हेलिकप्टरदेखि एम्बुलेन्ससम्मको खोजीमा भौतारिएका कोरोना संक्रमितका परिवार

हेलिकप्टरदेखि एम्बुलेन्ससम्मको खोजीमा भौतारिएका कोरोना संक्रमितका परिवार

परासी : नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीले आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै अस्पताल शैयाबाट साउन २८ गते फेसबुकमा स्ट्याटस लेखे। मेडिकल कलेज भैरहवामा पित्त थैलीमा रहेको स्टोनको अपरेशन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो। 

कोरोनाको लक्षण देखिएको र श्वासप्रश्वासमा समेत केही समस्या देखिएपछि उनलाई लगत्तै बुटवलको कोरोना अस्पतालमा रिफर गरियो। निमोनियाको लक्षणसमेत देखिएका बिरामीको अवस्था कोरोना अस्पतालमा समेत सुधार हुने नदेखेपछि परिवारजनले ललितपुरको पाटन अस्पतालमा लैजाने निधो गरे। पाटन अस्पताल लैजान परिवारजनले २ दिनसम्म हेलिकप्टरको खोजी गर्न थाले। तर व्यवस्था गर्न सकेनन्। शुभचिन्तकहरुले सरकारका मन्त्रीहरुसँग समेत पहुँच पुर्‍याए। उनीहरुले समेत व्यवस्था गर्न सकेनन्। अन्य बिरामीका लागि हेलिकप्टरको व्यवस्था गर्न सके पनि कोरोना बिरामी लैजानका लागि उडान अनुमति दिन नसक्ने भन्दै जवाफ आएपछि २ दिनसम्मको प्रयास असफल भएको एक शुभचिन्तकले बताए। 

हेलिकप्टर नपाएपछि गिरी परिवारले चिकित्सकसहितिको सुविधायुक्त एम्बुलेन्सको खोजी गरे। रुपन्देहीदेखि विभिन्न जिल्लामा उक्त सुविधाको एम्बुलेन्स खोजे पनि परिवारले पाउन सकेन। रुपन्देहीका अन्य सामान्य एम्बुलेन्ससमेत जान नमानेको गिरीका भाइ मनोजले दुःखेसो पोखे। सामुदायिक मुटु अस्पताल बुटवलमा भेन्टिलेटरसहितको चिकित्सक सुविधाको एम्बुलेन्स छ। तर उक्त अस्पतालले रिफर गर्नुपर्ने मुटुका बिरामीबाहेक अन्य बिरामीलाई ओसारपसार गर्दैन।

 
हेलिकप्टरदेखि सामान्य एम्बुलेन्स समेत नपाएपछि अन्ततः गिरी परिवारले आफ्नै जिल्ला पश्चिम नवलपरासीमा सञ्चालन हुने एम्बुलेन्स बोलाएर साउन ३० गते साँझ बिरामीलाई पाटन अस्पताल पुर्‍याए। ‘दुई दिनसम्म हेलिकप्टरका लागि प्रयास गर्‍यौं कतै पाइएन, बिरामीको अवस्था सुध्रिने भन्दा बिग्रने जस्तो भयो। परिवारमा रुवावासी चलेको थियो। सामान्य एम्बुलेन्ससमेत नपाएपछि परासीबाट एम्बुलेन्स बोलाएर पाटन अस्पताल ल्यायौं', मनोजले भने। बुटवलको कोरोना अस्पतालको सेवा अव्यवस्थित रहेको उनले सुनाए। ‘हामी एक दिन बस्यौं। त्यहाँ उपचार सेवा राम्रो नदेखेकाले दाइलाई छिटो पाटन पुर्‍याउन खोजेका हौं तर एम्बुलेसन्स समेत पाउन गाह्रो भयो’, दाइको उपचारमा पाटन अस्पतालमा रहेका मनोजले मोबाइल कुराकानीमा भने। 

छिन छिनमा श्वासप्रश्वासमा समस्या आउने भएकाले एम्बुलेन्सबाहेक अर्को गाडीमासमेत अक्सिजन राखेर गिरीलाई पाटन पुर्‍याइएको हो।  उनको अवस्था सुधारोन्मुख रहेको गिरीका भाइ मनोजले बताए।

देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीलाई अस्पतालले भर्ना लिन नमानेर घर फर्केका घटना आइरहेका छन्। संक्रमितले उचित उपचार नपाएको गुनासो सुनिएका छन्। आफ्नै खर्च लगाएर स्वास्थ्य सुविधा खोज्दा समेत सरकारले व्यवस्था गर्न नसकेकोमा गिरीका भाइ मनोजले निराश व्यक्त गरे। उनले भने,‘कोरोनाका बिरामीको उपचारमा सरकार गम्भीर बनेन। पैसा हुनेले आफ्नै खर्चमा थप उपचारका लागि जान खोजे पनि सरकारले व्यवस्था गर्न सकेन। पैसा नहुनेहरुको अवस्था कस्तो होला ? ’ नागरिकले पाउने स्वास्थ्य सेवाबारे सरकारसँग उनले प्रश्न गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.