बर्दियामा निषेधाज्ञा थपियो
गुलरियाः बर्दियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि लम्ब्याएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकको निर्णयबाट बर्दियामा तेस्रो पटक निषेधाज्ञा थपिएको हो।
बर्दियामा कोरोना भाइरस फैलिने क्रम बढेपछि यसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) वमोजिम साउन २५ गतेको दोस्रो निषेधाज्ञा साउन ३२ गते सकिएकाले भाद्र ५ गते सम्मका लागि पुनः तेस्रो पटक निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए। बर्दियामा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ।
निषेधाज्ञा अवधिभर खाद्यान्न, औषधि, दूध, फलफूल लगायतका अत्यावश्यक सेवा बाहेकका पसल बन्द रहने छन्।