सिर्जनात्मक काममा कलाकार

सिर्जनात्मक काममा कलाकार

काठमाडौं : लकडाउन खुकुलो हुँदै गएपछि कलाकार उत्साहित थिए । तर साउन अन्तिम साताबाट लकडाउन पुनः लम्बिएपछि कलाकारहरू किंकर्तव्यविमूढ भएका छन् । हलमा फिल्म चल्ने अवस्था छैन । न त सुटिङ गर्ने अवस्था नै छ । कला क्षेत्रमा काम नभएपछि द्वन्द्व निर्देशक किरण दाहाल फुटपाथमा तरकारी बेच्न थालेको समाचार आयो । जीवन जिउन पेसा परिवर्तनसमेत गर्नुपर्ने जटिल परिस्थितिमा जो कोही पुगेका छन् ।

नायिका केकी अधिकारी भने आफ्नै रुचिको काममा व्यस्त छिन् । ‘टोलाउँदै बसेर काम छैन । कलाकार मात्रै होइन, सबैले आआफ्नो क्षेत्रमा वैकल्पिक रूपमा के कस्तो काम गर्न सकिन्छ, थालिहाल्नुपर्छ’, केकी भन्छिन्, ‘आफ्नो क्षमताले के काम गर्न सकिन्छ, त्यो गर्नुपर्छ ।’

केकीले लकडाउनकै अवधिमा देवी घर्तीको स्वर, प्रकाश सपूतको निर्देशनमा बनेको ‘बदला बरिलै’ गीतको भिडियोमा अभिनय गरिन् । यो गीत अहिले ट्रेन्डिङमा छ । उनले एपीवान टेलिभिजनमा ‘आईएमई गाईजात्रा २०७७’ कार्यक्रम चलाइन् । ‘कमेडी च्याम्पियन सिजन–२’को अडिसन यही भदौ १५ बाट सुरु हुँदैछ । एक निर्माताका रूपमा उनी हाल ‘कमेडी च्याम्पियन सिजन–२’लाई थप कसरी राम्रो बनाउन सकिन्छ भन्ने गृहकार्यमा छिन् । भन्छिन्, ‘लकडाउनको अवधिमा पनि म खाली बसेकी छैन । सिर्जनात्मक काम गरिरहेकी छु । काम नगरे खाली दिमाग सैतानको घर हुन्छ ।’

निर्देशनमा समेत हात हालेका गायक प्रकाश सपूत लकडाउनको लामो समय गाउँमै बसे । वर्षौंपछि मकै गोडे, धान रोपे । कुनै भिडियोमा काम लाग्ला कि भनेर आफू काम गरेकै भिडियो फुटेज पनि बनाए । आफ्नो कन्सेप्टको ‘बदला बरिलै’ गीत हिट भएपछि उनी सन्तुष्ट छन् । धेरैलाई यो दुईचार दिनमै सकिएको काम होला भन्ने लागे पनि यसमा वर्ष दिनको गृहकार्य परेको उनले जनाए । ‘बदला बरिलै गीतको भिडियो सम्पादन गर्दा बजार केही खुकुलो थियो । अहिले फेरि पुरानै अवस्थामा लकडाउन पुगेको छ । गीतसमेत रेकर्ड गर्ने अवस्था रहेन’, सपूत भन्छन्, ‘त्यसैले हाल फुर्सदको समयमा नयाँ भिडियो कन्सेप्ट तथा शब्द रचनामा रुमल्लिएको छु ।’

नायिका अब गायिका

सुटिङको दौडधुप कम भएपछि नायिका नीता ढुंगाना गायिका भएकी छन् । उनले ‘ श्री गणेश भजन’ केही दिनअगाडि आफ्नो स्वरमा रेकर्ड गराएकोमा सेट लगाएर यो गीतको भिडियोको सुटिङ सकाएकी छन् । सुटिङको दृश्य रातिको थियो तर सामाजिक दूरी कायम गर्दै प्रशासनबाट दिउँसो मात्रै खिच्ने अनुमति दिइयो । भन्छिन्, ‘धन्न, लकडाउनमा पनि तीन दिनपहिले सुटिङ सकियो । सम्पादनको काम भइरहेको छ ।’ सुटिङमा रोक लगाउने सरकारको काम नाजायज नभएको र स्वास्थ्य नै पहिलो प्राथमिकता रहेको उनले बताइन् ।

नायिका ढुंगाना लकडाउनमा कमाइ नभएपछि खर्च घटाउन सबैसँग आग्रह गर्छिन् । भन्छिन्, ‘घाँटी हेरी हाड निलौं । सामान्य जीवन बिताऔं, तडकभडक नगरौं ।’ उनले केही समयपहिले लकडाउनकै विषयमा छोटो डकुमेन्ट्री बनाएकी थिइन् । छोटो डकुमेन्ट्री घर, कम्पाउन्ड तथा घर छेउमा खिच्न सकिन्छ । पुनः अरू छोटो डकुमेन्ट्री बनाउने कन्सेप्ट आएको उनले सुनाइन् । भन्छिन्, ‘युट्युबरहरूले हाम्रो गतिविधि बेचेर आम्दानी गरिरहेका छन् । हामी पनि युट्युबमा रचनात्मक कोसेली दिन सक्छौं । यसबाट भलै पैसा नकमाइएला तर दर्शकको सम्पर्कमा त रहन्छौं नि ।’

घरभित्रै बसेर सिर्जनात्मक कामबाहेक अरू उपाय नभएको बताउने कलाकार दीपकराज गिरी फिल्म ‘छक्कापञ्जा–४’को कथा पटकथा लेखनमा व्यस्त छन् । भन्छन्, ‘कोरोनाले धेरैलाई पूर्ण रूपले बेरोजगार बनाएको छ । तर अहिले स्वास्थ्य नै पहिलो प्राथमिकता हो । पेडा खाने कि पिण्ड आआफ्नो रोजाइ ।’

योजना नबनाए, सपना नबनाए काम लथालिंग हुन्छ । त्यसैले दीपकले सपना देख्न छाडेका छैनन् । भन्छन्, ‘संसारभरिका मान्छे पैसा टिप्न दौडिरहेका थिए । मान्छेलाई सधैं हतार थियो । ईश्वरलाई यो मञ्जुर भएन । त्यसैले उनले कोरोना बनाएर जीवनको आत्मसमीक्षा गर्न भनेका छन् । आत्मसमीक्षा गरौं । सिर्जनात्मक बनौं । यसलाई पैसा पर्दैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.