निजी शिक्षालयको नियति

निजी शिक्षालयको नियति

नेपालमा शिक्षाको राणा कालदेखि गणतन्त्रसम्म आइपुग्दा पनि निश्चित दिशानिर्देश हुन सकेको छैन। शिक्षा ऐन २०२८ लाई पटकपटक संशोधन गर्दै गणतन्त्र नेपालको संविधान २०७२ सम्म आइपुग्दा शिक्षा क्षेत्रले विभिन्न आरोह अवरोह पार गरिसकेको छ।वर्षौंदेखि चल्दै आइरहेको वादविवाद, तर्क, वितर्क, कुतर्क र रस्साकस्सीका बाबजुद २०७२ को संविधानले निजी शिक्षालाई शिक्षाको अभिन्न अङ्गको रुपमा स्थापित गरेको छ। यस यथार्थलाई ठुलै तह र तप्काका मानिसहरुले बुझ्न सकेका छैनन् वा बुझ्न खोजिरहेका छैनन्। यसका पछाडि अन्य थुप्रै कारण भए तापनि नेपालको संविधान २०७२ को धारा ३१ (२) अनुसार ‘माध्यमिक तहसम्मको शिक्षा  निशुल्क’सम्बन्धि बुझाइ नै मुख्य कारण हो। 

समाजवादको मान्यताअनुरूप शिक्षा सर्वसुलभ हुनुपर्छ। यसकै आधारमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क गरिएको हो। तर, निःशुल्क वा सशुल्क उपलब्ध हुने वस्तु, सेवा वा सुविधा इत्यादि आफूले चाहेअनुरुपको गुणस्तरीय भए नभएको, आफूलाई उपयुक्त हुने नहुने र सुविधा लिने वा नलिने सम्बन्धी निर्णय गर्न व्यक्ति स्वतन्त्र हुने कुरा मौलिक हकको रूपमा संविधानले १७, १२ (च) मा सुनिश्चित गरेको छ। निःशुल्क शिक्षाः कि सशुल्कै भए पनि गुणस्तरीय शिक्षा बीचको द्वन्दले समग्र शिक्षा क्षेत्र प्रभावित भइरहेको परिवेशमा सरोकारवालाको नैतिकता र नियतिले झन् समस्याग्रस्त बनाएको छ। 

संविधानअनुरुप सरकारको नीति हुनुपर्दछ।  सरकार सञ्चालन गर्ने अभिभारा पाएकाले गर्ने कार्य उच्चभन्दा पनि स्वच्छ हुनुपर्दछ। सरकार जनताको सेवक हो। सेवा सम्पादन गर्नु मुख्य कर्म हो भन्ने कुराको हेक्का स्वच्छ नैतिकता भएका व्यक्तिलाई हुन्छ भन्ने विश्वास गर्न सकिन्छ तर प्रदूषित नैतिकता भएका व्यक्तिको बहुमत जहिले पनि सरकारमा रहँदै आएको छ। यी तप्काका मानिसले अन्यलाई पनि आफ्नो अधीनमा राख्दै छन्। यिनीहरूको भनाइ र गराइमा ठूलो अन्तर हुन्छ। यिनीहरुको कुरा जहिले पनि सन्तोषजनक हुन्छ तर काम निरर्थक हुन्छ। यिनीहरूको बुझाइमा सरकार जनताको सेवक होइन शासक हो। शासन गर्ने कार्यमा ठूलै आयआर्जनको उद्देश्यका साथ लागिरहन्छन्। नीतिनियम निहित आफ्नो उद्देश्य प्राप्त गर्नका लागि आफ्नो अनुकूल बनाइरहन्छ।

शिक्षा क्षेत्र व्यस्त र अस्थिर हुनु नियति भइसकेको छ। कम काम तथा गलत काम गर्नेबिचको प्रतिस्पर्धा चुलिएको छ। स्वच्छ नैतिकता भएका उर्जाशील जनशक्तिको सीप, ज्ञान र अनुभवको मूल्याङ्कन तथा शक्ति खेर गइरहेको छ। शिक्षामा भएको लगानी अहिलेको अवस्थामा ‘बालुवामा पानी’ होइन ‘पानी बालुवा’ भएको छ अर्थात् लगानीको आधारमा उपलब्धि अति न्यून छ। 

शैक्षिक उन्नयनमा स्वतन्त्र शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ। ऋषिमुनि, धर्मगुरु, शिक्षाविद् शैक्षिक अभियन्ता, शिक्षाप्रेमी, शैक्षिक स्वयंसेवकहरुलाई स्वतन्त्र शिक्षाकर्मीको रुपमा मान्न सकिन्छ। शिक्षाको विकासमा यिनीहरूको भूमिका अग्रणी मानिन्छ। यिनीहरूको स्वतन्त्र सोच र शैक्षिक नैतिकताले शिक्षाक्षेत्रलाई गतिशील बनाइ राख्न उर्जा प्राप्त भइरहेको हुन्छ। सरकारको शिक्षा अवरोधी नीति नियमले यिनीहरुको अभियानलाई अवरोध गर्न सक्दैन। बरु सरकारलाई सच्चिनका लागि मार्गनिर्देशन गर्छ। 
 
निजी शिक्षाको विकास स्वतन्त्र शिक्षाकर्मी तथा शिक्षाप्रेमीहरुबाट नै भएको हो। यसले देशमा स्वरोजगारका लागि मध्यमवर्गीय युवायुवतीहरुलाई सहज अवसर प्रदान गरेको छ। ‘आफ्नो पढाइ, आफ्नै कमाइ’ भन्ने अवधारणालाई व्यापक बनाएको छ। यसबाट लाभान्वित भइ उच्च शिक्षा आर्जन गरेका, एकताका निजी विद्यालयमा कार्यरत रहेका शिक्षक कर्मचारीहरु विभिन्न क्षेत्रमा, विभिन्न ओहोदामा कार्यरत छन्। यही उद्देश्यका साथ लाखौं विद्यार्थीहरु शिक्षक कर्मचारीको रुपमा अझै कार्यरत छन्। यो सुविधा सरकारले उपलब्ध गराउन सकेको छैन र सोचेको पनि छैन। 

आज स्वतन्त्र शिक्षाकर्मी तथा शिक्षाप्रेमीहरु विभिन्न कित्तामा विभाजन भएका छन्। एकाअर्कामाथि फोहोर फाल्ने काम गरिरहेका छन् । राजनैतिक, सांस्कृतिक र नैतिक प्रदूषणबाट प्रदूषित हुँदै गएका छन्। आफ्नो गरिमालाई आफैँ अवमूल्यन गरिरहेका छन्। मानसिक दरिद्रतातिर उन्मुख छन्। सामूहिक उद्देश्यको माध्यमबाट व्यक्तिगत उद्देश्य प्राप्त गर्न छाडेर एक्लाएक्लै चोरबाटो लाग्ने बढ्दै गएका छन्। सहज समाधानका लागि सहमतिको संस्कारलाई बिर्सेर विरोधको स्वादमा पल्किनेहरु धेरै छन्। 

निजी शिक्षाको बारेमा विभिन्न क्षेत्रबाट नकारात्मक टीकाटिप्पणी हुनु र योगदानलाई यथार्थ रूपमा कदर गर्न नसक्नु हो। संस्थापक र विद्यालयमा विविधता छ। सोहीअनुसारका समस्याहरु छन्। सोच र उद्देश्य फरक छन्। वैचारिकभन्दा पदीय बेमेलले गर्दा संस्थापकहरु विभिन्न पेशागत सङ्गठनमा विभक्त छन्। हिसान, प्याब्सन,  एन् प्याब्सन, इसान आदि। राजनैतिक प्रभावमा परेर समस्या बल्झाउने कार्य पनि गर्ने गरेको पाइन्छ। केही व्यक्तिको गलत गतिविधिले सबैको सामाजिक प्रतिष्ठामासमेत नकारात्मक प्रभाव पर्ने गरेको छ। 

बालकका लागि शिक्षाको मुख्य खम्बा अभिभावक हुन्। उनीहरु प्रारम्भिक शिक्षक हुन्। बालबालिकालाई घरपरिवारमा जीवन उपायोगी सीपयुक्त प्रारम्भिक शिक्षा, प्रयोगात्मक र व्यावहारिक रुपमा दिन्छन् र अग्र शिक्षाका लागि तयार गर्छन्। अभिभावक विविधतायुक्त छन्। उच्च स्तरको धूर्तदेखि निमुखासम्मका मानिसको यो विराट समूह सन्ततिको शिक्षाका लागि क्रियाशील हुन्छन्। विभिन्न समूहका अभिभावकको शैक्षिक आवश्यकता परिपूर्तिका लागि निजी शिक्षालय देशभरि सञ्चालनमा छन्। अभिभावकलाई अप्रत्यक्ष रुपमा निजी शिक्षालयको वास्तविक संस्थापक मान्न सकिन्छ। अभिभावकको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता बिना निजी शिक्षालय सञ्चालन हुन सक्दैन। देशको अमर्यादित आर्थिक क्रियाकलापले व्यक्तिको नैतिक धरातललाई नराम्रोसँग हल्लाइदिएको छ। फलतः विकृत नैतिकताको कुप्रभाव सामाजिक जीवनको विभिन्न पक्षमा पर्न गइ अनपेक्षित परिणाम देखा पर्न थालेका छन्। शिक्षा क्षेत्र त झन यसबाट प्रताडित हुने नै भए। यस क्षेत्रमा सिर्जित समस्या बुँदागत रुपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ : 
 

  • शिक्षा ज्ञान, सीप र सुसंस्कृत व्यवहारका लागि अपरिहार्य हुने सत्यलाई नजर अन्दाज गरी आर्थिक उद्देश्यसँग मात्र सीमित गरिंदिदा यो क्षेत्र विकृति हुँदै गएको छ। 
  • व्याप्त अनैतिक आर्थिक प्रतिस्पर्धाबाट प्रेरित अभिभावकको जत्थाले निजी शिक्षाको स्वाभाविक विकासक्रमलाई प्रभावित गरेका छन्। हैसियतभन्दा महंगो शुल्क लिनसमेत उत्साहित हुन्छन्। 
  • विभिन्न क्षेत्रमा असफल भएकाको जमातले यस क्षेत्रलाई पनि बदनाम र असफल बनाउन तल्लीन छन्। यी मानिस शुल्क तिर्न नचाहने, मोलमोलाइ गर्ने, किचकिच गर्ने, अनुचित धाकधम्की देखाउने, अनर्गल प्रचार गर्ने, झैझगडा गर्ने, सकेजति सबै गलत कर्म गरी निजी शिक्षालयलाई धराशायी बनाउन लागिपरेका देखिन्छन्।  
  • एक वर्गका अभिभावकहरु मिहिनेत तथा  मजदुरी गर्छन्। दूरदराजका हुन्छन्। आफ्ना सन्तानको भविष्यका लागि व्यक्तिगत सुखसुविधालाई महत्व नदिइकन हरसम्भव प्रयास गर्छन्। कोही विदेसिएका छन्। कोही अन्नअनाज बेचबिखन गरी शिक्षाका लागि लगानी गर्छन्। दैनिक ज्यालादारी गरी सन्तानको शिक्षाका लागि खर्चको जोहो गर्छन् । यस समूहका अभिभावक शिक्षालयको समर्थन वा विरोधमा आफ्नो मौलिक विचार वा अवधारणा व्यक्त गर्दैनन्। मिडिया बजारको अनुरुप प्रस्तुत हुन्छन्।

निष्कर्षमा अभिभावकहरु जुन क्षेत्र र तप्काका भए पनि निजी शिक्षालय उनीहरुको पहिलो रोजाइ हो। सरकारी शिक्षालय बाध्यात्मक रोजाइ हो भन्ने यथार्थ स्वीकार्नै पर्छ । तर निजी शिक्षालयले आजसम्म किन यस्तो दयनीय नियति भोग्नुपरेको छ ? उत्तर हो विकृत नैतिकता। विकृत नैतिकताले नेपाली जनजीवनलाई घातक भाइरसको रुपमा नराम्रोसँग सङ्क्रमित गरिरहेको छ। संयोगवश अधिकांश युवा पिढी यसबाट अहिले पनि सुरक्षित छन्। निजी विद्यालयप्रति स्वच्छ मानसिकताको विकास गरौं। आफ्नो अधिकारको र कर्तव्यको पालना गरौं। नैतिकताकै आधारमा शिक्षालाई विकृतिमुक्त बनाऔं।  नेपाली सन्ततिलाई व्यवहारिक रुपमै नैतिकवान् बनाऔं। शिक्षाबिना दिगो सामाजिक विकास असम्भव छ चाहे शिक्षा सरकारी होस् वा निजी।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.