स्वाब दिएकाहरू जथाभावी हिंड्दा समुदायमा कोरोना फैलियो

स्वाब दिएकाहरू जथाभावी हिंड्दा समुदायमा कोरोना फैलियो

परासी : स्वाब संकलन गरिएका व्यक्तिहरु जथाभावी हिंडडुल गर्दा पश्चिम नवलपरासीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलँदै गएको छ। स्वास्थ्य कार्यालयले स्वाब संकलनका क्रममा रिपोर्ट नआउँदासम्म घरमै बस्नु पर्ने बताएको थियो। तर अटेरी गरेर हिंडडुल गर्दा समुदायमा कोरोना संक्रमण बढेको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए। 

पछिल्लो पटक आइतबार मात्र २९ जनामा कोरोना संक्रमण देखिएको ढकालले बताए। जिल्लामा हालसम्म ५ सय १६ जनाको समुदाय स्तरमा कोरोना परीक्षण गरिएको छ। जसमा ४८ जनामा पोजिटिभ देखिएको छ। करिब ३ सय जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख ढकालले जानकारी दिए। पोजिटिभ देखिएपछि अहिले कन्ट्रयाक ट्रेसिङ भइरहेको उनको भनाइ छ। 

समुदाय स्तरमा गरिएको स्वाब परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएकाहरु जथाभावी हिंडेकाले स्थिति भयावह बन्न थालेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। अब स्वाब दिएकाहरु रिपोर्ट नआएसम्म बाहिर हिंडडुल गरे कारबाही हुने गरी सूचना निकालेर निगरानी बढाउन थालिएको प्रजिअ पाठकले बताए। यसैबीच समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ। सबै स्थानीय तहले पनि सेवा बन्द गरेका छन्।

रिपोर्ट ढिलो आउँदा समस्या

स्वाब संकलन गरेर पठाइएको रिपोर्ट हप्ता दिनसम्म नआउनु पनि समुदाय स्तरमा संक्रमण फैलिनु अर्को कारण रहेको देखिएको छ। भैरहवा प्रयोगशालामा गत आइतबार पठाएको स्वाबको रिपोर्ट एक हप्तापछि आएको छ। चिकित्सकको रिपोर्टसमेत हप्ता दिनपछि आएको हो। 

स्वास्थ्य सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको रिपोर्ट छिटो पठाउन सके सेवा प्रदान सहज हुने भए पनि उनीहरुकै ढिलो आउँदा समस्या भएको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए। अस्पतालका ३ डाक्टर र एक नर्सको हप्ता दिनअघि स्वाब संकलन गरेर पठाइएको थियो। ‘हप्ता दिनपछि आएको उनीहरुको रिपोर्ट पोजिटिभ आएको छ। कमसेकम छिटो आएको भए अन्य बिरामीलाई हेर्न वैकल्पिक व्यवस्था गर्न सकिन्थ्यो ’, डा. होदाले भने। पोजिटिभ आएका सबै स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ। अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

३ वर्षीय बालकसहित एउटै वडामा २० संक्रमित 

पश्चिम नवलपराको पाल्हीनन्दन गाउँपालिकाको एक वडामा ३ वर्षीय बालकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु सबै वडा नं. ३ का हुन्। सो गाउँपालिकामा अध्यक्ष दीपक गुप्तासहित २५ जना संक्रमित छन्। 

संक्रमित हुनेमा पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रकी १ जना नर्ससमेत छन्। वडा नं. ४ मा ३ र वडा नं. ५ र ६ का १-१ जना संक्रमित भएका छन्। जिल्लामा एकै दिन देखिएका २९ जनामध्ये बाँकी पृथ्वीचन्द्र जिल्ला अस्पतालका ३ जना डाक्टर, १ जना नर्स हुन्। संक्रमितहरुलाई जिल्लाका आइसोलेसनमा राखिने छ। सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ७ स्थानीय तह रहेको जिल्लामा हालसम्म १ सय ७३ जना संक्रमित छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.