बिचौलियामार्फत मल खरिद

बिचौलियामार्फत मल खरिद

झापा : नेपाली किसानले भारतबाट लुकिछिपी रासायनिक मल (युरिया) ल्याउने क्रम बढाउँदै गएको छ। धानमा हाल्ने युरिया मल उपलब्ध नहुँदा सीमावर्ती बजारबाट मल ल्याउन किसान बाध्य भएका हुन्।

साउन पहिलो हप्तादेखि नै युरिया मलको आवश्यकता थियो। मल नपाउँदा चर्को मूल्य तिरेर भारतीय बजारमा निर्भर हुन परेको किसानको गुनासो छ। सीमा क्षेत्रमा सुरक्षाकर्मी घटाएसँगै सुरक्षा व्यवस्था पनि खुकुलो छ। यही मौका छोपी कृषकले भारतीय बजारबाट मल ल्याउन बाध्य छन्।

कचनकवल गाउँपालिका वडा नम्बर ५ का कृषक पशुपति गणेशको ७ बिघा क्षेत्रफलमा लगाइएको धानमा हाल्न नपाउँदा पहेँलिन थालिसकेको थियो। तत्कालै सुरक्षा व्यवस्था अपनाएर ५ बोरा मल ल्याइ खेतीमा लगाएको उनले बताए। उनी भन्छन्, ‘पारीबाट आफन्तलाई बोर्डरसम्म ल्याइदिन भनेँ त्यसपछि यताबाट गएर ल्याएँ। लगानी डुब्ने डरमा कोरोनाको डर पनि हरायो।’

कचनकवलकै रितेश राजबंशीले पनि दुई बोरा युरिया मल भारतबाटै ल्याए। बिर्तामोड ८ का कृषक सिर्जना भण्डारी भने आफ्नो दुई बिघामा लगाएको धान खेतीमा मल हाल्न नपाउँदा लगानी खेर जाला भन्ने तनाबमा छन्।

शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का कृषक भाग्य बस्नेतले साउन अन्तिमसम्म मल हाली सक्नु पथ्र्यो। बस्नेतले भने, ‘सरकारले मल पठाउला र धानमा हालौँला भन्दै कुरियो अब उपाय भएन। भारतबाट बेच्न ल्याएकासँग किन्नुपर्ने अवस्था आयो।’

साइकल तथा मोटरसाइकलमा कुनै स्वास्थ्य सुरक्षा सतर्कताबिना मल ल्याउँदा कोरोना भित्रिने जोखिम बढेको छ। अहिलेको समयमा रासायनिक मल भारतबाट किसानले खरिद गरी ल्याउन सक्ने अवस्था छैन। विचौलियामार्फत सिमा क्षेत्रका बजारमा आइपुग्छ। त्यहीँबाट नेपाली किसानले मल खरिद गर्छन्। उनीहरुले साइकलमार्फत भित्री बाटो हुँदै नेपालका सीमावर्ती गाउँसम्मै पनि पुर्‍याउँछन्।

कृषक शमशेर राजबंशीले विचौलियामार्फत दोब्बर मूल्यमा युरिया किनेको बताए। मलको बोरा देखाउँदै उनले भने, ‘दुई हजारमा किनेँ। नेपालमै आइदिएको भए ८ सय ५० मा पाइने थियो।’

सरकारले सहज रासायनिक मल उपलब्ध नगराइदिएका कारण सास्ती भोग्नु परेको जिल्लाका कृषकको गुनासो छ। चर्को मूल्य भए पनि मलमा गुणस्तर देखिँदैन। तौलमा पनि ५० केजीको बोरामा ४५ केजी मात्र हुन्छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइराला भन्छन्, ‘कृषकका व्यावहारिक पाटो पनि हेर्नु पर्ने बाध्यता हो। सीमा क्षेत्रमा जान दिँदा कम्तीमा मास्क लगाएर र भिडमा नजान आग्रह गरेका छौँ।’

जिल्लाको साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री भण्डारमा पनि युरिया मल छैन। जेठदेखि नै युरिया मल अभाव छ। मल अभाव भएरै कृषकलाई दिन नसकिएको साल्ट ट्रेडिङ्गका स्टोर किपर माधव भट्टराईले बताए। उनले भने, ‘कहिले आउँछ भन्न सकिँदैन। कलकत्ताा बन्दरगाहबाट मालबाहक गाडी हिडेको सूचना पाएका छौँ।’

कृषकहरु जिल्ला प्रशासन, कृषि ज्ञान केन्द्र र जिल्ला प्रहरीमा मल उपलब्ध गराइदिन अनुरोध गर्दै पुग्ने गरेका छन्। जिल्ला मलखाद आपूर्ति तथा व्यवस्थापन समितिको पहलमा ४ हजार मेट्रिकटन मल उपलब्ध गराउने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी उदरबहादुर राना मगरले बताए। अहिले जिल्लामा ४२ सय मेट्रिकटन युरिया मल आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.