बागलुङका जिसस प्रमुख र वडा अध्यक्षमा कोरोना पुष्टि
बागलुङ : जिल्लामा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको छ। पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणको क्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना र बडिगाड गाउँपालिका—६ का वडा अध्यक्ष मौसम काजी क्षत्रीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।
गत साउन १४ गतेदेखि जिल्ला बाहिरका बैठक र भेटघाटमा भएकाले कन्ट्याक्ट ट्रेसिङमा स्वाब दिइएको र रिपोर्ट पोजिटिभ भएको खबर आएको जिससी प्रमुख ढुंगानाले जानकारी दिए। ‘बाहिरबाट आएलगत्तै स्वाब दिएको हुँ, जिल्लामा त्यस यता कुनै पनि बैठक र कार्यक्रममा निस्किएको छैन’, उनले भने, ‘ममा सुगरको पनि केही समस्या छ, त्यसैले सेल्फ आइसोलेसनमा बस्ने कि धौलागिरि अस्पतालमा जाने भन्ने विषयमा निर्णयमा पुग्दैछौं।’
कोरोना संक्रमण पुष्टि भएका जिसस प्रमुख र वडा अध्यक्ष सेल्फ क्वारेन्टाइनमा बसिरहेकाले सोही स्थानमा राख्ने या आइसोलेसनमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए। उनले जनप्रतिनिधिमै देखिएकाले जिल्लामा कोरोना संक्रमण जोखिम रोक्न थप कसरी अगाडि जाने भन्ने विषयमा फेरि योजना बनाइने बताए। जिसस प्रमुख चितवन, पोखरा, काठमाण्डौं लगायतका स्थानमा गएकाले कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब लिइएको थियो भने वडा अध्यक्ष बडिगाडको क्वारेन्टाइन व्यवस्थापनमा खटिंदै आएका थिए।
कोरोनाका कारण जनप्रतिनिधि नै संक्रमित भएपछि बडिगाड गाउँपालिका सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने विषयमा छलफल भएको बडिगाड गाउँपालिका स्वास्थ्य सह–संयोजक चुडामणी कँडेलले बताए। ‘भारतबाट आएका २० जनाको पठाएका थियौं, उहाँहरु सबैको नेगेटिभ रिपोर्ट आएको थियो’, उनले भने, ‘जनप्रतिनिधिकै पोजिटिभ आएको छ। यसको स्रोत के हो ? कसरी भयो भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको छ। अब कसरी परीक्षण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’
बागलुङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ६५ पुगेको छ। अहिलेसम्म दुई सय ४५ निको भएर घर फर्केका छन्। एक युवाको मृत्यु भएको छ।