । पहिरोमा परी ३६ जना वेपत्ता भएको घटनास्थलमा रहेका समामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार घटनास्थलमा एक जनाको हात र एक जनाको खुट्टा भेटिएको छ । घटनामा परी घाइते भएका १० जनालाई उपचारका लागि सदरमुकाम चौतारा र काठमाडौं पठाइएको छ।
अहिले घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । सभामुख अग्नि प्रसाद सापकोटासहितको टोली पनि घटनास्थल पुगेको छ । जिल्ला समन्वय समितिका संयोजक कृष्ण गोपाल तामाङ, गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा लगायतको टोली पनि घटनास्थलमा पुगेको प्रेस सल्लाहकार न्यौपानेले जानकरी दिएका छन्।
शुक्रबार बिहान ६ बजे पहिरो गएको थियो। घटनास्थल अति दुर्गममा भएको र सडक मार्ग समेत नभएकाले प्रहरीको टोली अहिलेसम्म पुग्न सकेको छैन् । घटनास्थलबाट सबैभन्दा नजकि रहेको कात्तिके प्रहरी चौकीबाट पैदल हिड्दा करिब ५ घण्टान्दा बढी समय लाग्छ । सेना र सभामुखको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको हो।
अहिले पनि पहिरो खसिरहेकाले उद्धारमा कठिनाइ भएको न्यौपानेले बताए।