कांग्रेसमा निष्पक्ष महाधिवेशन हुनेमै शंका
बीपीको ‘करिश्मा’, सुवर्ण समशेरको ‘स्रोत’ र गणेशमान सिहंको ‘अडान’ बाट लोकतन्त्रसँगै नेपाली जनताका पक्षमा सतीसाल बनेर उभिएको कांग्रेस पार्टी कृष्णप्रसाद भट्टराईको ‘निष्ठा’ सँगै गिरिजाप्रसादको परिवर्तनकारी अठोटका कारण आजसम्म जीवन्त रहन सफल भएको हो। सुशील कोइरालाको तहसम्म पुग्दा गणतन्त्रात्मक संविधान जारी गरेर कांग्रेसले ठूला राजनीतिक परिवर्तनको अगुवाइ आफैंले गरेको पुष्टि गरिदिएको छ। तर, इतिहास जस्तो रहे पनि राजनेता गिरिजाप्रसादको निधनपश्चात् भने मुलुकमा ‘सर्वस्वीकार्य’ नेताको रिक्तता प्रस्टै देखियो।
सरल नेता सुशील कोइरालाको निधनपश्चात् कांग्रेसका ‘ट्रोइका’ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सुझबुझपूर्ण निर्णय र मध्यम तहका नेताको साथबाट कांग्रेस पार्टी चल्ने र नेपालमा वामपन्थीको वेगसमेत रोकिने अपेक्षा कांग्रेसजनसँगै लोकतन्त्रवादीमा थियो। तर, राणा, शाह र ठकुरी आदिले आफ्ना प्रिय पात्रका रूपमा देउवासँग सामीप्य बढाउने, पार्टीलाई बेथितिको हेडक्वार्टर देउवाले बनाउँदा पनि देउवालाई भन्दा सिटौलालाई दुस्मन शक्ति पौडेलले देख्ने र देउवा÷पौडेल दुवैको बेथिति चिरेर पार्टीलाई वैचारिक ऊर्जा प्रदान गरेर अगाडि बढ्न सिटौलासँग समूह नै सानो भएका कारण आज सिंगै कांग्रेस दिग्भ्रमित हँुदै चौबाटोमा ठिङ्ङ उभिन बाध्य छ। जसका कारण पार्टी निर्माणको करिब ७५ वर्षको इतिहासमा कांग्रेस आज संकटपूर्ण अवस्थामा छ। राजनीतिक दृढता, शालीनतासँगै निष्ठाका पर्याय बनेका बीपी, सुवर्णसमशेर, गणेशमान, किसुनजी हँुदै सुशील कोइरालासम्म देखेका पुस्ता आजको कांग्रेस पार्टीमा नेतृत्वको ‘डरलाग्दो रिक्तता’ महसुस गर्दै छ।
निष्पक्षतामा संशय : विधानतः राष्ट्रिय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका सबै संरचना गठन गरिसक्नुपर्ने हुन्छ। तर, २०७२ फागुनमा महाधिवेशन सम्पन्न गरेको कांग्रेसको चारबर्से कार्यकाल गत फागुनमै सम्पन्न भएर पार्टीका सबै तह ‘तदर्थ’ मा परिणत भएपश्चात् पार्टीका विभागहरू धमाधम भरिँदै छन् ! त्यतिले मात्र नपुगेर महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपश्चात् अन्य पार्टीबाट प्रवेश गराइएका नेता–कार्यकर्तालाई महाधिवेशन आफैंलाई सहयोग गर्ने ‘वाचा कसम’ खुवाएर पार्टीको उपल्लो तहमा भटाभट मनोनयन गरिँदै छ।
पार्टीका तल्ला तहको समायोजनका निम्ति बनेको समिति स्वयंले पार्टीका विधि, पद्धति र निर्देशिकाअनुसार स्वतन्त्रपूर्वक काम गर्न सकेको छैन। पार्टीको विधान स्वयंको अपव्याख्या गरी कार्यकर्ता भर्ती गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्न दर्जनौं विभाग मनोमानी ढंगले थपिँदै छ। यसले देखाउँछ– वर्तमान नेतृत्वको चित्र र चरित्र। पञ्चायतकालको विषम परिस्थितिसँगै तेह्रौं महाधिवेशनसम्म पुग्दा कुनै पनि सभापतिको कार्यकालमा महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको थिएन।
एघारौंमा स्वयं देउवाले प्रजातान्त्रिक कांग्रेस निर्माण गरी बाह्रौंसम्म उनले पार्टी टिकाउनै नसकी प्रजातान्त्रिक कांग्रेस स्वयं नेपाली कांग्रेसमा ‘मर्ज’ भएको थियो। तर, चौधौं महाधिवेशनको तयारीको पूर्वसन्ध्यामा भएगरेका घटनाक्रमबाट देउवाइतर समूह मात्र नभई आम लोकतन्त्रवादीले देउवा समूहको निर्णयमाथि औंला ठड्याएका छन्। महाधिवेशन पूर्वतयारी र त्यसका नाममा समायोजन, सदस्यता वितरण, विभाग गठनसँगै केन्द्रीय समितिसम्ममा भएगरेका मनोनयन यही रफ्तारमा बढ्दै जाने हो भने महाधिवेशनकै सेरोफेरोमा कांग्रेस पार्टीनै ‘ब्रेक’ हुने त होइन भन्ने आशंका जन्मिएको छ।
निर्वाचनको समीक्षा : कुनै पनि राजनीतिक दलको लोकप्रियताको मापन निर्वाचनमा प्राप्त मतसँग जोडेर हेर्ने गरिन्छ। कांग्रेस आफैंले सम्पन्न गरेको निर्वाचनमा जनताका बीचमा जाँदा प्रस्तुत गर्नुपर्ने एजेन्डादेखि टिकट वितरणसम्ममा देखाएको तमासाका कारण परिणाम पूर्व अनुमान लगाएअनुसार नै निराशाजनक देखा पर्यो। संविधान जारीसम्मको महत्वपूर्ण एजेन्डासमेत जनताका बीचमा स्थापित कांग्रेस नेतृत्वले गर्नै सकेन। कांग्रेसको चुनावी नारा भनेकै ज्योतिषीको सहारा बन्न पुग्यो। निर्वाचनपश्चात् टिकट वितरणकै बेलादेखि भएगरेका कमीकमजोरीको समीक्षासँगै भागीदार पनि ६०/४० हिसाबले देउवा र पौडेलले लिनुपर्ने थियो। तर, हारको जिम्मेवारीसमेत आजका मितिसम्म अलपत्र छ।
पार्टीलाई सच्याउने हो भने वैचारिक बहससहित मुलुक र पार्टी निर्माणको खाकासहितको कांग्रेस नेतृत्व चयन गर्न जरुरी छ, जसले परिवारभन्दा पार्टीलाई र पार्टीलाई भन्दा मुलुकलाई सर्वोपरि ठानोस्।
हिजो बीपीले आफूलाई थाहै नभएको विषयको समेत पार्टी नेताको हैसियतले जिम्मेवारी लिने बताएर उच्च नैतिकता प्रस्तुत गर्ने गरेका थिए। तर आज आमनिर्वाचन जस्तो विषयको परिणामको जोडघटाउ तथा समीक्षासमेत अलपत्र राख्ने पार्टीले भोलिका दिनमा कसरी र के एजेन्डा लिएर जनताका बीचमा जाला भन्ने प्रश्नको जवाफसमेत अनुत्तरित नै छ। समानुपातिकका हकमा टिकट बिक्रीसमेत भएको आवाज पार्टीमा उठिसकेको छ।
देशैभरका कार्यकर्ताको रगत र पसिनाद्वारा सिञ्चित पार्टीको टिकट वितरण बिक्रीमा र पार्टी सञ्चालन विनोद चौधरी, उमेश श्रेष्ठ र रुगंटाका हातमा पुगेपछि पार्टीकै भविष्यकाबारे संशय पैदा हुनुलाई अन्यथा भनिहाल्न मिल्दैन। समयक्रमसँगै पार्टीभित्र विभिन्न घटनाक्रमको समीक्षा तथा विचारको बहस प्रारम्भ नगरी आजका मितिको झैं बेथितिमै पार्टीलाई तदर्थवादमै सञ्चालन गरिने हो भने पार्टीको भविष्यमाथि नै प्रश्नचिन्ह खडा हुन समय लाग्ने छैन।
कांग्रेसको भोलिको तस्बिर: राजनीतिक दललाई जीवन्त राख्ने भनेकै ‘विचार’ ले हो। सत्ताले वा सत्ता प्राप्तिको खेलले कुनै पनि दल जीवन्त रहने भए न त हिजोको राप्रपा खुम्चिन्थ्यो, न त आजको नेकपाको यो हाल नै हुन्थ्यो। कांग्रेसले अब दक्षिणपन्थी, रुढिवादी एवं सभ्रान्तसँगको साइनो छाडेर विचारको राजनीतिको सन्देश दिँदै यो बीचमा भएगरेका बेथितिबारे कार्यकर्ता र आम लोकतन्त्रवादीसामु आफू सच्चिएको सन्देश दिन जरुरी छ। आफू सच्चिएको सन्देशसँगै आगामी ५०÷६० वर्षको मार्गचित्र प्रस्तुत गर्न सक्दा मात्र कांग्रेसको भोलिको तस्बिर उज्ज्वल हुने हो। नेकपाको सत्ता प्राप्तिको ‘म्युजिकल चियर’ खेलको दर्शकदीर्घामा रहेर ताली पड्काउने चरित्र बोकेको कांग्रेसले अबको युग हाँक्नै सक्दैन।
विदेशबाट फर्किएका तथा देशमै रहेर केही गर्ने अठोट बोकेका ‘नवजवान’ लाई राष्ट्रनिर्माणको फराकिलो मार्गमा डोर्याउन नसक्ने हो भने ती युवामध्ये अधिकांशलाई विद्रोहीले क्यास गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। अर्कातिर राष्ट्रिय झन्डा बोकेर सड्कमा उत्रिएका हजारौं युवा आकर्षित कार्यक्रम यदि कांग्रेससँग छैन भने कांग्रेस स्वयं पनि १०÷८ जना ढाका टोपी लगाउनेहरूको पार्टीमा रूपान्तरण हुन समय लाग्ने छैन। कांग्रेस पार्टीकै उपल्लो तहमा पुग्ने सपना देख्ने राजकुमार पुस्ता (निधि, सिंह र कोइराला) देखि हिजो गणतन्त्रका पक्षमा गगनभेदी नारा बोकेर सडकमा उत्रिएका युवा नेतासम्मले कम्तीमा आजका मितिमा ‘कस्तो कांग्रेस, कसको कांग्रेस’ भन्ने एउटा कमन दस्ताबेज तयार गरेर तल्लो तहसम्म लैजान सक्दा मात्र कांग्रेस पार्टी जीवन्त रहन सम्भव छ। अन्यथा कांग्रेसको भोलिको तस्बिर आफैं वा अन्य कसैको बलमा उज्ज्वल रहन सम्भव छैन।
सत्ताप्रतिको भ्रम : कांग्रेस नेतृत्वमा आज एकातिर सत्तारुढ दलको फुटमा आफ्नो उदय देख्ने टिठलाग्दो अवस्था विद्यमान छ भने अर्कातिर एकदुइटा आयोग वा समितिमा आफ्ना दुईचार थान कार्यकर्ता सेट गर्न पाए हुन्थ्यो भन्ने खुद्रे मनस्थिति हावी छ। सत्ताको अाँगनमा देउसी खेलेर प्राप्त गरिने ‘भिक्षा’ ले प्रतिपक्षको दायित्व पूरा हुनै सक्दैन। प्रतीपक्षको दायित्व पूरा गर्न पूर्वसर्त भनेकै प्रतीपक्षमा जनताप्रतिको इमानदारी हुनु हो। वाइड बडीदेखि यतीसम्मको घोटाला प्रकरणमा भाग खोज्ने प्रवृत्तिले प्रतिपक्षलाई इमानमा राख्न मद्दत पुर्याउँदैन।
जब ठूलाठूला घोटाला प्रकरणमा प्रतिपक्षको नाम जोडिन्छ, तब बुझ्नुपर्ने हुन्छ– कांग्रेस नेतृत्व इमानमा रहन सकेको छैन। गिरिजाप्रसाद कोइरालाले ०४८–०५१ मा सत्ता चलाउँदाताकाका प्रतिपक्षी मदन भण्डारीको झैं आवाज आजको कांग्रेसबाट खोजेका छन् लोकतन्त्रवादीले। तर, यतिबेलाको कांग्रेस सत्तारुढ कि प्रतिपक्ष भन्ने स्थितिमा छ। कांग्रेसलाई यो अवस्थाबाट बाहिर निकालेर जुझारु एवं परिवर्तनशील कांग्रेस बनाउने सुनौलो अवसर भनेकै महाधिवेशन हो। नेताले आफ्नो मूल्यांकन गरेनन् भनेर नथाक्ने कार्यकर्ताले कम्तीमा अब आफ्नो मूल्यांकन गर्न सक्ने नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन सकिन्छ महाधिवेशनलाई। नेतृत्व छनोटको समय हवाई सपनामा रमाउने अनि जनताको बीचबाट हारेपछि नेतृत्वलाई ‘धारे हात’ लगाउने प्रवृत्तिबाट कम्तीमा कार्यकर्ता पनि मुक्त हुन जरुरी छ।
अबको नेतृत्व : कोभिडदेखि करप्सनसम्मले थलिएको अर्थतन्त्र तत्कालै उकासीन मुस्किल छ। विदेशबाट फर्किएका देखि देशभित्रै रहेका दशौं लाख युवा बेरोजगार छन्। शैक्षिक क्षेत्र एक आर्थिक वर्ष रोकिन पुग्दा विद्यार्थीमा गहिरो मनोवैज्ञानिक त्रासको छाप पर्न पुगेको छ। सत्तारुढ नेकपाको सत्ताको घिनलाग्दो खेलका कारण बहुमत भए पनि केही नहुने रहेछ भन्ने पर्दा आम मानिसमा राजनीतिका प्रति नै वितृष्णा पैदा भएको छ। छिमेकी दुई मुलुकमध्ये उत्तरतिर आवश्यकताभन्दा ज्यादा झुकाव र दक्षिणतिर नचाहिँदो ढंगले सत्ताले बढाएको दूरीका कारण छिमेकी मुलुकसँग पञ्चशीलमा आधारित कूटनीतिक सम्बन्ध नै डगमगाउन पुगेको छ। न्यायपालिका, कार्यपालिकादेखि व्यवस्थापिकासम्मलाई सत्ताको छायामा राख्ने खेल प्रारम्भ भएको छ। भ्रष्टाचार स्केलको मापनका लागि मेलम्ची आयोजनाको हविगत हेरे पुग्छ। आजका मितिमा सत्ताद्वारा सिर्जित यी र यस्ता दर्जनौं बेथिति यहाँ उल्लेख गर्न सकिन्छ। तसर्थ समग्र यो प्रवृत्ति रोक्न कांग्रेस पार्टीले आगामी महाधिवेशनबाट कस्तो नेतृत्व छान्छ वा नेतृत्वमा को भन्ने कुराले धेरै कुरा निर्धारण गर्छ। यथास्थितिमै कांग्रेसजन रमाउन पुगे भने मुलुकमा न गणतन्त्रको स्थायित्व हुन्छ, न त सुशासन नै। प्रतिपक्षमा रहेर पनि भाग खोज्न साइरन बजाउँदै बालुवाटार पुग्ने नेतृत्वको विस्थापनमै कांग्रेसको हित छ।
कांग्रेसजनले बीपीको विचार हेर्न जरुरी छ, बिबीको आर्थिक प्रलोभन मात्र हेरेर २१ औं शताब्दीको कांग्रेस निर्माण सम्भवै छैन। अर्थोपार्जनका निम्ति त भक्तपुरमा भाडा पसल वा ट्यौंडामा मम पसल पनि खोल्न सकिन्छ, राजनीति गर्नै पर्दैन। पार्टीलाई सच्याउने हो भने वैचारिक बहससहित मुलुक र पार्टी निर्माणको खाकासहितको कांग्रेस नेतृत्व चयन गर्न जरुरी छ, जसले परिवारभन्दा पार्टीलाई र पार्टीलाई भन्दा मुलुकलाई सर्वोपरि ठान्छ। अन्यथा विगतको गल्ती दोहोरिने हो भने न रामचन्द्र पौडेलले भने झैं समाजवाद प्राप्ति सम्भव छ, न त कृष्णप्रसाद सिटौलाले भने झैं पार्टीलाई वैचारिक धारमा लैजानै सम्भव छ। समाजवादी बाटोका माध्यमबाट कांग्रेस र कांग्रेसका माध्यमबाट मुलुक निर्माणका लागि पनि कांग्रेसमा नेतृत्व परिवर्तन अनिवार्य सर्त हो। त्यसका लागि एकपटक देशैभरका कांग्रेसजनले कांग्रेस सच्याउन र त्यसअघि आफू पनि सच्चिन जरुरी छ।