कर्णाली प्रदेश स्थापनाका पाँच वर्ष : भूगोल मिल्यो, समृद्धि अधुरै

कर्णाली प्रदेश स्थापनाका पाँच वर्ष : भूगोल मिल्यो, समृद्धि अधुरै

सुर्खेतः पाँच वर्षअघि दलहरु प्रदेशको सिमांकन गर्दै थिए । तत्कालिन मध्यपश्चिमका केही जिल्लाहरु सुदूरुपश्चिममा गाभिए । त्यसैको विरोधमा अखण्ड मध्यपश्चिमको मागसहित आन्दोलन भयो ।त्यही क्रममा २०७२ साउनमा सुर्खेतमा तीन र जुम्लामा एक जना मारिए । 

सिमाकंनविरुद्धको आन्दोलन दबाउन प्रहरीले चलाएको गोली लागेर सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम र गोपालसिंह रजवारको ज्यान गयो ।जुम्लामा हरिबहादुर कुवँर मारिए ।आन्दोलनपछि तत्कालिन शिर्ष नेतृत्व सुदूरपश्चिममा गाभिएका जिल्ला फिर्ता गर्न तयार भयो ।

१३ दिनसम्म चलेको त्यही आन्दोलनको बलमा २०७२ भदौ ४ गते छैठौं प्रदेश घोषणा भयो । नागरिकको संघर्षबाट कर्णाली प्रदेश स्थापना भएको आज (बिहीबार) पाँच वर्ष पुग्यो। प्रदेशको नाम अहिले कर्णाली राखिएको छ । आन्दोलनबाट कर्णालीको छुट्टै भौगोलिक र राजनीतिक अस्तित्व कायम भयो । तर प्रदेश सरकार र राजनीतिक नेतृत्वले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो बढेको छ । यो अवधिमा न सहिदका सपना पूरा भए, न त सहिद परिवार र नागरिकलाई सन्तुष्ट बनाउने गरी प्रदेश सरकारले प्रयास नै गरेको छ । 

सहिद पार्क निर्माण र भदौ ४ गतेलाई सहिद दिवसको रुपमा मनाउने बाहेक अन्य माग सम्बोधन भएका छैनन् । 'प्रदेश प्राप्तिका लागि हाम्रा आफन्तले रगत बगाए, तर प्रदेश सरकारबाट रगतको सम्मान भएको छैन,' सहिद यामबहादुर विसीकी बहिनी भगवती विसी भन्छिन्, 'प्रदेशका प्राप्तिका लागि भएको आन्दोलनमा हाम्रा आफन्त ढले, तर अब हाम्रो विकास र समृद्धिका सपना नढलून् ।'

उनले शालिक निर्माण, सहिदगेट निर्माण, सहिदको नाममा चोकको नामांकरण र परिवारलाई रोजगारी दिनेजस्ता महत्वपूर्ण मागहरुको प्रदेश सरकारले सुनुवाइन नगरेको गुनोसो गरिन् । सोही आन्दोलनमा भाइ हरिबहादुर कुँवरलाई गुमाएका जुम्लाका राजबहादुर कुँवरले सहिदका सपना पूरा नभएको गुनासो गरे । 'आन्दोलनबाट प्रदेश त प्राप्त भयो, तर समृद्ध कर्णालीको सपना अधुरै छ', उनी भन्छन्, 'सहिदको रगतले भूगोल त प्राप्त भयो, तर आम नागरिकका सपना पुरा हुन सकेनन् ।'

सहिदको बलिदानबाट प्रदेश जन्मिए पनि कर्णालीले गरिवी र अभावको परिभाषा बदल्न नसकेको उनको तर्क छ ।आन्दोलन चर्किएपछि त्यसबेला दलहरुले१० जिल्लालाई मिलाएर २०७२ भदौ ४ गते छुट्टै प्रदेश घोषणा गरेका थिए ।

जीवनस्तर बदलिएन

आन्दोलनमा सहभागी अगुवाहरु पनि समृद्ध कर्णालीको सपना पूरा हुन नसकेको बताउँछन् । प्रदेश सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको उनीहरुको आरोप छ । 'भूगोल प्राप्तिका लागि नागरिकले ज्यान गुमाए, आन्दोलनकै बलमा प्रदेश पनि प्राप्त भयो,' तत्कालिन अखण्ड मध्यपश्चिम आन्दोलन नागरिक संघर्ष समितिका संयोजक तेजविक्रम वस्नेत भन्छन, 'त्यो आन्दोलनको मर्म प्रदेश प्राप्त गर्नु मात्रै थिएन, जनताको जीवनस्तर नै बदल्नु थियो । तर अपेक्षाअनुसार काम हुन सकेन ।'

तत्कालिन जुम्ला आन्दोलन परिचालन कमिटीका सदस्य सुरबहादुर सिंह प्रदेश सरकार आन्दोलनको मर्म अनुसार चल्न नसकेको बताउँछन् । 'साविकको कर्णालीलाई विशेष अधिकार दिलाउन जुम्लावासी आन्दोलनमा होमिएका थिए,' उनी भन्छन्, 'प्रदेश प्राप्त भएपनि विकासमा साविक कर्णाली प्राथमिकतामा परेन ।'

सपना पूरा गर्छौं

प्रदेश सरकारले भने नागरिकको विकास र समृद्धिको सपना पूरा गरिने जनाएको छ । 'समृद्ध कर्णाली, सुखारी कर्णालीवासी' को सपना पूरा गर्ने प्रयास भइरहेको प्रदेश सरकारको भनाइ छ । प्रदेश सरकारका प्रवत्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, 'सहिदको उच्च सम्मान गर्नकै लागि प्रदेश सरकारले सहिद स्मृति प्रतिष्ठान गठन गर्ने योजना बनाएको छ ।'

सहिदको योगदानकै कारण प्रदेश प्राप्ति भएको भन्दै उनले सहिदको सम्मान गरिने जनाइन् । सहिद परिवारले उठाएका मागहरु पूरा गर्न सहिद पार्क निर्माण भएपछि सहिदका शालिक र सहिद गेट बनाइने प्रदेश  सरकारको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.