२ पत्रकार, श्रीमती र छोरीलाई पनि कोरोना
नवलपुर : पूर्वी नवलपरासीको कावासोतीका २ पत्रकारसहित परिवारका अन्य २ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि ४१ वर्षीय पत्रकार एकसाताअघिसामुदायिक प्राकृतिक चिकित्सालय रजहरको आइसोलेसनमा भर्ना भएका थिए। त्यसक्रममा उनको परिवारमा समेत परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा उनकी ३७ वर्षीया श्रीमती र १४ वर्षीया छोरीमा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले बताए। छोराको भने नेगेटिभ रिपोर्ट आएको छ। संक्रमित पत्रकार स्थानीय एफएम रेडियो र साप्ताहिक पत्रिकाका सञ्चालक हुन्।
संक्रमित पत्रकारसँग अन्य पत्रकारहरु पनि सँगै हिडेपछि उनीहरुको समेत परीक्षण गरिएको थियो। त्यस क्रममा अर्का ३७ वर्षीय पत्रकारमा पनि कोराना संक्रमण रहेको मंगलबार पुष्टि भएको स्वास्थ्य प्रमुख चापागाइले जानकारी दिए।
उनी कावासोतीबाट सञ्चालन हुने एक अनलाइनका अध्यक्ष एंव प्रबन्ध निर्देशक हुन्। पत्रकारमा संक्रमण देखिएपछि अहिलेसम्म नवलपुरका करिब ५० जना पत्रकारको परीक्षण गरिएको स्वास्थ्य प्रमुख चापागाईले बताए। अधिकांशको रिपोर्ट नेगेटिभ आएको छ। केहीको रिपोर्ट आउन बाँकी छ।
मंगलबार पोजेटिभ देखिएका पत्रकारसहित अर्का पत्रकारका परिवारलाई पनि सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा पठाइएको छ। यसैबीच नवलपुरमा समुदाय स्तरमा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ। अहिलेसम्म नवलपुरमा ३४६ जनामा संक्रमण देखिएको स्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।