पूर्वी नवलपरासीमा एकै दिन २० जना संक्रमति, जिल्ला अस्पताल सिल
परासी : पूर्वी नवलपरासीमा एकै दिन २० जना कोरोना संक्रमित थपिएका छन्। पोखरामा गरिएको परीक्षणमा १९ र भरतपुरमा गरिएको परीक्षणमा उनीहरु संक्रमित देखिएको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए।
शुक्रबार थपिएका संक्रमितमा विनयी-त्रिवेणी गाउँपालिकाका १८ र गैंडाकोट र कावसोती नगरपालिकाका १/१ जना रहेको उनले बताए। संक्रमितमध्ये १० जनामा लक्षण देखिएको छ। तिमध्ये ५ जना मध्यविन्दु अस्पतालमा उपचारार्थ छन्। अरुलाई सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पठाइने छ। रजहरमा पनि चिकित्ससहितको टोली रहेकोले बाँकीको त्यही उपचार हुने स्वास्थ्य प्रमुख चापागाईले बताए। अरुको अवस्था सामान्य छ। सबैलाई प्राकृतिक चिकित्सालयमै पठाइने छ। जिल्लामा हालसम्म ३ सय ८१ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसैबीच अस्पतालका बिरामीमा संक्रमण देखिएपछि मध्यविन्दु जिल्ला अस्पताललाई शुक्रबारदेखि सिल गरिएको छ। अस्पतालमा उपचारार्थ ५ जनामा संक्रमण देखिएको छ। उपचारार्थ भर्ना भएका अन्य १७ जनालाई घर पठाएर अस्प्ताल सिल गरिएको अध्यक्ष खनालले बताए। बिरामीमा संक्रमण देखिएपछि अस्पतालमा सेवा दिइरहेका चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको उनले जानकारी दिए। स्वास्थ्यकर्मीहरुको आइतबार पीसीआर परीक्षण गरिने र त्यसपछि अस्पतालको सेवाबारे निर्णय हुने अध्यक्ष खनालले बताए।