नेपालले नाप्यो सगरमाथाको उचाइ, घोषणा गर्न चीनसँग समन्वय हुँदै
काठमाडौं : विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।
सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । उनले नयाँ उचाइ कति भनेर खुलाएनन् ।
नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ । ‘लकडाउनका सुरुआती दिनमा काम केही प्रभावित भयो तर अहिले सकेका छौ’, उनले भने, ‘चीनसँग संयुक्त रूपमा घोषणा गर्ने सहमतिले गर्दा केही समय लेला ।’ चीनका तर्फबाट पनि मापनको काम भइरहेको उनले बताए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा संयुक्त रूपमा गर्ने उल्लेख थियो । चिनियाँ राष्ट्रपति चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त वक्तव्य सन् २०१९ अक्टोबर १३ मा आएको थियो । वक्तव्यको बुँदा नम्बर ८ मा लेखिएको छ, ‘सगरमाथा÷चोमोलङमा नेपाल र चीनको मित्रताको प्रतीक हो भन्ने मान्यतालाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने र वातावरण संरक्षणलगायत विभिन्न क्षेत्रमा सहयोग बढावा दिनेछन् । संयुक्त रूपमा सगरमाथा÷ चोमोलङमाको उचाइ घोषणा गर्नेछ र वैज्ञानिक अनुसन्धान गर्नेछ ।’
डंगोलका अनुसार सन् २०१८ फेब्रुअरीमा सगरमाथाको उचाइ मापनको फिल्ड वर्क सुरु भएको थियो । उक्त काम डिसेम्बरमा सकिएको थियो । प्रमुख नापी अधिकृत खेमलाल गौतम र नापी अधिकृत रविन कार्कीले २०१९ मे २२ मा सगरमाथाको उचाइ पुगेर जीएनएसएस सर्वेक्षण गरेका थिए । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आधार शिविरसम्म पुगेकी थिइन् ।
डंगोलका अनुसार सगरमाथा उचाइ मापन गर्न जियोइड प्रतिपादन भूआकर्षण बिन्दु आवश्यक पर्छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगाका विभिन्न स्थानमा गरी ४८ बिन्दुको मोनुमेन्टसन गरिएको छ । १०२ बिन्दुमा जीएनएसएस सर्भेक्षण गरिएको छ । सिरहाको मदारबाट सोलुखुम्बुको पतालेसम्म ४९ बिन्दुको लेभलिङ रुटमा जीएनएसएस सर्भेक्षण भएको छ ।
‘चीनतर्फ पनि सगरमाथा उचाइको मापन गरिरहेको छ । ‘चीनसँग सगै घोषणा गर्ने कुराले केही समय लाग्ने देखिएको छ’, मन्त्रालय स्रोतले भन्यो ।
नापी विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठले सगरमाथा नेपालको भएकाले उचाइ घोषणा आफैले गर्नु उत्तम हुने बताए । यद्यपि, दुई मुलुकका राष्ट्रपति बसेर संयुक्त रूपमा घोषणा गर्दा पनि फरक नपर्ने उनको तर्क छ ।
‘हाम्रो सगरमाथाको उचाइ हामीले घोषणा गर्नु सबैभन्दा राम्रो हो । तर, दुई देशका राष्ट्र प्रमुखले सँगै घोषणा गर्ने भनेर सहमति गरिसकेका छन्’, उनले भने, ‘कि त त्यो सहमति नै गर्नु हँुदैनथ्यो अब गरेपछि अब मिलेर गर्नुपर्छ ।’ उनका अनुसार उचाइ फरक–फरक आए घोषणामा ढिलाइ हुनेछ । ‘दुवै पक्षको मिल्यो भने त छिटै घोषणा होला । उता काम धमाधाम भइरहेको सुनिएको छ । फरक आयो भने के के कारणले फरक आयो भनेर मिलाउन अलि समय लाग्छ’, उनले भने ।
कहिलेदेखि मापन भयो सगरमाथाको उचाइ
संसारकै अग्लो शिखरको उचाइ १ सय ७० वर्षअघि पहिलो पटक मापन गरिएको थियो । ब्रिटिस सर्भे अफ इन्डियाले सन् १८४९ मा ८,८४०.५० मिटर उचाइ निर्धारण गरेको थियो । तर, त्यति बेला पुरानो प्रविधि प्रयोग भएको थियो । इतिहासकार बाबुराम आचार्यले संसारको अग्लो शिखरको नाम सगरमाथा राखेका हुन् ।
इस्ट इन्डिया कम्पनीका डाइरेक्टर जनरल इन्जिनियर जर्ज एभरेस्टले सन्
१९४९ देखि १९५२ सम्म लगाएर सगरमाथाको उचाइ मापन गरे । उनले सगरमाथाको उचाइ ८,८४० मिटर भएको तथ्य पेस गरे । उनै जर्ज एभरेस्टका नाममा विश्वभर सगरमाथाको नाम माउन्ट एभरेस्ट रहन गएको हो ।
सर्भे अफ इन्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । पीएल गुलाटीले करिब दुई वर्ष लगाएर गरेको उक्त मापनमा उचाइ ८,८४८ मिटर आयो । अहिलेसम्म त्यसलाई आधिकारिक मानिँदै आएको छ । यसलाई गुलाटी सर्भे पनि भनिन्छ ।
चीनले सन् १९७५ मा मापन गर्दा ८,८४८.१३ मिटर उचाइ आएको थियोे । चीनले ८,८४८ मिटरलाई मान्दै आयो ।इटालियनले सन १९९२ मा मापन गर्दा ८,८४८.६५ मिटर उचाइ कायम भएको थियो । इटालियनले दोस्रो सर्वोच्च शिखर केटूको मापन गरेको थियो ।
अमेरिकाले सन् २००० मा ८,८५० मिटर उचाइ रहेको उल्लेख गरेको थियो । चीनको नेसनल ब्युरो अफ सर्भेइङ एन्ड म्यापिङले सन् २००५ मा ८,८४४.४३ मिटर उचाइ मापन गरेको थियो । नापीका पूर्वउपमहानिर्देशक श्रेष्ठका अनुसार हिउँभित्र चट्टानसम्म नाप्यो, हिउँ र सतहको मोटाइलाई नापेको थिएन । हिउँ र सतहको मोटाइ जोड्न लगभग मिल्थ्यो, त्यसमा चीन पनि सहमत थियो ।
विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकीलगायत काठमाडौं वरिपरिका डाँडालाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाइ बढेको पाएको थियो ।
सर्भे अफ इन्डियाको २ सय ५० वर्षगाँठमा सर्भेयर जनरलले सन २०१७ मा सगरमाथाको उचाइ नाप्ने इच्छा जाहेर गरे । नेपालमा २०७२ मा आएको भूकम्पले सगरमाथाको उचाइमा असर परेको भन्दै सर्भे अफ इन्डियाले वर्षगाँठ घोषणासमेत ग¥यो । त्यति नै बेला नेपालले नाकाबन्दीको सास्ती खेप्नु परिरहेको थियो । भारतको घोषणापछि नेपालको आफैं मापन गर्न सक्ने भन्ने आत्मविश्वास छायो ।
यसै सन्दर्भमा भारतले यसको पछिल्लो उचाइ मापन गर्ने इच्छा व्यक्त ग¥यो । ‘हाम्रो सगरमाथाको उचाइ हामी आफै नाप्न सक्छौं’, विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठले भने, ‘फलस्वरूप सगरमाथाको उचाइ आफैंले मापन गर्दै छौं । आवश्यक परे सहयोग लिउँला भन्ने भयो भनेर हामी लाग्यांै ।’ उनले तत्कालीन महानिर्देशक गणेशप्रसाद भट्टको अगुवाइमा गृहकार्य सुरु भएको बताए ।
सरकारले सगरमाथाको उचाइ आफैं मापन गर्ने भनेर घोषणा ग¥यो । यसै सन्दर्भमा संसारभरका विभिन्न राष्ट्रका नाप नक्सासम्बन्धी वैज्ञानिकको अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरियो । कार्यशालामा विभागका पूर्वउपमहानिर्देशक निरज मानन्धर नेतृत्वको टोलीले तयार गरेको सगरमाथा ऊचाइ मापन विधि प्रस्तुत गरेको थियो । कार्यशालाको सुझावअनुसार सगरमाथाको उचाइ जीएनएसएस प्रविधिमा नाप्ने निर्णय भयो ।